मुसा र मानिस
चरम मन्दीबाट गुज्रिरहेको सन् १९३० को दशकको अमेरिका। कामको खोजीमा डुलिहिँड्ने जर्ज मिल्टन र उसको सोझो साथी लेनी स्मलका न आफन्त छन्, न ठाउँठेगाना। छन् त केही सपना- अलिकति जमिन जोड्ने, सानो घर बनाउने, डिँगा पाल्ने र सुखी जीवन बिताउने। त्यही सपनाको कथा हो, जोन स्टेनबेकको लघुउपन्यास ‘अफ माइस एन्ड मेन’। प्रस्तुत छ, ‘अफ माइस एन्ड मेन’को अंशको नेपाली उल्था।
जोन स्टाइनबेक : दिन ढल्नै लागिसकेको थियो। उपत्यकाबाट मास्तिर उक्लिसकेको घामको प्रकाशले गाबिलन पहाडका चुचुरा मात्र उज्यालो पारेको थियो। पोखरीमा पेरिस्कोपजस्तो टाउको ठड्याएर पानीसाँप सलल तैरियो। पानीको प्रवाहले वरपरका नर्कटका झार थर्र्थराए। पर राजमार्गतिर एउटा मानिस करायो, अनि अर्काले कराएरै जवाफ फर्कायो। हावाको सानो झोँकाले अंजिरका हाँगाबिँगा हल्लायो, अनि अनायासै रोकियो।
लेनीले घुँडा टेकेर जर्जतिर हेर्यो। सोध्यो, ‘अनि खाना
नखाने ?’
‘तैंले सुक्खा दाउरा बटुलेर ल्याइस् भने खाने। मेरो गुन्टामा तीन डब्बा गेडागुडी छन्। तँ आगो बाल्। तैंले दाउरा ठिक्क पारेपछि म सलाई दिऊँला। अनि गेडागुडी तताएर खाऔंला।’
‘मलाई गेडागुडी केचपसँग खान मन पर्छ।’
‘केचप त छैन। जा, दाउरा ल्या। त्यतै अल्मलिएर नबस् नि, छिट्टै रात पर्छ फेरि।’
लेनी लोसे पाराले उठ्यो र झाडीतिर पस्यो। जर्ज भने त्यहीँ बसेर आफ्नै सुरमा सुसेली हालिरह्यो। लेनी गएको तलको खोल्सातिरबाट पानी छप्ल्याक-छुप्लुक गरेको आवाज आयो। जर्जले सुसेल्न छोडेर आवाज सुन्यो।
‘विचरो !’, जर्जले बिस्तारै भन्यो अनि फेरि सुसेल्न थाल्यो।
एकैछिनमा लेनी फक्र्यो। उसका हातमा बैंसको रूखको एउटा दाउरो थियो। जर्ज उठ्यो। ‘ल, त्यो मुसो मलाई दे’, जर्जले बम्किँदै भन्यो। ‘कस्तो मुसो, जर्ज ? मसँग कुनै मुसो छैन’, लेनीले अनभिज्ञताको अभिनय गर्यो। जर्जले हात तेस्र्यायो, ‘खुरुक्क ले यता। मलाई उल्लु बनाउन नखोज्।’
लेनी हिच्किचायो, पछि हट्यो र झाडीतिर हेर्यो, मानौं ऊ त्यहाँबाट टाप कस्न चाहँदो हो। जर्जले फेरि रूखो पाराले भन्यो, ‘मुसो दिन्छस् कि मुक्का खान्छस् ?’
‘के दिने, जर्ज ?’
