‘हिमालय वारपार रेलमार्गले कायापलट’

‘हिमालय वारपार रेलमार्गले कायापलट’

बेइजिङ : सीमापार रेलमार्गले हिमालय वारपार बहुआयामिक ‘कनेक्टिभिटी’ को विकास हुनेमा नेपालले जोड दिएको छ। रेलमार्गले नेपाल र चीनबीच मात्र नभई अन्य मुलुकसँग सम्पर्क सञ्जाल प्रवद्र्धन गर्न सहयोग पुग्ने धारणा राष्ट्रपति विद्यादेवी भण्डारीबाट व्यक्त भएको हो। यसमा चिनियाँ सहयोग अपरिहार्य रहेको राष्ट्रपति भण्डारीको भनाइ छ।

अन्तर्राष्ट्रिय सहयोगका लागि दोस्रो बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) मञ्चको बेइजिङमा शुक्रबार आयोजित उच्चस्तरीय बैठकमा राष्ट्रपति भण्डारीबाट यस्तो धारणा व्यक्त भएको हो। सन् २०३० अघि नै दिगो विकासका लक्ष्य हासिल गर्दै मध्यम आय भएको राष्ट्र बन्न नेपाल दृढ रहेकाले यस्तो सञ्जाल थप महत्त्वपूर्ण रहने राष्ट्रपतिको भनाइ छ।

राष्ट्रपति भण्डारीका अनुसार अतिकम विकसित राष्ट्रबाट स्तरोन्नति गर्न नेपाललाई तत्काल छिमेकीको साथ चाहिएको छ। बैठकमा सम्बोधनका क्रममा राष्ट्रपतिबाट चीनको अग्रसरताका लागि समकक्षी सी चिनफिङप्रति धन्यवाद व्यक्त भएको छ। ‘विश्व आज गम्भीर परिवर्तनको मोडमा छ। संसारका धेरैजसो भागमा गरिबी घटेको छ। स्वास्थ्य तथा शिक्षामा पहुँच सहज बनेको छ र धेरै अर्थतन्त्र समृद्ध बन्दै गइरहेका छन्। प्राविधिक क्रान्तिले सम्भावनाको ढोका खोलिदिएको छ। आपसी सहयोग नभएको भए ती उपलब्धि सम्भव हुने थिएनन्,’ राष्ट्रपतिद्वारा नेपालीमा प्रस्तुत भाषणमा उल्लेख छ। नेपालले विकासका चुनौती सामना गर्न छिमेकीलगायत अन्य मित्रराष्ट्र तथा विकास साझेदारसँग द्विपक्षीय तथा बहुपक्षीय सहकार्य र सहयोग बढाउन चाहेको स्पष्टोक्ति राष्ट्रपति भण्डारीको छ।

‘बीआरआई सहकार्य, सहयोग र सम्पर्कका लागि एक महत्त्वपूर्ण फ्रेमवर्क हो।’

दिगो विश्व शान्ति र समृद्धि हासिल गर्न न्यायपूर्ण, निष्पक्ष, समतामूलक, समावेशी र नियममा आधारित विश्व व्यवस्था निर्माणमा सामूहिक प्रयास अघि बढाउन अन्तर्राष्ट्रिय सहयोगका लागि बीआरआई फोरम अघि बढ्ने विश्वास राष्ट्रपतिको छ।

आपसी सहकार्यबिना सफलता सोच्न नसक्ने भन्दै राष्ट्रपतिबाट बीआरआईमार्फत मानव जातिको साझा भविष्य निर्माण गर्ने राष्ट्रपति सीको लक्ष्य सफल पार्नुपर्ने धारणा भनाइ छ। राष्ट्रपतिका अनुसार बीआरआई सहकार्य, सहयोग र सम्पर्कका लागि एक महत्त्वपूर्ण फ्रेमवर्क हो।

