कालोपत्रे हुँदै रेसुंगा विमानस्थल

कालोपत्रे हुँदै रेसुंगा विमानस्थल

गुल्मी : रेसुंगा विमानस्थलको धावनमार्ग (रनवे) कालोपत्रे हुने भएको छ। गत वर्ष जेठमा धुले रनवेमै परीक्षण उडान भएको विमानस्थलको कालोपत्रेका लागि प्रक्रिया अघि बढेको हो। कालोपत्रे नहुँदा कतै परीक्षण उडानमै सीमित हुने हो की भन्ने आशंका थियो। तर, नेपाल नागरिक उड्डयन प्राधिकरणले कालोपत्रे गर्न टेन्डर आह्वान गरेपछि गुल्मेली आकाशमा नियमित उडान हुने स्थानीयको अपेक्षा छ।

‘विमानस्थलमा कालोपत्रे हुने खवरले निकै उत्साहित भएका छौँ’, रेसुंगा नगरपालिका १ उदिनढुंगाकी चन्दा घिमिरेले भनिन्, ‘गुल्मी–काठमाडौं जहाजबाट ओहोरदोहोर गर्न पाइने भयो।’ उनले लामो समयपछिको पर्खाइ पूरा हुन थालेको सुनाइन्।

नागरिक उड्डयन प्राधिकरणले १३ करोड रुपैयाँ बराबरको टेन्डर निकालेको रेसुंगा विमानस्थल निर्माण समितिका अध्यक्ष एवं छत्रकोट गाउँपालिका अध्यक्ष मधुकृष्ण पन्थले जानकारी गराए। उनका अनुसार प्रतिस्पर्धाको आधारमा निर्माण व्यवसायीले धावनमार्गको कालोपत्रेको काम गर्नेछन्। ‘अव नियमित उडान हुनेमा कुनै शंका छैन्’, उनले भने, ‘कालोपत्रे सकिनेबित्तिकै गुल्मीबाट नियमित उडान हुन्छ।’ गत वर्ष तारा एयरलाइन्सको ट्विनेटर विमानले धुले परीक्षण गरेको थियो। विमानस्थल निर्माण क्षेत्रका प्रभावित ४६ जना जग्गाधनीलाई उचित मुआब्जा दिने काम सकिएको पन्थले जानकारी गराए।

विमानस्थल निर्माणको सुरुवाती चरणदेखि पहल थालेका गुल्मी क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जिल्लाबाट नियमित उडान भर्न छलफल भइरहेको जनाए। अन्नपूर्णसँग टेलिफोनमा कुरा गर्दै ज्ञवालीले भने, ‘वर्षौंदेखिको गुल्मेलीको सपना छिट्टै पूरा हुनेछ।’ उनले विकास निर्माणको काममा सबैलाई हातेमालो गरेर अघि बढ्नसमेत आग्रह गरे। ज्ञवाली २०६२ सालमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री हुँदा विमानस्थलको शिलन्यास गरेका थिए। शिलन्यासको १४ वर्षपछि धावनमार्ग कालोपत्रे हुँदै छ। ज्ञवालीले काठमाडौं र भैरहवाबाट जहाज उडाउने विषयमा छलफल भइरहेको समेत प्रतिक्रिया दिए।

‘धुले उडान हुँदा अव जहाज नियमित आउनेमा विश्वस्त थियौं’, विमानस्थल क्षेत्र सिमिचौरका स्थानीय देबबहादुर बस्नेतले भने, ‘एक वर्ष कुनै सुरसार थिएन्। भर्खरै कालोपत्रे हुने भन्ने खवरले खुसी बनाएको छ।’

विमानस्थल नियमित सञ्चालन भएपछि जिल्लाको आर्थिक विकासमा फड्को मार्ने उद्योगी व्यवसायीले आशा व्यक्त गरेका छन्। आर्थिक सम्भावनाको ढोका खुल्ने आशा व्यवसायीको छ। गुल्मीको पहिचानको रूपमा रहेको कफी, बलेटक्सारमा उत्पादित गुड, भार्सेको ‘ग्राउन्ड एप्पल’ विभिन्न गाउँमा उत्पादन हुने लिचीसहित घरेलु उत्पादित वस्तुको बजारीकरणमा हवाई सेवाले टेवा पुर्‍याउने स्थानीयको अपेक्षा छ।

पर्यटकीय एवं धार्मिक स्थल रेसुंगा, रिडीलगायत विभिन्न सम्पदाको प्रवद्र्धन हुनेमा जिल्लावासीले आशा व्यक्त गरेका छन्। विमानस्थल सञ्चालन भएपछि गुल्मीसहित छिमेकी जिल्ला अर्घाखाँची, प्युठान, पाल्पा, बाग्लुङ र स्याङजाका स्थानीय प्रत्यक्ष लाभान्वित हुनेछन्। यस क्षेत्रका नागरिक हवाई सेवा लिन भैरहवा, नेपालगञ्ज र पोखरा पुग्नुपर्ने बाध्यता छ। विमानस्थलसँगै सदरमुकाम तम्घासदेखि रेसुंगासम्म केबलकार सञ्चालनका लागि पहल गर्न नेतृत्वलाई आग्रह गरेका छन्। चन्द्रगिरि केवलकार प्रालि काठमाडौंका अध्यक्ष चन्द्र ढकालले केबलकार निर्माणका लागि चासो देखाएका थिए। हरेक निर्वाचनमा नेता ज्ञवालीले विमानस्थल निर्माणका लागि चुनावी एजेन्डा बनाउँदै आएका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.