‘तँलाई राम्रोसँग थाहा छ, के दिने। त्यो मुसो दे।’
लेनीले अनकनाउँदै गोजीमा हात हाल्यो। उसको आवाज अलिकति काँप्यो। ‘किन होला मैले यो राख्न पनि नपाउने ! यो कसैको मुसो हैन। मैले चोरेको पनि हैन। बाटाछेउ भेटेको।’
जर्जले ढिटपूर्वक हात तेस्र्याई नै रह्यो। मालिकलाई बल फर्काउन नचाहने टेरिअर कुकुरझैं लेनी अघि बढ्यो, पछि हट्यो र फेरि अघि बढ्यो। जर्जले चुट्की बजायो। चुट्कीसँगै लेनीले फ्याट्ट हातमा मुसो निकाल्यो।
‘क्यै बिगार्या छैन, जर्ज। मुसार्या मात्रै हो।’
जर्ज उठ्यो र मुसोलाई अँध्यारिँदै गरेको झाडीतिर मिल्काइदियो। अनि पोखरीको किनारमा गएर हात पखाल्यो। ‘खुस्केट साला। मुसो टिप्न खोलापारि जाँदा खुट्टा भिजेको थाहा पाउँदिनँ भन्ठान्याथिस् ?’
लेनी सुँक्क-सुँक्क गरेको सुनेर जर्ज फनक्क फक्र्योे। ‘ए दैव ! यत्रो लाठे भएर पनि केट्केटीझैं चुइँकिन्छ बा।’ लेनीका ओठ थर्थराए। आँखाबाट आँसु तप्कियो।
‘एइ लेनु !’ जर्जले लेनीको काँधमाथि आफ्नो हात राख्यो। बित्थैमा त्यो मुसो फाल्देको हैन नि। त्यो मुसो ताजा थिएन के। मुसार्दा-मुसार्दै तैंले त्यसलाई कच्याक-कुचुक पारिसक्याथिस्। ताजा मुसो भेटिस् भने एकछिन राख्न दिऊँला नि।’
लेनी भुइँमा थचक्क बसेर झोक्रायो। ‘अर्को मुसो कहाँ पाइन्छ कहाँ, के थाहा एक महिला मलाई टन्नै मुसा दिन्थिन्। तर उनी अचेल कहाँ छिन्, थाहै छैन।’
‘महिला रे ?’ जर्जले हकार्यो। ‘उनी को थिइन् भन्ने पनि सम्झँदैन। तेरै काकी क्लारा थिइन्, क्लारा। तिनले पनि तँलाई मुसा दिन छाडिन्। पायो कि मारिहाल्छस् !’
लेनीले निन्याउरो अनुहार लिएर जर्जलाई हेरिरह्यो। ‘इत्रुऽऽका मुसा थिए नि त’, उसले खेदपूर्वक भन्यो। ँम तिनलाई मुसार्थें, अनि तिनले मेरा औंलामा कुटुक्क टोक्थे। अनि म तिनका टाउका छुस्स चिमोट्थेँ, अनि ती खुत्रुक्क मर्थे। ‘इत्रुऽऽका थिए नि त।’
छिट्टै कतैबाट खरायो पाउन पाए हुन्थ्यो नि, जर्ज। खरायो त इत्रुऽऽको हुन्न नि।’
‘ईऽऽ पाउलास् खरायो ! जिउँदो मुसो पाउनै नहुने। काकीले रबरको मुसो दिँदा भने हेर्दा नि नहेर्ने’, जर्जले हकार्यो।
‘त्यो मुसार्ने खाले मुसो थिएन के’, लेनीले भन्यो।
अस्ताउँदो घामको शिखा डाँडाको सिरानबाट टपक्क उठेर गयो। उपत्यकामा गोधूलि आयो, अनि बैंस र अंजिरका रूखमाझ अर्धनिष्पट्टता छायो। पोखरीको सतहमा एउटा भोटी माछो बुरुक्क उफ्र्यो, सास फेर्यो र सतहमा तरंग छोड्दै अँध्यारो पानीमा रहस्यमय डुबुल्की मार्यो। मास्तिर रूखका पात फेरि सर्सराए। अनि कपासका ससाना थुंगा हावामा बहँदै पानीको सतहमा आई थपक्क बसे।