राष्ट्रपतिबाट विश्वमा कुनै एक कुनामा व्याप्त गरिबी पूरै विश्वका लागि खतरा बन्न सक्ने धारणा व्यक्त भएको छ। ‘उज्ज्वल र अझ राम्रो भविष्यको खोजले कम होइन अझ बढी कनेक्टिभिटीको माग गर्दछ’, राष्ट्रपतिको भाषणमा उल्लेख छ।

समृद्ध सभ्यता भएकाले एसियाको भविष्य समावेशिता र सहकार्यमा आधारित हुनुपर्ने धारणा राष्ट्रपति भण्डारीको छ। राष्ट्रपतिका अनुसार आपसी हितका लागि संयुक्त प्रयास, न्यायोचित र समतामूलक विश्व व्यवस्थाका लागि समावेशी विकास र मानव जाति तथा पृथ्वीको सुरक्षाका लागि हरित विकास यसको मर्म हो। यसले कनेक्टिभिटीको प्रवद्र्धन, पूर्वाधार विकास, बजारलाई जोड्ने तथा यस क्षेत्र एवं बाहिरका देशमाझ विभिन्न क्षेत्रमा सहयोगको अभिवृद्धि हुनेमा राष्ट्रपतिको जोड छ। बढ्दो कन्क्टिभिटीसँगै व्यापार, लगानी, पर्यटन तथा जनस्तरको सम्बन्धका लागि व्यापक अवसरको ढोका खुल्ने विश्वास राष्ट्रपतिको छ।

बीआरआईमा सी र पुटिनसँगै भण्डारी

बीआरआईको दोस्रो अन्तर्राष्ट्रिय सहकार्य शिखर मञ्चको उद्घाटन समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीका साथ चिनियाँ राष्ट्रपति सी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन पनि थिए। बेइजिङमा आयोजित उक्त सम्मेलनको प्रमुख सत्रमा सम्बोधन गर्ने सूचीमा नेपाल नरहे पनि उच्चस्तरीय सम्मेलनको सम्बोधनमा भने नेपाल समेटिएको थियो। राष्ट्रपति भण्डारीले उच्चस्तरीय छलफलमा सम्बोधन गरेको बताइएको छ।

दक्षिण एसियाबाट सत्रमा सम्बोधन गर्ने अवसर पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पाएका थिए। मध्यपूर्वी मुलुकबाट मलेसियाका प्रधानमन्त्री मोहम्मद माथिरले सम्बोधन गरे। समारोहमा राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरसले पनि सम्बोधन गरेका थिए।

चिनियाँ राष्ट्रपति सीले अन्तरक्रिया संकलन, आपसी हितयुक्त साझा विकास नै बेल्ट एन्ड रोडको लक्ष्य रहेको बताए। उनले सबैसँग सहकार्य गरेर समान विकासको उद्देश्य राखेको स्पष्ट पारे। राष्ट्रपति सीले अधिकतम मुलुक र अन्तर्राष्ट्रिय संगठनले चीनसँग बेल्ट एन्ड रोडको संयुक्त निर्माण गर्ने सहकार्य गरेकोमा खुसी व्यक्त गरेका थिए। बेल्ट एन्ड रोडको संयुक्त निर्माण प्रस्ताव र संयुक्त राष्ट्रसंघ, आसियान, अफ्रिका लिग, युरोपेली संघ, युरोप–एसिया आर्थिक संघलगायतले गरेको सहकार्यले विकासको लक्ष्यमा अग्रसरता देखाएको उनले बताए। रुसी राष्ट्रपति पुटिनले विश्व आर्थिक विकासमा बीआरआईमा अधिकतम सहकार्य गरेर फाइदा लिनुपर्ने बताएका थिए।

सम्मेलनमा विभिन्न उच्चस्तरीय सत्र सुरु भएको छ। ती सत्रमा राष्ट्रपति भण्डारीले पनि सम्बोधन गर्ने कार्यक्रम छ। राष्ट्रपति भण्डारी र विभिन्न देशका राष्ट्रप्रमुखबीच साइडलाइन छलफल हुने कार्यक्रम पनि छ। सम्मेलनमा भाग लिन पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पनि बेइजिङ आएका छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.