न्युड आर्ट अश्लील होइन

न्युड आर्ट अश्लील होइन

भनिन्छ, ‘कलाकार आफ्नो सिर्जनामा सधैं स्वतन्त्र हुन्छ।’ प्रायजसो चित्रकारले प्रकृतिका मनोरम दृश्यलाई सिर्जनामा उतार्ने गर्छन्। हिमाल, फूलबारी, तालतलैया, महिलाहरूको हाउभाउ र विभिन्न मुद्रा पनि कलाकारको रोजाइमा पर्ने गर्छ। पछिल्लो समय आर्टिस्टको सिर्जनाको माध्यमहरू पनि बदलिँदो क्रममा छन्। आर्टका विषयमा पनि विविधता देखिन थालेको छ।

पहिले पहिले मन्दिरका भित्ताहरूमा कोरिने टँुडालहरूमा मानिसको नग्न शरीरको स्वरूप बनाइने गरिन्थ्यो। काठमाडौं, भक्तपुर, ललितपुरका अधिकांश मन्दिरलगायत देशका अनगिन्ती धार्मिकस्थलहरूमा यस्ता चित्र देख्न सकिन्छ। भैरवका भीमकाय नग्न शरीरको स्वरूप होस् या शिवलिंग होस् परम्परादेखि नै न्युड आर्टहरू बनाइँदैे आएको देखिन्छ। धर्मसँग जोडेर आउने हरेक विषयलाई हाम्रो समाजले स्विकार गर्ने गर्छ। मन्दिरमा न्युड स्वरूपमा उभिएका भीमकाय मूर्तिहरूलाई ढोगेर नै हुर्किएका हौं हामी। पौवा, थांकाजस्ता चित्रहरूमा पनि महिला पुरुषको नग्न शरीरलाई चित्रमा उतारेको पाइन्छ।

धर्मका मामिलामा हाम्रो समाज उदार देखिन्छ। तर कसैले ‘न्युड’ आर्ट बनायो भने सजिलै स्विकार गर्दैन। चित्रकै आधारमा कलाकारको गलत मूल्यांकन गर्छ। सुन्धाराका कपिलमणि दीक्षित न्युड आर्टमा लामो समयदेखि काम गरिरहेका छन्। उनलाई मानव शरीर अत्यन्तै सुन्दर लाग्छ। उनी पुरुष र महिलाको न्युड शरीरको विभिन्न जेस्चरहरूलाई चित्रमा उतार्ने गर्छन्। मानिसले विभिन्न अवस्थामा देखाउने शरीरको भावभंगीलाई आर्टमा दुरुस्तै बनाउँछन्।

न्युड आर्टलाई समाजले स्विकार गर्ने वातावरण भने भइसकेको छैन। कपिल भन्छन्, ‘न्युड भन्नेबित्तिकै पचाउन सक्तैन मानिस। न्युड चित्र पनि कहीँ आर्ट हुन्छ भन्दै प्रश्न गर्छन् मानिसहरू।’ विदेशमा न्युड आर्टको व्यापार र माग पनि बढ्दो छ। न्युड चित्र बनाउने कलाकारहरूको जमात पनि ठूलै छ। तर नेपालमा न्युड चित्र बनाउने कलाकारहरू निकै कम छन्। केही चित्रकारहरूसँग न्युड आर्टको विषयमा छलफल गरिएको छ।

ललितकला चित्रकला विभागकी प्रमुख सुष्मा राजभण्डारी ‘न्युड आर्टको बारेमा धेरै मानिसहरू कम्फ्युजनमा रहेको बताइन्। उनले न्युड आर्ट अन्य आर्ट जस्तै भएको र विषयमात्रै फरक रहेको जानकारी दिइन्। फाइन आर्ट पढ्ने बेला नै विभिन्न मोडल तथा स्कप्चर प्रयोग गरेर न्युड आर्ट बनाउन सिकाइने जानकारी दिँदै आर्ट सिक्नका लागि न्युड जरुरी भएको बताइन्।

