प्रोमिशाको प्रमिस
अधिकांश विद्यालयहरूमा बालिकाका लागि छुट्टै शौचालयको व्यवस्था छैन। महिनावारी हुँदा समस्या बुझिदिने शिक्षक समूह छैन। छात्राहरूले महिनावारी हुँदा महिनाको चार दिन विद्यालय नै छाड्नुपर्ने बाध्यता छ।
प्रोमिशा मिश्रा पेसाले कम्प्युटर इन्जिनियर हुन्। उनी नेपाल विद्युत् प्राधिकरण केन्द्रीय कार्यालय काठमाडौंमा सातौं तहमा कार्यरत छिन्। तर, उनको पेसाभन्दा पनि उनले चलाएको अभियानले उनको पहिचान फेरेको छ। प्रोमिशा अहिले महिनावारी स्वच्छता अभियान चलाउन व्यस्त छिन्। उनले सञ्चालन गरेको ‘प्याड बैंक’ नामक अभियानले उनलाई लोकप्रिय बनाउँदै गएको छ।
उमेर २८ भए पनि प्रोमिशा मि श्रालाई लाग्छ, जीवनमा २८ सय कुरा सिकियो होला। तर, २८ सय काम ? जीवन भोगाइका सकारात्मक अनुभवलाई व्यवहारमा उतार्दै जाँदा उनी अहिले उदाहरणीय पात्र बन्न पुगेकी छिन्।
प्रोमिशा मि श्राको घर महोत्तरीको जलेश्वर नगरपालिका—१२ मा हो। उनले जनकपुरबाट प्राथमिक तहसम्मको शिक्षा आर्जन गरिन्। पारिवारिक अवस्था खासै राम्रो नहुँदा उनले विभिन्न विद्यालयहरूमा एकदुई वर्ष गरी पढ्नु पर्र्यो। तर, प्रोमिशा सानैदेखि पढ्नमा अब्बल थिइन्। नौ वर्षको उमेरमा बुवा राकेशकुमार मि श्राको दुर्घटनामा निधन भएपछि प्रोमिशाको परिवारलाई अझ बढी अभाव र समस्याले ग्रस्त पार्यो। तर, आमा सुनीति मि श्राले आफ्ना छोराछोरीहरूलाई जसरी पनि पढाएर असल नागरिक बनाउनुपर्छ भन्ने अठोट गरिन्।
छोरीहरूको शिक्षादीक्षामा खासै ध्यान दिइँदैनथ्यो। अझै दिइँदैन पनि। जनकपुरस्थित संकटमोचन माविमा १० कक्षासम्म पढ्दा नै उनले अन्तरीक्ष शास्त्र पढ्ने सपना देखेकी थिइन्। तर, १२ सम्मको पढाइ उत्तीर्ण गरेपछि नेपालमा उनले चाहेको विषय पढ्ने अवस्था देखिनन्।
काठमाडौंस्थित पुल्चोक इन्जिनियरिङ क्याम्पसमा उनी भर्ना भइन्। पढाइको खर्च पनि आफैं जोहो गरिन्। कडा मेहनत गर्दै उनले कम्प्युटर इन्जिनियरिङमा स्नातक उत्तीर्ण गरिन्।
परिवारका सदस्य र उनका नातेदारहरूलाई प्रोमिशाको इन्जिनियरिङमा जाने निर्णय मन परेको थिएन। ‘छोरी भएर बाहिर बाहिर गई काम गर्र्छे’ भन्दै उनीमाथि टीकाटिप्पणी पनि हुन्थ्यो।
तर, उनले आफूमाथि आएका नकारात्मक कुराहरूलाई कहिल्यै महत्त्व दिइनन्। सानै उमेरमा जीवनका निकै ठूला उतारचढावलाई भोगेकी उनले रुढिवादी सोचलाई चुनौती दिँदै आफ्नो कर्ममा तल्लीन भई।
इन्जिनियरिङ गरेपछि केही दिन काठमाडौंकै कलेजहरूमा पढाइन्। पछि केही गैरसरकारी संस्थाहरूको लागि पनि काम गरिन्। तर अन्ततः उनी लोकसेवा आयोगको जाँच पास गरेर नेपाल विद्युत् प्राधिकरणमा जागिरे भइन्।
अब प्रोमिशाको जीवनमा दोस्रो चरण सुरु हुन्छ।
उनले आफ्नो अहिलेसम्मको यात्रामा महिला भएकै कारण सबैभन्दा बढी समस्या र कठिनाइ महिनावारीको बेला भोग्नु परेको निष्कर्ष निकालिन्।
आफूलाई पहिलो पटक महिनावारी हुँदा घरमा समेत कसैलाई भन्न नसकेको स्मरणले प्रोमिशालाई सधैं तर्साउथ्यो। आफू छरछिमेक, गाउँटोलमा आउँदा छोरीहरूलाई अहिले पनि सोही दुःख भोग्नु परेको उनले फेला पारिन्।
परिवारमा महिनावारीबारे खुलेर गफसमेत नहुने अवस्था कसरी अन्त्य गर्ने र यसलाई महिलाको शक्तिको रूपमा कसरी व्याख्या गर्ने भन्ने कुराले प्रोमिशालाई सताउन थाल्यो।
