मनमोहनभित्र १३ करोड बराबरको निःशुल्क उपचार
काठमाडौं : मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले यस वर्ष मुटु, फोक्सो र रक्तनलीको समस्या भएका गरिब बिरामीका लागि १३ करोड रुपैयाँ बराबरको निःशुल्क उपचार गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय,दातृ संस्था र अस्पतालको स्वआर्जनमा १३ करोड रुपैयाँ बराबरको निःशुल्क सेवा दिइएको सेन्टरले जनाएको छ।सेन्टरका कार्यकारी निर्देशक प्रा.डा. उत्तमकृष्ण श्रेष्ठकाअनुसार फार्मेसीबाट यस वर्ष ७ करोड रुपैयाँ मुनाफा भएको छ।
यो वर्ष सेन्टरले बहिरंग विभागबाट ६६ हजार बिरामीलाई सेवा दिएको छ। त्यस्तै, मुटु, फोक्सो र रक्तनलीको शल्यक्रिया भने २ हजार ४ सय ३९ जनाको गरिएको छ।१६ सय जना बिरामीलाई क्याथप्रोसिड्युअरको सेवा उपलब्ध गराइएको कार्यकारी निर्देशक डा.श्रेष्ठले जानकारी दिए।
सेन्टरमा वरिष्ठ मुटु शल्यचिकित्सक प्राडा भगवान कोइरालालगायतका वरिष्ठ मुटुरोग विशेषज्ञ कार्यरत छन्। ०६६ सालमा मनमोहन सेन्टरको स्थापना भएको थियो।