हात्ती हाम्रो साथी

हात्ती हाम्रो साथी

भद्रपुर : भाइबहिनीहरूलाई आज म नेपालको सुदूरपूर्वी जिल्ला झापामा पछिल्लो समय उत्पात मच्चाउँदै आएको जंगली हात्तीबारेमा केही रोचक जानकारी दिनेछु। उनीहरू कहाँ बस्छन् ? त्यति ठूलो शरीर भएका हात्तीले के खाएर बाँचेका छन् भन्ने कुरा आज म यहाँ प्रस्तुत गर्छु।

झापाका जंगलमा जंगली हात्तीको संख्या दिनानुदिन बढ्दो छ। यी हात्ती भारतीय सिमानाबाट नेपाली भूमिमा प्रवेश गर्ने गर्छन्। अहिले नेपालमै भएका जंगली हात्ती पनि लामो समयसम्म झापाका जंगलमा बस्ने हुँदा उनीहरू पनि झापाकै जंगलमा बच्चा जन्माएर बस्न थालेका छन्।

चिडियाखाना वा सौराहातिर विद्यालय बिदाको समय पारेर घुम्न जाने क्रममा हामीले हात्ती देख्ने वा चढ्ने गर्छाैं। झापामा देखिने जंगली हात्ती पनि ठ्याक्कै त्यस्तै छन्। जंगली भन्ने बित्तिकै डरलाग्दो हुन्छ भन्ने सामान्यतया हाम्रो सोचाइ हुन्छ। तर त्यस्तो हुँदैन। ती जंगली हात्तीले पनि जंगलमा उपलब्ध हुने केरा, गिठा, बाँस र कलिलो रूखका हाँगाहरू भाँचेर पनि टुप्पाटुप्पा चपाउने गर्छन्।

झापामा १८ हजार हेक्टर क्षेत्रफलमा वन पैmलिएको छ। पछिल्लो वर्षमा भने झापामा जंगली हात्तीले निकै दुःख दिने गरेका छन्। १० वर्ष जति पहिला झापाको बाहुनडाँगीमा ५०, १०० को झुन्डमा जंगली हात्ती आउने गर्थे। त्यो गाउँका कति मानिस बसाइँसराइ गरेर अन्तै गए। अहिले भने उक्त ठाउँमा विद्युतीय तारबार राखिएकाले उक्त ठाउँमा ठूलो झुन्डमा हात्ती आउँदैनन्। अहिले उक्त ठाउँमा पहिला जस्तो हात्तीले दुःख दिँदैनन्। विद्युतीय तारबारले गर्दा गाउँभित्र उनीहरू पस्न पाउँदैनन् र जंगलमै रहन्छन्।

जंगली हात्ती बस्ने, खाने, हिँड्ने जंगल दिनानुदिन मासिने क्रममा रहेको छ। अहिले प्रायः हात्तीले दुःख दिने स्थानहरू मेचीनगर, बाहुनडाँगी, रतुवा माई, भद्रपुर नगरपालिकाको अधिकांश स्थान, हल्दिबारी गाउँपालिकामा पर्ने जलथल जंगल पनि पहिला निकै घना जंगल थियो। अहिले मासिँदै क्षेत्रफलको हिसाबले पहिले घना जंगल भएको क्षेत्र झापा जिल्ला अहिले जम्मा ११ प्रतिशत मात्र वन जंगल बाँकी छ। जलथल, चारआली, बाहँुनडागीको तेलपानी क्षेत्र, रतुवामाई परियोजना यो सबै गरेर १८ हजार हेक्टर मात्र वनको क्षेत्र छ। झापाको जनसंख्या हेर्ने हो भने आठ लाखभन्दा बढी छ। एकातिर बढ्दो जनघनत्व र अर्कोतिर मासिँदै गएको वनजंगलले पनि हात्तीजस्ता ठूला जनावरहरू खानेकुरा खोज्ने क्रममा मानव बस्तीमा छिर्ने गरेका छन्।

