राष्ट्रपति भण्डारी बेइजिङमा : बीआरआई सम्मेलन सुरु

राष्ट्रपति भण्डारी बेइजिङमा : बीआरआई सम्मेलन सुरु

बेइजिङ : मुलुकमा गणतन्त्र स्थापनाको एक दशकपछि उत्तरी छिमेकी चीनले राष्ट्रपतिलाई पहिलोपटक बेइजिङमा स्वागत गरेको छ। गणतन्त्रलाई पहिल्यै स्वीकारे पनि बेइजिङमा राष्ट्रप्रमुखलाई स्वागत गरेर नेपालको राजनीतिक परिवर्तनप्रति चीनले बलियो सन्देश दिएको हो।

चीनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई लोकतन्त्र दिवसकै अवसर पारेर बुधबार चीनको पुरानो राजधानी सियानमा स्वागत गरेको थियो। बिहीबार साँझ बेइजिङमा राष्ट्रपति भण्डारीलाई उपविदेशमन्त्री कोङ सुयनयुले स्वागत गरे। राष्ट्रपति भण्डारीको भ्रमण चिनियाँ समकक्षी सी चिनफिङको निमन्त्रणामा भएको हो।

यसअघिका राष्ट्रपति डा. रामवरण यादवलाई दुईपटक चीनमा स्वागत गरे पनि बेइजिङले रेड कार्पेट ओछ्याएको थिएन। राजकीय भ्रमणको सम्मानसहित भण्डारीलाई बेइजिङमा स्वागत गर्दा चिनियाँ निकै उत्साहित थिए। नेपाल बीआरआईको एक बलियो साझेदार रहेको भन्दै चिनियाँ अधिकारीले खुसी व्यक्त गरेको भ्रमणमा सहभागी नेपाली अधिकारीले बताएका छन्। सम्मेलनको नारा ‘बेल्ट एन्ड रोड सहकार्य : एक उज्ज्वल साझा भविष्य’ भन्ने छ।

शिखर सम्मेलन बिहीबार आरम्भ भए पनि चिनियाँ राष्ट्रपति सीले शुक्रबार विशेष सम्बोधन गरेपछि औपचारिकता अघि बढ्नेछ। शिखर सम्मेलनमा राष्ट्रपति भण्डारीले सम्बोधन गर्ने कार्यक्रम छ। सम्मेलनमा सहभागी हुन ३७ मुलुकमा राष्ट्र र सरकार प्रमुख बेइजिङ आएका छन्। सम्मेलनमा एक सयभन्दा बढी मुलुक र ९० संघसंस्थाका हजारभन्दा बढी प्रतिनिधि सहभागी हुनेछन्।

सान्सीका गभर्नरलगायत उच्च अधिकारीसँग छलफलपछि टेराकोटा वारियर्स स्थल भ्रमण सकाएर चिनियाँ अधिकारीले राष्ट्रपति भण्डारीलाई बेइजिङ ओरालेको हो। भण्डारीको यसअघिको चीन भ्रमण रक्षामन्त्री रहँदा भएको थियो।

राष्ट्रपति भण्डारी चिनियाँ समकक्षी सीसँगको दुईपक्षीय भेट र राउन्ड टेबलमा सहभागी हुने कार्यक्रम छ। यसले भ्रमणको महŒव बढेको अधिकारीहरूले बताए। दुई देशका राष्ट्रप्रमुखबीच नेपाल–चीन सम्बन्ध र द्विपक्षीय सहकार्यमा छलफल हुनेछ। राष्ट्रपतिद्वयको उपस्थितिमा यातायात तथा पारवहनसम्बन्धी प्रोटोकल र अन्य समझदारी हुनेछ।