यसै उथलपुथलका बीच उनले महिनावारी स्वच्छता अभियान सञ्चालन गर्ने निधो गरिन्। सर्वप्रथम सामाजिक सञ्जालमार्फत उनले आफ्नो योजना सबैका अगाडि सार्वजनिक गरिन्। महिनावारीको विषयमा खुलेर कुरा राख्दा पहिला त निकै अप्ठ्यारो भयो तर, सामाजिक सञ्जालमा उनको सोचलाई सबैले सकारात्मक रूपमा लिएर सही सुझावहरू दिन थालेपछि ऊर्जा थपियो। अभियानको पहिलो काम सुरु भयो ‘प्याड बैंक’ सञ्चालन गरेर।
महिनावारी हुँदा अपनाउनुपर्ने स्वच्छताका लागि सबैभन्दा आवश्यक वस्तु सेनेटरी प्याड भएको हुनाले प्रोमिशा प्याड जुटाउनतर्फ लागिन्। उनलाई धेरैले सेनेटरी प्याड उपलब्ध गराएर सहयोग गरे। समाजमा महिनावारीको बारेमा खुलेर कुरा गर्न नहुने सोचलाई परिवर्तन गर्न प्रोमिशा मधेसको गाउँगाउँ डुल्न थालिन्।
प्रदेश २ को बारा जिल्लाका विभिन्न विद्यालयहरूमा पुगेर पहिलो पटक महिनावारी स्वच्छताको कुरा गर्न खोज्दा प्रोमिशा र उनको समूहलाई निकै गाह्रो भएको थियो। महिला र बालबालिकाहरूका बीच महिला प्रजनन स्वास्थ्यका विषयमा कुरा सुरु गर्दा अधिकांश महिलाहरू लजाउने र कुरानै गर्न नमान्ने पनि भयो। तर, विस्तारै महिलाहरूले आफ्ना समस्या खुलेर अभियानीहरूसँग राख्न थाले।
महिनावारी स्वच्छताका लागि तालिम दिएर विद्यालयहरूमा प्याड बैंक मार्फत जम्मा गरिएका सेनेटरी प्याडहरू पनि बालिकाहरूलाई उपलब्ध गराइयो।
प्रोमिशाले महोत्तरीको पशुपतिनगरमा चमार बस्तीका साथै विभिन्न विद्यालयहरूमा अभियान चलाइसकेकी छिन्। त्यसैगरी सिरहा र कपिलवस्तुमा पनि उनको समूहले महिनावारीको क्रममा अपनाउनुपर्ने व्यवहारका विषयमा जनचेतना जगाउने काम गरेको छ।
काठमाडौंमा पटक पटक युवायुवतीहरूको बीचमा यस विषयमा छलफल र तालिम सञ्चालन गर्दै आएकी छिन्।
महिनावारी भएको बेला घरपरिवारमा नबोल्नु, महिलाले यसलाई गोप्य राख्न खोज्नु निकै पीडादायी रहेको प्रोमिशाको ठम्याइँ छ। उनी भन्छिन्, ‘महिनावारीको क्रममा महिलाले भोग्नु पर्ने पीडा निकै ठूलो हुन्छ।’ यस्तो बेलामा कस्ता पौष्टिक आहार खानुपर्छ, कति आराम गर्नुपर्छ, सरसफाइमा कसरी ध्यान दिने आदि कुरा हाम्रो समाजमा अधिकांश महिलाहरूले बुझ्न पाएका छैनन्। महिनावारीलाई लाज र घृणाको दृष्टिकोणले हेर्ने सामाजिक परिवेशले गर्दा महिलाहरूको भविष्यसँग नै खेलवाड भइरहेको प्रोमिशाको ठम्याइँ छ।
अधिकांश विद्यालयहरूमा बालिकाका लागि छुट्टै शौचालयको व्यवस्था छैन। उनीहरूका लागि सेनेटरी प्याड उपलब्ध छैन। विद्यालयमा महिनावारी हुँदा उनको समस्या बुझिदिने शिक्षक समूह छैन। यस्तोमा अधिकांश छात्राहरूले महिनावारी भएको महिनाको चार दिन विद्यालय नै छाड्नुपर्ने बाध्यता छ।
महिलालाई प्रकृतिले नै उपलब्ध गराएको यो विशेष क्षमतालाई लाज र घृणाको नाम दिएर विभेद गर्ने समाजमा महिनावारी स्वच्छताका विषयमा जनचेतना फैलाउनु निकै आवश्यक रहेको प्रोमिशाको भनाइ छ।
यसै कारणले गर्दा उनी यस अभियानमा निरन्तर लागेकी छिन्। एक छोरी स्वस्थ्य भइन्् भने हाम्रो भविष्य स्वस्थ्य हुन सक्छ त्यसैले महिनावारी स्वच्छता अनिवार्य रहेको प्रोमिशाको धारणा छ।
समाजमा पुरुषहरूले पनि महिनावारी स्वच्छताका बारेमा अवगत हुनुपर्ने प्रोमिशालाई लाग्छ। महिलाको समस्याबारे पुरुषमा जनचेतना नभएसम्म महिलाहरू स्वस्थ्य र सबल हुन नसक्ने हुनाले आफ्नो अभियानमा प्रोमिशा पुरुषहरूलाई पनि जोड्ने प्रयासमा छिन्।
उनको अभियानले समाजमा महिलाहरूलाई हेर्ने दृष्टिकोणलाई परिणत गर्ने लक्ष्य लिएको छ। अभियान अहिले सुरुआत मात्रै रहेको र आफ्नो लक्ष्य सम्पूर्ण नेपालमा महिलाहरूलाई महिनावारी स्वच्छताका विषयमा अवगत गराउनु रहेको प्रोमिशाको अठोट छ।