नागरिकताले लियो ज्यान

नागरिकताले लियो ज्यान

विराटनगर : वडा कार्यालयले नागरिकता सिफारिस गर्न नमान्दा सुनसरीको दुहवी नगरपालिका–३ का एक युवकले आत्महत्या गरेका छन्। २२ वर्षीय हरि मण्डलले आत्महत्या गरेको प्रहरीले जनाएको छ। म्याजिक चप्पल उद्योगमा कार्यरत मण्डल नागरिकताको सिफारिस माग्दै वडा समितिको कार्यालयमा पटकपटक पुगे पनि वडाध्यक्ष माधवबहादुर भण्डारीले कागजात नभएको भन्दै रुखो व्यवहार गरेको बताइएको छ।

वडाअध्यक्ष भण्डारीले तिम्रो नागरिकता हुँदैन भन्दै कार्यालयमा नै बेइज्जत गरेपछि छोराले आत्महत्या गरेको आमा गीतादेवी मण्डलले बताइन्। तीन पुस्तादेखि बुवा ध्रुव मण्डलसहित दुहवीमा बस्दै आएका मण्डल परिवारका जेठा छोरा प्रमोदले भने २०६३ सालको टोलीमै जन्मसिद्धको नागरिकता बनाइसकेका थिए।

दाजुको जन्मसिद्ध नागरिकता भएपछि हरिले नागरिकता खुलेको पहिलो दिन २०७५ चैत १८ मै वडा कार्यालय पुगेर वडा अध्यक्षलाई जन्मदर्ता र आफूले अध्ययन गरेको विद्यालयको सर्टिफिकेटतसहित नागरिकता सिफारिस गरिदिन आग्रह गरेका थिए। कागजात नपुगेको भन्दै सिफारिस नपाएका उनी वैशाख ९ गते पुनः आमा गीतादेवीसँगै वडा कार्यालय पुगेका थिए।

वडाध्यक्षले ‘तिम्रो सिफारिस हुँदैन’ भन्दै हप्कीदप्की गरेपछि उनी आमालाई वडा समितिको कार्यालयमै छाडेर घर गएका थिए। त्यसलगत्तै उनले घरमा पासो लगाएर आत्महत्या गरेको गीतादेवीले बताइन्। आर्थिक अवस्था कमजोर भएकाले उनले चप्पल उद्योगमा १३ कै उमेरदेखि काम गर्दै आएका थिए। पछिल्लोपटक उद्योगले समेत बैंकमा खाता खोल्न नागरिकता माग्न थालेपछि उनी नागरिकता सिफारिसका लागि पटकपटक वडा कार्यालयमा पुगेका थिए।

हरिले स्थानीय पञ्चायत अधारभूत विद्यालयबाट कक्षा ६ सम्मको अध्ययन गरेका थिए। आमा गीतादेवीका अनुसार अरूको जग्गामा बस्दै आएकाले जीवन विकास समाज लघुवित्त कार्यक्रमअन्तर्गत १ लाख २५ हजार ऋणसमेत लिएर घर बनाइएको छ। आमासँगै बस्दै आएका उनले मासिक २५ हजार कमाएर जीवन विकासको मासिक ७ हजार ५ सय किस्ता तिर्दै आएको बताइएको छ। दाई इटहरीमा गाडीमा काम गर्दै आएकाले घर चलाउनुको साथै आमाको रेखदेखसमेत हरिले नै गर्दै आएको स्थानीय बासिन्दाले बताए। स्थानीयका अनुसार हरि नागरिकता नपाएका कारण केही समयदेखि तनावमा थिए। वडाध्यक्षले कार्यालयमा नै गरेको बेइज्जत सहन नसकेर आत्महत्या गरेको स्थानीय बताउँछन्। बुवाको मृत्यु ४ वर्ष अघि भएपछि हरिले सबै व्यवहार सम्हाल्दै आएका बेला आत्महत्या गरेपछि परिवारमा तनाव थपिएको छ। आमामा थप चिन्ता थपिएको छ। ५० वर्षीय आमा गीतादेवीले यसै वर्ष हरिको विवाह गर्ने तयारी गरेकी थिइन्।

नागरिकता सिफारिस नपाएपछि आत्महत्या गरेको कुरा बाहिर आउनासाथ दुहवी नगरपालिका प्रमुख वेद गच्छदारसहित अन्य पदाधिकारी सान्त्वना दिन हरिको घर पुगेका थिए। वडाध्यक्ष भण्डारीले घटना भएको ४ दिनपछि उनको घर पुगेका थिए। आमा गीतादेवीका अनुसार वडाध्यक्ष भण्डारीले गल्ती भयो भन्दै सहयोग गर्ने अश्वासन दिएका छन्।

भण्डारीले भने सिफारिस नगरिदिएका कारण आत्महत्या नगरेको दाबी गरे। ‘नागरिकता बनाउन आवश्यक कागजपत्र नभएपछि सिफारिस नदिइएको हो,’ उनले भने, ‘यस्ता सिफारिस नपाउँदा आत्महत्या कोही कसैले गर्नै सक्दैनन्।’

नगरपालिकाका एक कर्मचारीका अनुसार सुरुमा वडा अध्यक्ष भण्डारीले नै नागरिकताको सिफारिस दिन भनेर हरिलाई बोलाएका थिए। तर सेवाग्राहीको चाप रहेका बेला सबैका छेउमा नेपाली नागरिक नभएको र सिफारिस नदिने भनेर गाली बेइज्जती गरेपछि सहन नसकेर आत्महत्या गरेको ती कर्मचारीको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.