‘ती छेस्का ल्याउन लाको ?’ जर्जले सोध्यो। त्यो अंजिरको रूखपछाडि बर्खे भेलले ल्याएका दाउरा टन्नै छन्। तिनै ल्या।’
अंजिरको पछाडि गएर लेनीले पतिंगर र झिँगटा बटुलेर ल्यायो। तिनलाई पुरानो खरानीको थुप्रोमा फ्याँक्यो र अरू लिन गयो। अब त झमक्कै रात पार्न आँटेको थियो। एउटा ढुकुरले पानीमाथि बेग हान्दा सुइयँ आवाज आयो। जर्ज आएर पतिंगरमा आगो झोस्यो। झिँगटा पट्पटाउँदै आगो दन्क्यो। जर्जले गुन्टो फुकायो र गेडागुडीका तीन डब्बा निकाल्यो। आगोको वरिपरि तर लप्काले नभेट्ने गरी ती डब्बा ठड्यायो।
‘चार जनालाई पुग्नेजति गेडागुडी छ’, जर्जले भन्यो।
आगोपारिबाट लेनीले जर्जलाई यसो हेर्यो। अनि आरामसँग भन्यो, ‘मलाई गेडागुडी केचपसँग खान मन पर्छ।’ ‘छैन केचप सेचप’, जर्ज बम्क्यो। ‘जे छैन, त्यही चाहिने तँलाई। हे दैव ! एक्लै भ’को भए मेरो जिन्दगी कति सजिलो हुने थियो। काम खोजेर गर्थें। न झमेला, न लफडा। महिना मरेपछि तनखा बुझ्थेँ, अनि बजार गएर जे चाहियो त्यही किन्थेँ। वेश्यालयमा रात बिताइदिन्थेँ। मन परेको होटल या कहीँ मन लागेको खान्थेँ। हरेक महिना त्यही दोहोर्याउथेँ। एक जर्किन ह्विस्की किन्थेँ या पुल वा तास खेलिबस्थेँ।”
लेनीले घुँडा टेक्यो र आगोपारि रिसैपाई फतफताइरहेको जर्जलाई हेर्यो। अनि डरले उसको अनुहार लुत्रुक्क पर्यो। ‘अनि के पाएँ मैले ? तँलाई पाएँ’, जर्ज फतफताइरह्यो। ‘तँ आपूm पनि नोकरी नपाउने, मैले पाएको पनि खोसाइदिने। बाह्रै मास भगौडा बनाउने। नचाहिने काम गरिहिँड्ने तँ, अनि तँलाई बचाइहिँड्ने म। खुस्कट साले ! जहिल्यै खाल्टामा जाक्छ एइ मलाई।’ उसको हाउभाउ ससाना केटीले एक अर्काको नक्कल गर्दाझैँ थियो। ‘त्यो केटीको जामा मुसारेको मात्रै हो, मुसो मुसारेझैं रे। जामा मुसारेको कि के मुसारेको, उसलाई के थाहा ? तर्कन खोज्दा पनि मुसो समातेझैं समातेपछि केटी चिच्याउने भइहाली। अनि केटाहरूले लखेट्दा दिनभर कुलामा लुकेर राति गाउँ छाडेर भाग्न पर्ने। जहिले त्यस्तै, जहिले त्यस्तै। तँलाई त पिँजडामा लाखौंलाख मुसासँग थुनेर राख्दिनु पर्ने। अनि बल्ल मज्जाले मुसार्थिस्।’
अचानक जर्जको रिस शान्त भयो। आगोपारि लेनीको लुत्रुक्क परेको अनुहारमा हेर्यो, अनि लाजले आगोतिर फक्र्यो।
वरपर चुक पोखिएझैँ अँध्यारो थियो। तर, आगोले रूखका काण्ड र बांगाटिंगा हाँगा उज्यालो पारेको थियो। लेनी आगाको छेवैछेउ घस्रँदै जर्जनेर आयो। कुर्कुच्चाको भरमा टुक्रुक्क बस्यो। गेडागुडीको डब्बाको अर्को पाटो आगोतिर फर्कायो। लेनी आएको देखेको नदेख्यै गर्यो।
‘जर्ज’, लेनीले विस्तारै बोलायो। जर्जले नसुनेझैं गर्यो। ‘जर्ज !’
