२४ घण्टापछि फ्रान्सेली पर्यटकको उद्धार
पोखरा : पोखराको भुम्दीको वनमा हराएका एक पर्यटकको २४ घण्टापछि सकुशल उद्धार भएको छ। शुक्रबार पोखराको भुम्दीबाट पञ्चासे जान पदयात्रामा हिँडेका फ्रान्सका २७ वर्षीय लास्जीओ थिबल्ट जंगलमा हराएका थिए।
आफू हराएको उनले फोनबाट फ्रान्समा रहेकी आमालाई जानकारी दिएका थिए। फोन आफ भएपछि उनी सम्पर्कबिहीन भएका थिए। आमाले फ्रान्सबाट नेपाल प्रहरीलाई सम्पर्क गरेर जानकारी गराएपछि उनको उद्धार भएको हो।
वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी कोमल शाह र पर्यटक प्रहरी कार्यालय पोखराका प्रमुख भगवनी तिमिल्सिनाको संयुक्त टोलीले खोजी सुरु गरेको थियो।
२४ घण्टापछि मात्र उनी फेला पारेको डिएसपी कोमल शाहले जानकारी दिए। हराएका लास्जीयोको खोजीमा डिएसपी शाहसहित १५ प्रहरी खटिएका थिए।
विना गाईड जंगलको बाटो पदयात्रा गर्दा उनी बेपत्ता भएको पर्यटन प्रहरी कार्यालय पोखराका प्रहरी साहायक निरीक्षक विधानसिंह क्षेत्रीले बताए।
पर्यटकलाई पदयात्रामा जाँदा अनिर्वाय रुपमा गाइड लिएर जान सचेत गराउनु पर्ने उनले सुनाए। हराएर भेटिएका फ्रान्सका पर्यटक लाजीयोले बिना गाईड एक्लै जंगलको यात्रा गर्दा आफू हराउन पुगेको सुनाए। जिपीएसबाट बाटो खोज्दै बिहान ९ बजे भुम्दीबाट पञ्चासेका लागि बनको बाटो हिँडेको उनले सुनाए।
जंगलमा हिड्दै जाँदा हराएपछि नेपाल प्रहरीलाई सम्पर्क गर्न फोन नम्बर थाहा नभएपछि फ्रान्समा आमालाई फोन गरेको उनको भनाइ छ।
रातको समयमा जंगलको बीचमा दाउरा बालेर बसेको र हराएपछि जंगलमा यताउता भौतारिदा हात खुट्टा, र शरीर जंगलको काँडाले लछारेको उनले बताए।
भारत घुम्न आउने क्रमममा हिमालयको देश नेपालका बारेमा सुनेपछि यहाँ आएको उनले सुनाए। नेपाल यात्राको क्रममा भेटिएका विदेशी साथीले नेपालमा एक्लै पनि पदायत्रा गर्न सकिने सुझाएपछि बिना गाईड पदयात्रामा निस्कदा आफूले दुःख पाएको उनको भनाइ छ।