भाइबहिनीहरूलाई लाग्दो हो जंगलमा बस्ने हात्तीले मान्छेलाई कसरी मार्छ भनेर। जंगली हात्तीलाई पनि भोक त लागिहाल्छ। हामी सबैले देखेका छौं हात्तीको शरीर कत्रो हुन्छ भनेर। त्यसले खानेकुरा खान पाइन्छ कि भनेर दिनभरि जंगलमा लुकेर बस्ने हात्ती साँझ परेपछि गाउँतिर पस्छन्। हात्ती गाउँ पस्ने सिजन भनेको विशेषगरी धान र मकै पाक्ने बेला हो। प्रायः हात्तीले खेतबारीमा भएको बास्ना आउने बासमती धान, मकै, गहुँलगायतका बालीनाली खान्छन्। मान्छेका घरहरूमा आएर हात्तीले मान्छेले आफू खान भनेर राखेको चामल, गाईवस्तुलाई खुवाउन राखेको मकैको पीठो, नुन, चोक्करलगायतका खानेकुरा खोज्दै हिँडेका हुन्छन्।

यसरी जंगली हात्ती गाउँमा अन्नबाली खान आउने क्रममा स्थानीय गाउँका मानिसले हात्तीलाई लखेट्ने गर्छन्। हात्ती भगाउने एउटा साइरन हुन्छ। त्यो बजाएर, हात्तीको छेउछाउ करिब दुई सय मिटरवरै आगो बालिदिएर र पटाका पट्काएर हात्तीलाई खेदाउने काम हुन्छ। हात्ती खेदाउने क्रममा हात्तीले मान्छेलाई आक्रमण गर्दै आएको छ।

हात्तीलाई आगोदेखि अलिक रिस उठ्छ भन्ने मान्यता छ। जहाँ आगो बालेर हात्ती खेदाइन्छ त्यहाँ हात्तीले आक्रमण गर्न थाल्छ। उसलाई चलाइएन उसको आसपास गइएन भने उसले केही पनि गर्दैन। तर उसलाई खेदाउन थालियो र उसको नजिक गइयो भने मान्छेलाई आक्रमण गरिहाल्छ। २०६९ सालयता झापा जिल्लामा मात्रै जंगली हात्तीले ३६ जना मान्छे मारिसकेको छ। जंगली हात्ती भने १० वटा मरिसकेको डिभिजन वन कार्यालय झापाका प्रमुख विष्णुप्रसाद घिमिरेले बताए।

पछिल्लो समयमा झापामा जंगली हात्तीहरू पनि मर्ने क्रम बढ्दो छ। हात्तीलाई खानेकुरा धेरै चाहिने हुँदा जंगल मासिने क्रममा खानेकुराको अभाव बढ्दो छ। गाउँमा पस्दा गाउँलेले खेदाउँछन् अनि हात्ती आहार नपुगेर पनि मर्ने गरेको घिमिरेले बताए।

जंगली हात्तीका कारण निम्तिने दुर्घटना र त्यसको जनधनको क्षति पनि अस्वाभाविक हुने गरेको छ। डिभिजन वन कार्यालय झापाको पछिल्लो तथ्यांकअनुसार पाँच वर्षयता करिब दुई करोड ७२ लाख रुपैयाँ हालसम्म जनतालाई क्षतिपूर्ति पनि वितरण गरिसकेको छ।

भाइबहिनीहरू, जंगली हात्तीले दुःख पायो अथवा मान्छेले दुःख पाए भनेर यत्तिकै बस्न भने मिल्दैन। तपाईं हामी सबै मिलेर झापाका जंगली हात्तीलाई व्यवस्थापन गर्न र गराउनका निमित्त नेपाल सरकारलाई घच्घचाउन सक्छौं।

हात्ती हेर्नकै लागि हामी चितवनको सौराहा जाने गर्छौं। झापाका जंगलहरू पनि जंगली हात्ती हेर्ने पर्यटकीय केन्द्र बनाउन सकिन्छ। अहिले झापालीहरू जति गर्दा पनि जंगली हात्ती अन्यत्र जान नचाहेकाले अब यिनै हात्तीलाई राम्रो व्यवस्थापन गरियो भने यिनैबाट पैसा पनि कमाउन सकिन्छ भन्नेतर्फ लागेका छन्।

त्यसको लागि हात्ती कोरिडोर निर्माण गरेर हात्तीलाई गाउँ छिर्न नदिने र जंगलभित्रै खान बस्नको लागि केरा, नरिबललगायतका बिरुवाहरू रोपिदिने गर्नुपर्छ। खानेकुराको अभावमा उनीहरू छट्पटिएर मर्नु नपरोस्।आखिर जंगली जनावरहरूलाई माया गर्नुपर्ने तपाईं हामी सबैको कर्तव्य हो नि।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.