नेपालले रेलमार्गमा जोड्न र नाका सुधारमा चीनको साथ खोजेको छ। चीनमा अध्ययनरत विद्यार्थीले राष्ट्रपति भण्डारीलाई सियानमा भेटेर बीआरआईबाट नेपालले अधिकतम फाइदा लिनुपर्ने सुझाव दिएका छन्। राष्ट्रपति भण्डारीको भ्रमण टोलीमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल, संघीय संसद्का सदस्य, नेपाल सरकारका उच्च अधिकारी, चीनका लागि नेपाली राजदूत लीलामणि पौडेल तथा निजी क्षेत्रका प्रतिनिधि, सञ्चारकर्मी गरी ४० भन्दा बढी छन्।

सम्मेलनको पहिलो दिन विभिन्न विषयमा फोरम सञ्चालन भएका छन्। चीनका अर्थमन्त्री लिउ खुनले चीनले बीआरआईले खुलापनको पालना गर्ने, बहुच्यानलमार्फत पुँजी र आधारभूत प्रबन्ध निर्माण गर्दै अघि बढ्ने बताए। उनको भनाइप्रति सबै सहभागीले समर्थन जनाएका थिए। चीनको साथ लिएर कसरी अधिकतम लगानी भिœयाउने विषयमा सबै मुलुकका सहभागी उत्साहित देखिन्थे।

फाइदा लिन ढिला नगरौं : पूर्वप्रधानमन्त्री नेपाल

बीआरआई फोरममध्ये जनजनबीच सम्पर्क विषयगत छलफलमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल सहभागी भएका छन्। नेपालले बीआरआई फोरमको महŒव विश्वभर बढ्दै गएकाले नेपालले यसबाट फाइदा लिनुपर्ने बताए। उनले बेइजिङमा अन्नपूर्णसँग संक्षिप्त प्रतिक्रिया दिँदै भने, ‘छिमेकी मुलुकको यस्तो ठूलो अभियानबाट नेपालले जतिसक्दो फाइदा लिनुपर्छ।’ सहकार्यबारे दुई सरकारबीच छलफल भइरहे पनि फाइदा लिन ढिलाइ भएको उनको भनाइ थियो।

‘एसियाको युग आएको छ। अब सबैले सहकार्य गरेर अघि बढ्न आवश्यक छ,’ उनले भने, ‘हामी एसियाली आआफ्नो मुलुकको विकासमा लाग्नुपर्छ। त्यसका लागि सहकार्य आवश्यक छ।’ पूर्वप्रधानमन्त्री नेपाल चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा बेइजिङ आएका हुन्। उनले राष्ट्रपति भण्डारी र आफ्नो भ्रमण फरक रहेको स्पष्ट पारे। पूर्वप्रधानमन्त्री नेपालले राष्ट्रपति सी र अन्य वरिष्ठ अधिकारीसँग छलफल हुने बताए। बीआरआईबाट शक्ति मुलुक तर्सिएको भन्ने जिज्ञासामा उनले त्यसरी कोही पनि तर्सन नहुने बताए।


तीन मन्त्री सहभागीबीआरआईभित्रको भौतिक संरचना विषयगत छलफलमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ र व्यापार सम्पर्कका विषयमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव सहभागी भए। त्यसैगरी थिंक ट्यांक फोरममा नेपालका तर्फबाट सांसद र बुद्धिजीवी सहभागी भए। फोरममा पूर्वविद्यार्थी नेता चाउएनलाई श्रेष्ठ सहभागी थिए। थिंक ट्यांक फोरममा बेल्ट एन्ड रोडको अवधारणा अगाडि बढाउने सम्बन्धमा बुद्धिजीवीबीच बहस चलिरहेको छ। बीआरआईअन्तर्गत आएका मुलुकका परराष्ट्र मन्त्रालयमा बीआरआई हेर्ने छुट्टै डेक्स राख्नुपर्ने सुझाव आएको छ। नेपालमा पनि यस्तो डेक्स आवश्यक रहेको धारणा नेपाली विज्ञहरूले राखेका थिए। नेपाललाई चीनले सार्क क्षेत्रको प्रवेशद्वार बनाएकाले पनि त्यसमा सहकार्य गर्न आवश्यक रहेको बताए। मन्त्री थममाया थापा शुक्रबारको कार्यक्रममा सहभागी हुनेछिन्।  


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.