नौ दिनपछि रिनाको दाहसंस्कार, कनेक्सन खोतल्दै प्रहरी

नौ  दिनपछि रिनाको दाहसंस्कार,  कनेक्सन खोतल्दै प्रहरी

विराटनगर : मोरङको पथरीशनिश्चरे नगरपालिका–१ मा मृत फेला परेकी रिना बस्नेतको ९ दिनपछि आफन्तले दाहसंस्कार गरेका छन्। घटनाको अनुसन्धानलाई प्रभावकारी बनाएर जतिसक्दो चाँडो सत्यतथ्य पत्ता लगाउने सहमतिपछि आइतबार आफन्तले सुनसरीको चतरा घाटमा शवको गरेका दाहसंस्कार हुन्।

वीरबहादुर बस्नेतको घरमा १४ वर्षीय छोरासहित डेरा बस्दै आएकी रिना यही बैशाख ७ गते शनिबार बिहान निर्वस्त्र अवस्थामा मृत फेला परेकी थिइन्। बलात्कारपछि हत्या गरिएको र प्रहरीले घटनामा संलग्नलाई पक्राउ गर्न नसकेको भन्दै स्थानीय बासिन्दा आन्दोलित बनेका थिए। सोही आन्दोलनका कारण सोमबार र मंगलबार पथरी बजार नै तनावग्रस्त बनेको थियो। 

आन्दोलनकारीलाई नियन्त्रणमा लिनको लागि प्रहरीले २९ सेल अश्रुग्यास प्रहार समेत गरेको थियो। सोही प्रहारमा ५ जना घाइते भएका थिए। हत्यामा संलग्नलाई कारवाही हुनुपर्ने, शान्ति सुरक्षा कायम गर्नुपर्ने, महिला हिंसा बन्द गर्नुपर्ने लगायतका माग राखेर आन्दोलनमा उत्रिएका आन्दोलनकारीले शनिबार इलाका प्रहरी कार्यालय पथरी अगाडि धर्ना समेत दिएका थिए। 

प्रहरीले डेरा बसेको घरको तीन तलामाथिबाट खसेर रिनाको मृत्यु भएको बताउँदै आएको छ। तर, उनको हत्या नै भएको भन्दै आन्दोलनमा उत्रिएका परिवारका सदस्य तथा आफन्तले शवको अत्येष्टी गर्न मानेका थिएनन्। 

शवको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पोस्टमार्टम गरिएको थियो। पोस्टमार्टम रिपोर्टले पनि छतीभित्र तथा टाउकोमा लागेको गम्भीर चोटका कारण उनको मृत्यु भएको देखाएको र हत्या भएको प्रमाण अहिलेसम्म फेला नपरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले बताए। उनका अनुसार कुनै हतियार प्रहार नगरिएको र बलात्कारपछि हत्या गरेको कुरा पोस्टमार्टम रिपोर्टले देखाउँदैन। 

घटनाको अनुसन्धानका लागि डीएसपी नवराज ढुंगानाको नेत्रृत्वमा इन्सपेक्टर सुवास भट्राईसहितको विशेष टोली खटिएको छ। अहिलेसम्म प्रहरीले घटनाका विषयमा २५ जनासँग सोधपुछ गरिसकेको छ। रिनाको सम्पर्क र कनेक्सन व्यापारी एवं समाजका प्रतिष्ठित व्यक्तिहरुसँग रहेको देखिएको छ। त्यही सम्पर्कका आधारमा थप अनुसन्धान गर्ने र कनेक्सन खोतल्ने काम भइरहेको डीएसपी श्रेष्ठको भनाइ छ। 

रिनासँग सम्पर्कमा रहेका मोरङ सुन्दरहरैंचाका व्यापारी कमल नेपाललाई यसअघि नै पक्राउ परिसकेका छन्। उनलाई प्रहरीले अभद्र व्यवहारको मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान अघि बढाएको छ। 

‘घटनाका विषयलाई लिएर अनुसन्धानको दायरामा ल्याउनु पर्ने आवश्यक ठानिएकाहरुमाथि सोधपुछ भइरहेको छ,’डीएसपी श्रेष्ठले भने,‘यस घटनालाई लिएर कमल नेपाल र नेत्र घिमिरेलाई अलि बढी शंकाको घेरामा राखेर अनुसन्धान गर्ने काम भइरहेको छ।’ 

घटनासँग जोडेर गर्नु पर्ने अनुसन्धानमा प्रहरीले कुनै कसर बाँकी नराखेको उनको भनाइ छ। 
घटनापछि वैदेशिक रोजगारीका क्रममा दुबईमा रहेका रिनाका श्रीमान सन्तोश बस्नेत पथरी आइसकेका छन्। रिनाले पथरीमा कस्मेटिक पसल सञ्चालन समेत गरेकी थिइन्। 

बैशाख ६ गते शुक्रबार साँझ छिमेकीको नानीको जन्मदिन मनाउन गएको र त्यसपछि उनी पथरीमै आयोजित कन्सर्ट हेर्न छोरालाई साथमै लिएर गएको खुलेको छ। घरमा राति फर्किएर छोरा सुतेपछि घटना भएको प्रहरीको भनाइ छ। 

‘कतिपयले आन्दोलनका नाममा प्रहरीले गरेका विगतका कारवाहीको रिस पोख्ने अवसरका रुपमा सदुपयोग गर्दै यस घटनालाई उत्तेजित बनाएर हिंसा भड्काउने प्रयास भयो,’ रिनाका एक आफन्तले भने,‘हामीले यो कुरा बुझेपछि शवको अन्त्येष्टी गर्दै प्रहरीलाई घटना अनुसन्धानमा थप सहयोग गर्ने निर्णय ग¥यौं।’

रिनाका जेठाजु दुर्गाबहादुर बस्नेतले घटनापछि अहिलेसम्म प्रहरीले गरेको अनुसन्धानबाट आफन्त र परिवारका सदस्य सन्तुष्ट रहेको बताए। उनले केही दिन भित्रमै प्रहरीले घटनाको सत्यतथ्य पत्ता लगाउने विश्वास बढेर गएको बताए। रिनाको अन्त्येष्टिमा संघर्ष समितिमा आवद्ध भएकाहरु भने गएनन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.