बर्खे अधिवेशनका कार्यभार

बर्खे अधिवेशनका कार्यभार

उत्साह र जाँगरविना संघीय संसद्को बर्खे अधिवेशन सुरु भएको छ । सरकारको वार्षिक नीति तथा कार्यक्रम र बजेट पारित अधिवेशनका मुख्य कार्यभार हुन् । तर, संसद्को सिर्जनात्मकता र मौलिकता हराउँदै जाँदा पछिल्ला दिनमा संसद्प्रतिको आकर्षण घट्दै गएको छ । 

बर्खे अधिवेशनको प्रारम्भमै सत्तासीन दल र विपक्षीबीच प्रिबजेट छलफलको विधिबारे किचलो देखिएको छ । प्रिबजेट छलफल सरकारको वार्षिक नीति तथा कार्यक्रम अघि कि पछि भन्नेमा सत्तासीन र विपक्षी दल विभाजित छन् ।

वर्ष दिनको सरकारको नीति, कार्यक्रम र बजेटका प्राथमिकताबारे जनप्रतिनिधिका सुझाव समेट्न प्रिबजेट छलफलको अभ्यास सुरु भएको हो । विकासप्रतिको जनताको अपेक्षा, चाहना र मुद्दा जनताकै प्रतिनिधिमार्फत मुखरित हुन्छन् भन्ने सिद्धान्तमा प्रिबजेट छलफल अडिएको हुन्छ । तर, संसद्मा प्रिबजेट छलफल औपचारिकता पूरा गर्ने कर्मकाण्डी मात्र बनाइँदा यसको औचित्य र आवश्यकतामाथि प्रश्न उठ्न थालेका छन् ।

 जनताका समस्याबारे जति घोक्रो सुकाएर जनप्रतिनिधि बोले पनि मुलुकको ढुकुटी चलाउनेले महत्व नदिँदा प्रिबजेट छलफलको प्रभावकारिता घट्दो छ । जनप्रतिनिधि पनि मुलुकको समग्र विकासको आधुनिक मोडेल, विकासका प्राथमिकता र आवश्यकताभन्दा निर्वाचन क्षेत्रका समस्याबाट माथि उठ्न सकेका छैनन् ।

 अधिवेशनले परम्परा धान्ने र प्रक्रिया पूरा गर्ने औपचारिक छलफलभन्दा मुलुकको आवश्यकता र विकास मोडेलबारे गम्भीर र सार्थक बहस गर्नुपर्ने जरुरी छ । ऐन, कानुन निर्माणभन्दा बजेट निर्माणमा बढी केन्द्रित बर्खे अधिवेशनले समग्र विकासको स्पष्ट मार्गचित्र कोर्न सक्नुपर्छ ।

आधुनिक विकासको मोडेल, विकासका प्राथमिकताबारे संसद्मा प्रभावकारी बहस हुन सके मात्र यसप्रतिको आकर्षण बढ्नेछ । राजनीतिक, आर्थिक र सामाजिक विकासका बहस, छलफल र चासोलाई संसद्मा केन्द्रित गर्नुपर्ने आवश्यकता छ । नेताका निवास र तारे होटेलका छलफललाई जनताका प्रतिनिधिमाझ ल्याउन सके मात्र संसद्को भूमिका र मर्यादा उचो हुन सक्छ । 

यसका लागि संसद्को नेताको हैसियतले सभामुखले सिर्जनात्मक भूमिका र पदीय जिम्मेवारीको बोध गर्न सक्नुपर्छ । संसद् र सांसदमा रौनकता ल्याउने, सिर्जनात्मक र मौलिक बहस गराउने र संसद्लाई जीवन्त बनाउने मुख्य दायित्व सभामुखकै हो । पछिल्ला दिनमा सभामुखको सक्रियता र जागरुकता नदेखिँदा संसद्को सिर्जनात्मकता र मौलिकता ह्रास भएको महसुस गर्न थालिएको छ ।

 सार्वजनिक महत्वको प्रस्ताव, संकल्प प्रस्ताव, ध्यानाकर्षण प्रस्तावदेखि प्रश्नोत्तरजस्ता सिर्जनात्मक र मौलिक बिजनेस क्रमशः ओझेल पर्दै जान थालेका छन् । प्रतिपक्षले पनि मुद्दा उठान गर्न नसक्दा सरकारकै बिजनेसवरिपरि मात्र घुमिरहेको देखिन्छ । संसद्लाई प्रभावकारी बनाउन र सरकारलाई जनताप्रति उत्तरदायी बनाउन प्रतिपक्षको अहम् भूमिका हुन्छ ।

संसद्लाई दलीय वा सरकारको छायामा पारिराख्ने हो भने यसको मौलिकता र सिर्जनात्मक भूमिका जोगिन सक्दैन । सत्तापक्ष केही नबोल्ने र विपक्षी विरोधका लागि मात्र विरोधमा उत्रने हो भने संसदीय बहसको अर्थ छैन । ऐन, कानुन निर्माणदेखि जनताका समस्या र राष्ट्रिय आवश्यकताबारे खुलेर सांसदहरूले छलफल गर्ने, तिनीहरूको सम्बोधन गर्न सरकारलाई बाध्यकारी बनाउने तथा संसद्प्रति सरकारलाई पनि जिम्मेवार र उत्तरदायी बनाउन सक्नुपर्छ ।

‘मिनि’ संसद् मानिने संसदीय समितिमा पनि जोसश र जाँगर मर्दै गएको देखिन्छ । समितिहरू कामकाजी बन्ने र सांसदहरूलाई क्रियाशील र व्यस्त बनाउन सके मात्र संसद्को जीवन्तता जोगिनेछ । अर्कोतर्फ जनप्रतिनिधिका आचरण र व्यवहारमा पनि सुधारको आवश्यकता छ ।

 सुविधा मोहप्रतिको उनीहरूको आकर्षणले जनताको सेवकभन्दा पनि शासकको छाया देखिन थालेको छ । लोकतन्त्र र लोकतान्त्रिक शासन प्रणालीलाई बलियो बनाउन, लोकतान्त्रिक चरित्र, व्यवहार र विकास निर्माणको ढाँचा मजबुत बनाउन र जनताका अधिकार रक्षाका लागि बलियो र प्रभावकारी संसद् आवश्यक छ । त्यसले दलीय व्यवस्थाका मर्यादा पनि जोगाउनेछ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.