‘के चाहियो ?’
‘मैले ठट्टा मात्रै गरेको। मलाई केचप चाइँदैन। यहीँ छेवैमा केचप भा’को भए पनि खान्थिनँ।’
‘छेउमै भा’को भए अलिकति त चाख्थिस् होला।’
‘सत्ते चाख्थिनँ। सप्पै तिम्लाई दिन्थेँ। तिम्ले गेडागुडी केचपले लपक्कै ढाकेर खाए पनि मचाहिँ छुँदा पनि छुन्थिनँ।’
जर्ज अझै रिसाएर आगोतिर एकटक हेरिरहेको थियो। ‘तँबिना कति हाइसन्चो हुन्थ्यो भनेर सोच्दा पनि भाउन्न भएर आउँछ। कहिल्यै सुख पाइनँ मैले।’
लेनी घुँडा टेकिरह्यो। खोल्सापारि अँध्यारोतिर हेर्यो। ‘तिमीलाई एक्लै छाडेर म कतै गइदिउँ भन्ने चाहन्छौ, हो ?’
‘कता मुन्टिन्छस् नि ?’
‘जता मुन्टिए पनि मुन्टिन्छु। ऊ मास्तिर डाँडातिर मुन्टिए पनि भो। त्यतै कतै ओडार-सोडार पाइएला नि।’
‘अनि के खान्छस् नि ? खान्की खोज्ने दुई पैसे ढंग त छैन।’
‘केही न केही त भेटूँला नि, जर्ज। मलाई केचप हालेको मीठो खानेकुरा चाहिँदैन। दिनभरि थपक्क घाम तापेर बस्छु। कसैले मलाई दुःख पनि दिने छैन। अनि भेटेजति मुसा आपैंmसँग राख्न पाउने छु, कसैले खोस्ने छैन।’
जर्जले झट्ट लेनीको अनुहार केलायो। ‘अल्लि नराम्ररी नै भनेँ है ?’
‘तिमीलाई म मन पर्दैन भने म डाँडातिर ओडार खोज्छु, जर्ज। जति बेला भन्छौ, त्यति बेलै जान्छु।’
‘हेर् लेनी, म जिस्क्या मात्रै हो। म त तँ मसँगै भएस् भन्ने चाहन्छु। मुसो चाइने तैंले जहिले पनि मारिदिने के।’ ऊ रोकियो। ‘सुन्, अब म के गर्छु भने, तँलाई कुकुरको छाउरो दिलाइदिन्छु। त्यसलाई त नमार्लास् नि। मुसोभन्दा छाउरो नै बेस। त्यसलाई अल्लि बेस्सरी मुसार्न पनि सक्छस्।’
अब सुनेको नसुन्यै गर्ने पालो लेनीको थियो। आफ्नो हात माथि परेको चाल उसले पाइसकेको थियो। ‘तिमी मलाई चाहँदैनौ भने भन मात्रै, म त्यो डाँडातिर उक्लिहाल्छु र एक्लै बस्छु। मुसो कसैलाई छुन पनि दिन्नँ।’
‘हेर् लेनी, तँ मसँगै बसिराखेस् भन्ने म चाहन्छु। एक्लै भइस् भने त तँलाई कसैले फ्याउरो सोचेर गोली ठोक्न पनि बेर लाउँदैन। तँ मसँगै बस्नुपर्छ। तेरी काकीलाई तँ एक्लै हिँडेको मन पर्दैन। हुन त उनी मरिसकिन्, तैपनि...।’
‘त्यसो भए पहिलेपहिले भनेझैं भन’, लेनीले
चलाखीपूर्वक भन्यो।
‘के भन्ने ?’
