आज अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै
काठमाडौं : आज मे १ तारिख १३० औं अन्तराष्ट्रिय श्रमिक दिवस। काठमाडौंसहित देशभर विभिन्न कार्यक्रम गरी मजदुर दिवस मनाइँदै छ। नेपालसहित विश्वका मजदुरले मे १ लाई विषेश पर्वकारुपमा मनाउँदै आएका छन्। श्रमिकको हकअधिकारको सुनिश्चितताका लागि दबाब दिने उद्देश्यले हरेक वर्ष श्रमिक दिवस मनाइँदै आइएको छ।
नेपालमा वि. सं २००७ सालदेखि श्रमिक दिवस मनाउन थालिएको हो। विराटनगरमा २००७ सालमा मजदुर आन्दोलनसँगै श्रमक दिवस मनाउन थालिएको हो। तर २०४६ को राजनीतिक परिवर्तनपछि मात्रै मे १ तारिखमा सार्वजनिक बिदा दिन थालिएको हो।
अखिल नेपाल ट्रेड युनियन महासंघ नेपाल ट्रेड युनियन काँग्रेस, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ, नेपाल लोकतान्त्रिक ट्रेड युनियन महासंघ (स्वतन्त्र)लगायतका मजदुर संगठनले र्यालीलगायतका विविध कार्यक्रम गर्दैछन्।
श्रमिक अधिकारको व्यवस्था संविधानमासमेत समावेश छ। उक्त व्यवस्था कार्यान्वयन गर्न दवाव दिन मे दिवस मनाउन थालिएको हो। मे दिवसलाई लक्षित गरी सरकारले ल्याएको श्रम ऐन, २०७४ र योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयन गर्न सरकार र रोजगारदातालाई दवाव दिन थालिएको ट्रेड यूनियन समन्वय केन्द्र (जेटीयूसीसी) अध्यक्ष विनोद श्रेष्ठले जानकारी दिए। उनले श्रम आयोग गठन गर्नुपर्ने माग गरेका छन्।
सन् १८८६ मा अमेरिकाको सिकागोमा आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम भन्ने नारासहित मजदुर आन्दोलन भएको थियो। उक्त दिनको सम्झनामा नेपालसहित विश्वभर श्रमिक दिवस मनाइन्छ। सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम संगठन एवम् श्रमिक नेताको बैठकले मे १ तारिखका दिन अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउने घोषणा गरेसँगै सन् १९९० देखि विश्वभर यो दिवस मनाइन्छ।
नेपालमा ट्रेड यूनियनहरुको साझा संस्था संयुक्त ट्रेड यूनियन समन्वय केन्द्र (जेटीयूसीसी) को आयोजनामा आज एक बजे काठमाडौंको भृकुटीमण्डपमा दिवस मनाइँदै छ। कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधन गर्दैछन्। कार्यक्रममा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधी, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट लगायत राष्ट्रिय पार्टीका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। कार्यक्रममा हजारौं मजदुर सहभागी हुने दाबी गरिएको छ।