संरचनागत सुधार जरुरी

संरचनागत सुधार जरुरी

सरकारले लिएको आर्थिक वृद्धिदरको लक्ष्य हासिल नहुने निश्चित भएको छ । चालु आर्थिक वर्ष ०७५÷७६ का लागि आठ प्रतिशत वृद्धिदरको लक्ष्य राखेको थियो । केन्द्रीय तथ्यांक विभागले ६.८१ प्रतिशतको वृद्धिदर हासिल हुने अनुमान सार्वजनिक गरेको छ । सरकारको लक्ष्य महत्वाकांक्षी देखिएको छ । लक्ष्य निर्धारण गर्दा प्राप्तिको आधार विश्लेषण गरिनुपर्ने हो । कार्यसम्पादन र लक्ष्यबीच ठूलो अन्तरका कारण लक्षित उपलब्धि हासिल हुँदैनन् ।

सरकारको बजेट कार्यान्वयनको अवस्था नाजुक छ । मध्यावधि समीक्षाका क्रममा बजेटको आकार पनि घटाइयो । सरकारले यस वर्ष ३ खर्ब १४ अर्ब रुपैयाँ पुँजीगत बजेट खर्च गर्ने भने पनि अर्धवार्षिक समीक्षामा त्यसलाई घटाएर २ खर्ब ६५ अर्ब रुपैयाँ खर्च गर्ने भनेको छ । संशोधित लक्ष्यअनुसार पनि खर्च हुन मुस्किल छ । आर्थिक वर्ष समाप्त हुन साढे दुई महिना बाँकी हुँदा जम्मा १ खर्च १७ अर्ब रुपैयाँ विकास खर्च भएको छ।

लक्ष्यअनुसार नभए पनि चालु वर्षमा उत्साहजनक आर्थिक विस्तारका लागि कृषि, व्यापार र निर्माण क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । यस वर्ष मनसुन राम्रो भएकाले रेकर्ड कायम गर्ने गरी ५६ लाख १० हजार टन धान उत्पादन भएको थियो । पुनर्निर्माण र नवनिर्माणका काम भइरहेका छन् । जसले आर्थिक गतिविधि विस्तारमा टेवा पुर्‍याएको छ ।

हाम्रो अर्थतन्त्रको संरचना हेर्ने हो भने कृषि क्षेत्रबाट कुल गार्हस्थ उत्पादन (समग्र अर्थतन्त्र) मा २७ प्रतिशत, उत्पादन क्षेत्रबाट १५ प्रतिशत र सेवा क्षेत्रबाट ५८ प्रतिशत योगदान रहेको देखिन्छ । अर्थतन्त्रमा उत्पादनमूलक क्षेत्र जसअन्तर्गत उद्योगधन्दा, निर्माण क्षेत्र, विद्युत्, ग्यास, पानीलाई समावेश गरिन्छ, यो क्षेत्रले जम्मा १५ प्रतिशत योगदान दिएको छ । उत्पादनमूलक क्षेत्रलाई बढी रोजगार सिर्जना गर्ने र आयात प्रतिस्थापन गर्ने क्षेत्रका रूपमा चिनिन्छ ।

 अर्थतन्त्रमा यही क्षेत्रको योगदान कम हुँदा हामीले प्राप्त गरिरहेको आर्थिक वृद्धिदर दिगो हुने आधार नै कमजोर रहेको पुष्टि हुन्छ । अर्थतन्त्रको दिगो, स्थायी र समावेशी विकासका लागि उत्पादनमूलक क्षेत्र बलियो हुनुपर्छ । अर्थतन्त्रभित्रका १५ मुख्य औद्योगिक वर्गीकरणमध्ये कृषि र वन क्षेत्रपछि सबैभन्दा बढी योगदान गर्ने थोक तथा खुद्रा व्यापार हो । थोक तथा खुद्रा व्यापारले अर्थतन्त्रमा १४.३७ प्रतिशत योगदान गरेको छ । व्यापार क्षेत्रको अर्थतन्त्रमा योगदान तुलनात्मक रूपमा बढी छ । हाम्रो आर्थिक वृद्धिदर र राजस्वको मुख्य आधार नै आयात भएको छ । विप्रेषणले आयातका लागि लगानी उपलब्ध हुने, आयात र उपभोग बढाएर उच्च आर्थिक वृद्धिदर हासिल गरेर त्यो दिगो हुन सक्दैन ।

त्यसकारण, सरकारको हस्तक्षेप चाहिएको हो । जति पनि आर्थिक वृद्धिदर हासिल भएको छ, त्यसमा सरकारको भूमिका नभएको होइन, कम छ । अनुकूल मनसुनले राम्रो कृषि उत्पादन हुनु र निजी क्षेत्रले निर्बाध काम गर्न पाउँदा ६ प्रतिशतको आर्थिक वृद्धिदर विनाकुनै ठोस मिहिनेत हासिल हुने प्रक्षेपण विश्लेषकले गर्दै आएका छन् । स्वस्थ्य, दिगो, समावेशी र फराकिलो आर्थिक विस्तारका लागि अब सरकारको नेतृत्वदायी भूमिका जरुरी छ । किनभने, हाम्रो अर्थतन्त्रका सबै क्षेत्रमा लामो समयदेखि लगानी बढ्न सकेको छैन ।

 औद्योगिक र उत्पादनमूलक क्षेत्रमा त झन् लगानी कम छ । सरकारले लगानीको वातावरण निर्माण गरी लगानी भित्याउने, ठूला पूर्वाधारका आयोजना तोकिएको समयमा सम्पन्न गर्ने, अर्थतन्त्रमा जोखिम कम हुने गरी बजार सुधार गर्ने काम गर्न जरुरी छ । वास्तवमा अहिलेको आर्थिक वृद्धिदरलाई टिकाइराख्न हामीले उत्पादनमा सुधार गरी निर्यात बढाउने, पर्यटन र जलविद्युत् तथा कृषिका सम्भावनाको उपयोग गर्न जरुरी छ । यी क्षेत्रको सम्भावना उपयोगका लागि पूर्वाधारमा हामीलाई ठूलो लगानी चाहिएको छ ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.