एसीसी यू-१६ क्रिकेट : नेपाल फाइनलमा
काठमाडौं : साविक विजेता नेपाल थाइल्यान्डमा जारी एसीसी यू-१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। थाइल्यान्डको चियाङमाईमा शनिबार भएको सेमिफाइनल खेलमा नेपालले हङकङलाई चार विकेटले हरायो।
हङकङले दिएको ८७ रनको सामान्य लक्ष्य नेपालले २१.४ ओभरमा ६ विकेटको क्षतिमा पूरा गरेको थियो। नेपालको जितमा आशिष भट्टराईले सर्वाधिक १७ रन बनाए।
रोहन दुदराज विकले १४, कृष्ण कार्कीले १२, दीपक बोहोराले ११ र सुवास आएरले १० रन बनाए। बलिङमा हङकङका ब्रिजनरेन शिवपुरीले तीन विकेट लिए। आहान खान्हाई त्रिवेदीले दुई विकेट लिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हङकङले ३२.२ ओभरमा सबै विकेट गुमाएर ८६ रन बनाएको थियो। हङकङका लागि आरुश भगतले सर्वाधिक ४३ रन बनाए।
अन्य ब्याट्सम्यान जम्न सकेनन्। हङकङलाई सस्तैमा समेट्न नेपालका निखिलकुमार सिंहले चार विकेट लिए। विशालकुमार पटेल र रमेश कुर्मीले दुई दुई तथा तिलक राजभण्डारीले एक विकेट लिए।
फाइनलमा नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्ने छ। शनिबारै भएको अर्को सेमिफाइनल खेलमा मलेसियाले सिंगापुरलाई ५७ रनले हराउँदै नेपालसँगको उपाधि भेट पक्का गरेको हो।