आर्टका अनेक विधा र आयाम हुने बताउँदै आर्टिस्टले आफ्नो रुचिअनुसारको चित्र बनाउने चलन रहेको जानकारी दिइन्। मानिस जन्मिँदा नै न्युड हुने भएकाले न्युड चित्र अश्लील नहुने तर्क गरिन्। समाज संकीर्ण भएकाले पनि धेरैजसो आर्टिस्टहरू खुलेर आउन नसकेको दाबी गरिन्।

न्युड भनेको अन्तिम सत्य हो भन्ने कपिल न्युड र नग्नतामा फरक भएको जानकारी गराउँछन्। न्युडलाई सामान्य जीवनचक्रको प्रक्रियाको रूपमा बुझ्नुपर्ने उनले बताए। यसका साथै उनले न्युड अवस्थामा सबै मान्छे समान देखिने हुँदा न्युड चित्रले मानवीय समानताको वकालत गर्ने जानकारी दिए।

विदेशमा न्युड आर्ट युज टु विषय हो। नेपालमा न्युड विषयमा पढाउने शिक्षकको पनि कमी छ। मोडलहरूको अभाव छ। यसैले पनि चाहना हँुदाहुँदैे पनि न्युड चित्र बनाउने मौका नपाएको दाबी गरिन् सुष्मा शाक्यले। न्युड प्राकृतिक कुरा भएकाले यसलाई सामान्य रूपमा लिनुपर्ने उनको तर्क थियो।

आर्टलाई कम्युनिकेसनको एउटा माध्यमको रूपमा बुझ्नुपर्ने बताउँदै मनिसलाल श्रेष्ठले न्युड आर्टले मान्छेको प्राकृतिक सत्यलाई उजागर गर्ने जानकारी दिए। न्युड आर्ट बनाउने मान्छेको कमी भए पनि सबैभन्दा बढी हेरिने र खोजिने विषय भएको बताए। न्युड आर्ट आफ्नो रुचिको विषयमा नपर्ने हुँदा आफूले यस्ता चित्र नबनाएको स्पष्टीकरण दिँदै श्रेष्ठले समाजले के भन्ला भन्ने डरले पनि धेरै आर्टिस्टहरूले यो विषयमा काम नगरेको जानकारी दिए।

आर्टिस्टले आफ्नो विचार भन्नका लागि जुनसुकै विषय छान्न स्वतन्त्र हुने बताउँदै विधाता केसीले न्युड आर्ट बनाउनु एउटा च्यालेन्ज भएको बताइन। न्युड आर्ट बनाउन अन्य आर्टको तुलनामा गाह्रो हुने भएकाले पनि धेरै आर्टिस्टहरूले बनाउन नसकेका होलान् उनले अनुमान लगाइन्। तपाईंले किन बनाउनु भएन भन्ने प्रश्नमा आफ्नो डइङ राम्रो नभएको स्विकार गरिन्।

वुमेन्स सिरिजमा आर्ट तयार पारेकी एरिना ताम्राकारलाई न्युड आर्ट राम्रो लाग्छ। उनले ‘वुमेन्स इन नेचर’ शीर्षकमा २५ भन्दा बढी न्युड आर्टहरूको प्रदर्शनी गरेकी छिन्। उनले पर्फेक्ट आर्टिस्ट हुनका लागि न्युड आर्टको अनिवार्य जानकार हुनुपर्ने बताइन्।

सन्ध्या सिलवालले केही न्युड चित्र बनाएकी पनि छन्। नेपालमा व्यावसायिक रूपमा काम गर्ने मोडेलहरूको अभावले गर्दा पनि केही कठिन भएको जनाइन्। उनी भन्छिन्, मोडेलको अभावमा आफ्नै शरीरको फोटोलाई चित्रमा उतारेकी छु। यो विषयमा कुची चलाउनको लागि अनुसन्धान र बढी अध्ययन गर्नुपर्ने भएकाले पनि निरन्तरता दिन नसकेको स्विकार गरिन्। न्युड आर्ट प्राकृतिक चक्रसँग जोडिने हुँदा कहिल्यै पनि अश्लील नहुने तर्क उनको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.