‘खरायोको बारेमा।’
‘फेरि रिस नउठा’, जर्ज बम्क्यो।
‘भन न के। पहिलेजसरी नै’, लेनीले बिन्ती बिसायो।
‘तँलाई खुब मज्जा आउँछ है ? ल, म भन्छु अनि खाना खाऊँला।’
जर्जको आवाज गहिरो भएर आयो। प्रत्येक शब्द लय मिलाएर भन्न थाल्यो, मानौं उसले पहिल्यै कैयौंपटक भनिसकेको हुँदो हो। ‘पशु फार्ममा काम गर्ने हामीजस्ता मानिस दुनियाँमा सप्पैभन्दा एक्ला हुन्छन्। तिनका न परिवार हुन्छन्, न ठाउँ-ठेगान। खेतमा पसिना बगाउँछन्, पैसा कमाउँछन् अनि बजारमा लगेर मास्छन्। अनि फेरि पुच्छर हल्लाउँदै अर्को कुनै फार्ममा काम खोज्न जान्छन्। त्यसभन्दा पर तिनको कुनै
भविष्य हुँदैन।’
लेनी बडो खुसी भयो। ‘हो हो, त्यही हो। अब हाम्रो अवस्था कस्तो छ, त्यो भन, जर्ज।’
‘हाम्रो अवस्था भने त्यस्तो छैन’, जर्ज बोल्दै गयो। ‘हाम्रो त भविष्य छ। गफ गर्नलाई एकअर्का छौं। जाने ठाउँ भएन भन्दैमा भट्टी पसेर गएर पैसा उडाउन पर्दैन। अरू मानिस जेलमा जाक्किए भने त्यहीँ सडिरहन्छन् किनभने कसैले तिनको मतलब गर्दैन। हाम्रो अवस्था भने त्यस्तो छैन।’
‘हाम्रो अवस्था त्यस्तो छैन। किन ? किनभने मेरो ख्याल राख्ने तिमी छौ, तिम्रो ख्याल राख्ने म’, प्रसन्न हुँदै लेनी हाँस्यो। ‘अरू भन्दै जाऊ, जर्ज।’
‘तँलाई कण्ठै छ नि। आफैं भन् न।’
‘नाइँ, तिमी भन न। म बीचबीचमा बिर्सिन्छु के। हाम्रो अवस्था कस्तो हुने छ, त्यो भन न।’
‘ल, ल। एक दिन हामी टन्न पैसा कमाउने छौं, अनि
हाम्रो सानो घर हुने छ, दुई एकड जमिन हुने छ। एउटा गाई, एउटा सुँगुर, अनि...’
‘अनि जमिनको कमाइले बाँच्ने छौं’, लेनी करायो, ‘अनि हामी खरायो पाल्ने छौं। अरू भन, जर्ज। हाम्रो बगैंचामा के हुने छ, भन। हिउँदमा पानी पर्ने कुरा, अनि स्टोभ, अनि बाक्लो दूधको मलाई। त्यो भन न, जर्ज।’
‘तैं भन् न। तँलाई कण्ठै छ नि।’
‘नाइँ, तिमी नै भन न। मैले भनेको तिमीले भनेजस्तो हुँदैन के। भन, जर्ज। मैले खरायो हुर्काउन पाउने कुरा भन।’
अँ, हाम्रो ठूलो करेसाबारी हुने छ, अनि खरायोको खोर, अनि कुखुरा। अनि जब हिउँदमा पानी पर्ने छ, हामी कामलाई भुत्रैसिति भन्ने छौं अनि स्टोभमा आगो ताप्दै छानामाथि पानी वर्षेको सुन्ने छौं। वाह !’, जर्जले भन्यो। उसले गोजीबाट चक्कु निकाल्यो। ‘अब यहाँभन्दा धेरै भन्ने समय छैन’, गेडागुडीको एउटा डब्बा ढक्कन काटेर लेनीलाई दियो। अनि दोस्रो डब्बा खोल्यो। गोजीबाट दुई चम्चा निकालेर एउटा लेनीलाई दियो।
उनीहरू आगोछेउ बसेर गेडागुडी चपाउन थाले। लेनीका मुखमा नअटाएका केही गेडा खसे। जर्जले चम्चाले इशारा गर्यो।
‘भोलि साहूले तँलाई प्रश्न गर्यो भने के भन्छस् ?’
