अथक लेखक
भीमदत्त नगरपालिका–२, भगवती टोलको एउटा पुरानो घरको बन्द कोठाभरि थानका थान पुस्तक छन्। सुत्ने खाटमै पुस्तक छरिएका छन्। घरको जहाँ तहीँ पुस्तक नै पुस्तक भेटिन्छन्। अधिकांश पुस्तक कृषिसँग सम्बन्धित छन्। झट्ट हेर्दा कुनै पुस्तकालय वा अध्ययन केन्द्रझैं लाग्छ। नियमित रूपमा लेखन कार्यमा तल्लीन भेटिन्छन्, नरबहादुर साउद।
अशक्त शारीरिक अवस्थाका बीच पनि सशक्त लेखनी साउदको विशेषता हो। बस्न उनलाई ह्विल चियर चाहिन्छ। ल्यापटप पनि ह्विल चियरमै बसेर चलाउँछन्। यसरी नै एक दशकको अथक मेहनत र प्रयासपछि ‘नेपालका बालीनाली र तिनको दिगो खेती’ नामक पुस्तक लेखेर साउदले २०६६ सालको मदन पुरस्कार जिते र चर्चामा आए। ‘पुस्तकमा नेपालमा गरिने हरेक खालको बालीनालीको इतिहास समेटिएको छ’, उनले भने, ‘कृषिमा उल्लेख्य सुधार गर्न सके मुलुककै अर्थतन्त्र मजबुत हुने देखिन्छ।’
उनी देशका हरेक कृषकलाई कृषि पण्डित बनाउनुपर्ने धारणा राख्छन्। ‘सबैलाई कृषिसम्बन्धी अनिवार्य जानकारी दिने खालको कार्यक्रम देशमा लागू हुन सके कृषि क्रान्ति हुने थियो’, उनको सुझाव छ, ‘शिक्षालाई अनिवार्य भनिएझैं हरेक नागरिकलाई कृषि अनिवार्य गर्न सके त्यसले अर्थतन्त्रमा फड्को मार्छ।’ कृषि नै अर्थतन्त्र मजबुत पार्ने प्रमुख आधार भएको उनको ठम्याइ छ।
बैतडी जिल्लाको साविकको रिम गाविसको बन्डामा २०१९ फागुन ४ गते आमा धर्मादेवी र बुवा धनबहादुर साउदका पहिलो सन्तानका रूपमा उनको जन्म भएको थियो। उनले एसएलसीसम्मको अध्ययन गाउँकै विद्यालयमा पूरा गरे। चितवनको रामपुरस्थित कृषि विज्ञान क्याम्पसबाट आईएस्सी उत्तीर्ण गरेपछि उनी सरकारी छात्रवृत्तिमा कृषि विज्ञानबाट स्नातक गर्न भारतको हिमाञ्चल प्रदेश पुगे।
त्यहाँदेखि उनले स्नातक उत्तीर्ण गरे। त्यसपछि अध्ययन सकेर खुमलटारस्थित नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)मा एक वर्ष काम गरे। २०४८ सालमा उनको सरुवा दुग्ध विकास संस्थानमा भयो। जागिरे दौरानमै सुर्खेतमा आयोजनाको एक कार्यक्रममा सहभागी हुन उनी बुटवलदेखि सुर्खेत हिँडे। तर रातिको समयमा उनी सवार गाडी बाँकेको कसुममा दुर्घटनामा पर्यो। उनको शरीरको तल्लो भागमा गम्भीर चोट लाग्यो। उठ्नै नसक्ने भए।
चोट लगत्तै उनलाई काठमाडौंको वीर अस्पताल लगियो। त्यहाँ उपचार सम्भव भएन। भारतको नयाँ दिल्ली लगियो। त्यहाँ ६ महिनासम्म उपचार गराउँदा पनि उठ्न नसक्ने भएपछि उनको जीवन ह्विल चियरमा बिताउनुपर्ने भयो।
जीवनको ऊर्जावान् समय ह्विल चियरमा बिताउन थालेको पनि २८ वर्ष बितिसकेको छ। त्यही ह्विल चियरमा बसेरै उनले देशका लागि केही गर्नुपर्छ भनेर लेख्न थाले। ‘मैले जीवनमा यत्रो ठूलो विपत्ति आइपर्ला भन्ने सोचेकै पनि थिइनँ’, उनले भने, ‘कृषि विज्ञान अध्ययन गर्दादेखि नै कृषिमा केही गर्छु र पुस्तक लेख्छु भन्ने योजना बुनेकै थिएँ।’ दुर्घटनामा परेपछि करिब एक वर्ष उपचारमै बित्यो। त्यसपछि उनको घरपरिवार नै अस्तव्यस्त बन्न पुग्यो। सबै दुःखकष्ट एकै पटक आए। आत्मबल बढाउँदै आफूले पुस्तक लेख्न सुरु गरेको उनी बताउँछन्।
