लगनखेल-सातदोबाटो सडकमा डोजर चल्यो : १४ घर भत्किए
ललितपुर : सातदोबाटो लगनखेल सडकमा डोजर चलेको छ। मुआब्जा लिएर पनि संरचना नहटाएपछि ललितपुर महानगरपालिकाले आइतबार डोजर चलाएको हो।
महानगरपालिकाको १५ नम्बर वडाले १४ घरमा डोजर चलाएको हो। १४ घरधनीले मुआब्जा लिएर पनि संरचना नहटाएपछि डोजर लगाउन बाध्य भएको वडा अध्यक्ष सुदर्शन मिश्रले जानकारी दिए।
‘चार–पाँच वर्ष पहिला नै मुआब्जा लिए’, मिश्रले भने, ‘संरचना नहटाएपछि सडक निर्माणको काममा बाधा पुगेको छ।’ डोजर लागेका सबै घर मापदण्ड विपरित निर्माण भएको उनको भनाइ छ।
अध्यक्ष मिश्रका अनुसार अन्य १० घरमा डोजर लगाउन अझै बाँकी छ। उनीहरुले मुआब्जा नलिएकाले भत्काउन समस्या भएको उनले बताए।
उक्त सडकखण्ड विस्तारमा श्याम कारञ्जित र राजकुमार श्रेष्ठको सम्पूर्ण जग्गा सडकमा पर्छ। सातदोबाटो लगनखेलमा २२ मिटरको सडक निर्माणधिन रहेको छ।