लेनीले मुखभरिको गेडागुडी घुटुक्क निल्यो। ध्यानमग्न भयो। ‘म... म... एक शब्द पनि बोल्दिनँ।’
‘स्याब्बास् केटा। तँ राम्रो गर्दै छस्। हामीसँग दुई एकड जमिन भएपछि म तँलाई खरायो पाल्न दिन्छु। यसरी नै बुझक्कड
भइस् भने।’
लेनी गर्वले फुल्यो। ‘म बुझिहाल्छु नि’, उसले भन्यो।
जर्जले चम्चाले फेरि इशारा गर्यो। ‘लेनी, तँ यो ठाउँमा यताउता हेर्। यो ठाउँ सम्झन सक्छस् नि ? खोल्साखोल्सै आउँदा फार्मबाट यहाँ एक चौथाइ मिल मात्रै छ।’
‘सम्झन्छु’, लेनीले भन्यो। ‘एक शब्द पनि नभन्ने कुरा
सम्झिनँ र ?’
‘सम्झिस्। हेर् लेनी, सधैंझैं कुनै लफडामा परिस् भने यहीँ आएर झाडीभित्र लुकेस् है।’
‘झाडीभित्र लुक्ने’, लेनीले सुस्तरी भन्यो।
‘म तँलाई लिन नआउन्जेल झाडीभित्रै लुक्ने।
सम्झन्छस् नि ?’‘सम्झन्छु, जर्ज। तिमी नआउन्जेल झाडीभित्र लुक्ने।’
‘तर तँ केही लफडामा पर्दैनस्। परिस् भने म तँलाई खरायो पाल्न दिन्नँ नि।’ उसले रित्तिएको गेडागुडीको डब्बा झाडीतिर मिल्काइदियो।
‘म लफडामा पर्दिनँ, जर्ज। एक शब्द पनि बोल्दिनँ।’
‘ल, अब आफ्नो गुन्टो ल्या यहाँ, आगोछेउ। यहाँ आकाश र पात हेर्दै सुत्न आनन्द हुन्छ। अब आगो दन्काउन पर्दैन, निभ्न दिए हुन्छ।’
उनीहरूले आआफ्ना ओछ्यान बालुवामाथि लगाए। आगोको लप्का निभ्दै जाँदा प्रकाशको दायरा पनि साँघुरिँदै गयो। बांगाटिंगा हाँगा ओझेल पर्दै गए, अनि धिपधिपे प्रकाशमा रूखका
काण्डको आकृतिमात्र देखियोे। अँध्यारोबाट लेनीले बोलायो, ‘जर्ज, तिमी सुत्यौ ?’
‘छैन। किन ?’
‘अनेक रङका खराया पालौंला है, जर्ज।’
‘ल हुन्छ’, जर्ज झकाउन थालिसकेको थियो। ‘रातो, नीलो र हरियो रङका खराया। लाखौं खराया।”
‘भुत्ते खराया, जर्ज। मैले स्याक्रामेन्टोको मेलामा देखेजस्तै।’
‘ल हुन्छ, भुत्ते खराया।’
‘नत्र म जान पनि सक्छु, जर्ज, ओडारमा बस्न सक्छु।’
‘नर्कै गए पनि जा। अब चुप लाग्।’
कोइलामा रातो प्रकाश मधुरो हुँदै गयो। खोल्सामाथि डाँडामा फ्याउरो करायो। खोल्सापारिबाट कुकुरले जवाफ फर्कायो। अंजिरका पात रात्रिकालीन मन्द हावामा सर्सराए।
सन् १९६२ को नोबेल पुरस्कार विजेता जोन स्टाइनबेक (सन् १९०२-१९६८) अमेरिकी लेखक हुन्। उनका १६ उपन्यास, ६ गैराख्यान, दुई कथासंग्रहलगायत २७ पुस्तक प्रकाशित छन्।
अनुवाद : दिनेश काफ्ले