प्रदेश-१ को नाम र राजधानी सात दिनमा टुंगो लाग्छ : सभामुख
धरान : प्रदेश-१का सभामुख प्रदिपकुमार भण्डारीले प्रदेश नम्बर-१ को नाम र राजधानी हप्ता दिनभित्र घोषणा गर्ने बताएका छन्।सुनसरीको धरान उपमहानगरपालिका-१९ नम्बर वडालाई बालमैत्री वडा घोषणा कार्यक्रममा बोल्दै उनले उक्त कुरा बताएका हुन्।
उनले प्रदेश राजधानीको नाम राजधानी घोषणा गर्नका लागि आइतबार संसद बैठकमा प्रस्तावको मिति तोक्ने जानकारी दिएका छन्। प्रदेश नम्बर १ को नाम र स्थायी राजधानी तोक्ने विषयमा ढिलाइ भइरहेको प्रसंग कोट्याउँदै उनले हप्तादिन भित्रमा नामांकरण र स्थायी राजधानी तोक्ने जानकारी दिए।
उनले प्रदेश नम्बर १ को नाम र राजधानी सहमतिमा टुङग्याउने र सहमति गर्न नसकिए हप्ता दिनभित्रै मतदान गरी बहुमतका आधारमा भएपनि नाम र राजधानीको विषयमा टुंगो लगाइने स्पष्ट पारेका छन्।
बालमैत्री वडाको घोषणा गर्दै सभामुख भण्डारीले धरान उपमहानगरपालिकालाई बालमैत्री नगर घोषणा मात्र नभएर कार्यान्वयन गर्न आग्रह गरेका छन्।उनले बालमैत्री वडा र नगर घोषणा भएपछि बालबालिका सडकमा देखिनु नहुने भोको पेट र नांगो शरीरमा कसैले देख्नु नपरोस् भन्दै उपमहानगर नेतृत्वलाई सुझाव दिएका छन्।उनले बालबालिकाको शिक्षा दीक्षाका लागि अभिभावकले राम्रो वातावरण सिर्जना गरे मात्र बालबालिकाको अधिकार सुनिश्चित हुने बताए।