९ लाख नेपाली बेरोजगार
काठमाडौं : ९ लाख ८ हजार नेपाली बेरोजगार छन्। तीमध्ये पाँच लाख ११ हजार पुरुष र तीन लाख ९७ हजार महिला छन्। श्रम बजारमा हाल ८० लाख नेपाली उपलब्ध छन्। केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको श्रमशक्ति सर्वेक्षण, २०१९ अनुसार बेरोजगारी दर ११.४ प्रतिशत छ। यसअघि सन् २००८ मा बेरोजगारी दर २.८ प्रतिशत र सन् १९९८ मा १.९ प्रतिशत थियो। अघिल्ला सर्वेक्षणमा स्वयंसेवकका रूपमा काम गर्नेलाई पनि रोजगार मानिएकाले बेरोजगारी दर कम रहेको केन्द्रीय तथ्यांक विभागका उपमहानिर्देशक नेबिललाल श्रेष्ठले बताए।
पछिल्लो सर्वेक्षणअनुसार ७० लाख ८६ हजार जनसंख्यामा रोजगारीको पहुँच पुगेको छ। यसपटक विभागले वस्तु तथा सेवा उत्पादन र त्यसको उपभोग तथा नाफा आर्जन गर्ने क्रियाकलापलाई मात्र रोजगार मानेको छ।
मुलुकमा १५ वर्षभन्दा बढी उमेरका दुई करोड सात लाख ४४ हजार जनसंख्या छ। त्यसमध्ये ७९ लाख ९४ हजारको संख्यामा श्रमशक्ति बजारमा उपलब्ध छ। यीमध्ये झन्डै ४३ लाख वैदेशिक रोजगारीमा रहेको तथ्यांक छ। बाँकी श्रमशक्तिबाट मुलुकमा रोजगारी पाएका ६२.२ प्रतिशत अनौपचारिक क्षेत्रमा काम गर्छन्।
विभागका तथ्यांक अधिकृत पृथ्वीविजयराज सिजापतिले अघिल्लो सर्वेक्षणभन्दा यसपटकको सर्वेक्षणमा बेरोजगार दर बढेको बताए। यसपालिको सर्वेक्षणले निर्वाह कृषिलाई रोजगार मानेको छैन। अघिल्लो सर्वेक्षणमा आफ्नै उपभोगका लागि खेतीपाती, पशुपालन तथा पारिवारिक उपयोगका लागि वस्तु उत्पादन कार्यमा संलग्न व्यक्तिलाई रोजगारमा गणना गरिएको थियो।
श्रमशक्तिभन्दा बाहिरको संख्या एक करोड २७ लाख ५० हजार छ। त्यसमध्ये ८५ लाख महिला र ४२ लाख ५० हजार पुरुष छन्। ७० लाख ८६ हजार रोजगारीमध्ये २५ लाख ४० हजार महिला र ४४ लाख ४६ हजार पुरुष छन्।
मासिक तलब १७,८००
रोजगारी गर्नेले मासिक औसत १७ हजार आठ सय नौ रुपैयाँ आम्दानी गर्छन्। समान काम गर्ने महिला र पुरुषको पारि श्रमिकमा विभेद छ। पुरुषभन्दा महिलाले पाँच हजार आठ सय ३४ रुपैयाँ कम पारि श्रमिक पाउँछन्। यो पुरुषको तुलनामा ३० प्रतिशत कम हो। पुरुषले मासिक १९ हजार चार सय ६४ रुपैयाँ पाउँदा महिलाले १३ हजार ६ सय ३० रुपैयाँ पाउँछन्।
सर्वेक्षणअनुसार औपचारिक क्षेत्रमा काम गर्ने ३७.८ प्रतिशत मात्रै छ। यसले अधिकांश श्रमिकको अवस्था नाजुक रहेको देखाउँछ।ग्रामीण क्षेत्रमा रोजगारी सिर्जना कम छ। रोजगारमध्ये सहरी क्षेत्रका ४९ लाख रोजगारीमा छन् भने ग्रामीण क्षेत्रका २१ लाख ८५ हजार रोजगारीमा छन्।
कृषि, वन र माछापालन, थोक तथा खुद्रा, मोटरगाडी तथा मोटरसाइकल, उद्योग, निर्माण क्षेत्रमा बढी कामदार छन्। कृषि, वन र माछापालनमा २१.५ प्रतिशतले काम गर्छन्। त्यस्तै थोक तथा खुद्रा बिक्रीमा १७.५ प्रतिशत र मोटरगाडी तथा मोटरसाइकल मर्मतसम्भारमा १५.१ प्रतिशतले काम गर्छन्। उद्योगमा १३.८ र निर्माण क्षेत्रमा ७.९ प्रतिशतले काम गर्ने गरेको सर्वेक्षणले देखाएको छ।
विभागले अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को सहयोगमा सन् २०१७ जुलाईदेखि २०१८ जुलाईसम्म १८ हजार घरपरिवारमा अध्ययन गरेको थियो। रोजगारीमा रहेको जनसंख्या, बेरोजगारी जनसंख्या र श्रमशक्तिभन्दा बाहिर रहेको जनसंख्याका आधारमा अध्ययन गरी विश्लेषण गरिएको थियो।
अर्थशास्त्री गोविन्द थापाले श्रमबजारमा वास्तविक अध्ययन हुन नसकेको दाबी गरे। ‘बेरोजगार दर कम देखाउने हिसाबले अध्ययन भएको देखिन्छ’, उनले भने, ‘सरकारले वास्तविक तथ्यांक लिन सकेको छैन।’