शारीरिक रूपले अशक्त भएपछि ह्विल चियरको जीवन सुरु गरेका साउदलाई हौसला दिने मानिससमेत कोही भएन। दुर्घटना लगत्तै जीवनसाथीले नै छोडेर गइन्। उनलाई झनै कष्ट भयो। बुवाआमाको सहारामा उनी बाँचिरहेका छन्। अहिले त बुवाआमालाई पनि बुढ्यौली लागिसक्यो। ह्विल चेयरको जीवन जिउनुपर्दा सुरुआतमा केही असहज ठानेका नरबहादुरले बिस्तारै पुस्तक लेख्ने अठोट गरे।
‘मैले सरकारी छात्रवृत्ति पाएर अध्ययन गरेँ। ऊर्जावान् समय देशका लागि दिने ठानेको थिएँ तर त्यसो हुन सकेन’, भन्छन्, ‘आफूले अध्ययन गरेको विषयलाई पुस्तकका माध्यमबाट बाहिर ल्याएको हुँ।’ उनको पुस्तक साझा प्रकाशनले प्रकाशित गरेको हो। उसैले मदन पुरस्कारमा सिफारिस पनि गर्यो। पुरस्कृत पनि भए। उनको लेखन रोकिएको छैन। अहिले पनि दैनिकी, लेख रचना र विभिन्न खोज अनुसन्धान लेखनमा नै समय बितिरहेको छ।
उनले दोस्रो पुस्तक ‘च्याउखेती’ समेत प्रकाशनमा ल्याइसकेका छन्। अझै केही पाण्डुलिपिमा काम भइरहेको छ। उनले ‘हाम्रो खेती’ (प्राथमिक तहका विद्यार्थीलाई केन्द्रित गरेर लेखिएको पुस्तक) समेत प्रकाशित गरिसकेका छन्। यो पुस्तक सुदूरपश्चिमका पहाडी जिल्लाका धेरैजसो विद्यालयको पाठ्यक्रममा समेत समावेश गरिएको उनी बताउँछन्।
‘सरकारले नेपाली किसानलाई खेती गर्ने प्रविधिका बारेमा ज्ञान दिनु जरुरी छ, साथै प्रविधिअनुसार अघि बढाउन सक्नुपर्छ’, उनले भने, ‘यसो गर्न सकिए हरेक किसानको दैनिकी फेरिने थियो।’ साउद अत्यावश्यक कामले घरबाहिर जानुपर्दा बाहेकको अधिकांश समय खोज, अनुसन्धान र लेखनमै बिताउने गर्छन्। बजार जाँदा अपांगमैत्री स्कुटर प्रयोग गर्छन्।
इन्टरनेटका माध्यमबाट समेत आधुनिक कृषि प्रणाली कस्तो बनाउन सकिन्छ भन्नेतर्फ उनी अध्ययन गर्नमै व्यस्त छन्। बहिनी, भाइको छोरा र बूढा भइसकेका आमाबुवाको हेरचाहमा जीवन बिताइरहेका साउदलाई अझै कृषिमा धेरै खोज अनुसन्धान गर्ने इच्छा छ। शारीरिक रूपमा अशक्त भए पनि आफूले अझै कृषिका लागि केही गर्न सक्ने उनी बताउँछन्। राज्यसँग साउदको केही गुनासो छ, ‘मैले राज्यबाट के माग्नु छ र ? राज्यले मेरो सीप दक्षता लिन सक्नुपर्ने हो।’ उनी निरन्तर कृषिको खोज अनुसन्धानमा लाग्ने बताउँछन्।
हृदयाघातबाट भाइको निधन हुनु, जीवनको उत्तराद्र्धमा रहेकी आमा बिरामी पर्नु र आफू शारीरिक रूपले अशक्त हुँदा पनि साउद रत्तिभर पीडा देखाउँदैनन्। यी सबै दुःखकष्ट सहँदै निरन्तर लेखन यात्रामा अघि बढिरहेका छन् उनी। अहिले उनी तरकारी खेतीबारे अध्ययन गरिरहेका छन्। तरकारी खेतीको अवस्था, तरिकाका बारेमा नियमित लेख्ने काममा साउद व्यस्त छन्।
‘युवा पुस्ता कृषि पेसामा लाग्न खोजिरहेको छैन, युवालाई कृषिमा आकर्षित गर्न सक्नुपर्छ’, उनले भने, ‘कृषिलाई अनिवार्य विषयका रूपमा समावेश गरेर लग्न सके त्यसले नतिजा राम्रो ल्याउने थियो।’ शारीरिक रूपले अशक्त भए पनि मानिसले केही गर्न सक्छ, समाज र राष्ट्र बदल्न सक्छ भन्ने उदाहरण बनेका छन्— नरबहादुर।
उनले नेपाल संस्कृत विश्वविद्यालयको महेन्द्रनगरस्थित आंगिक क्याम्पसमा भर्ना भएर संस्कृत शिक्षा अध्ययन गरिरहेका छन्। ‘संस्कृत भाषा अध्ययन गर्नु जरुरी छ, यो समाजका लागि समेत आवश्यक छ’, उनले भने, ‘मानिसलाई आफ्नो संस्कृति जर्गेना गर्न र नैतिकवान् बनाउन यसबाट मद्दत मिल्छ।’