पूर्वमन्त्री, पूर्ण किसान
विष्टले ड्रागन फ्रुटको व्यावसायिक खेती गरेका छन्। तुलसीपुर उपमहानपालिका–१८, बिजौरी मंरवामा १५ वर्षका लागि ६६ कट्ठा जग्गा भाडामा लिएर बहुआयामिक कृषि फार्म निर्माण गरिरहेका छन्।
दुईदुई पटक मन्त्री भइसकेको व्यक्तिको समाजमा कस्तो रवाफ हुन्छ होला ?
सुरक्षाकर्मी अंगरक्षक, सवारीका लागि गाडीघोडा, ऐसआराम गर्न राज्यका सुविधा र काठमाडौंमा आलिसान महलमा बस्ने बिम्ब हाम्रो मस्तिष्कमा आउँछ। तर पूर्वमन्त्री एवं तत्कालीन माओवादी नेता लोकेन्द्र विष्ट मगरलाई भेट्दा यी सबै मान्यता गलत सावित भइदिन्छन्।
उनी अहिले कुटो, कोदालो, माटो र पानीसँग खेलिरहेका भेटिन्छन्। त्यसैमा रमाइरहेका छन्। आधुनिक प्रविधि प्रयोग गरी कृषिमा व्यावसायिक काम गरिरहेका छन् उनी। केही दिनअघि उनको कृषि फार्ममा जाँदा पनि यही दृश्य देखियो। उनी ड्रागनका नयाँ बिरुवाको व्यवस्थापन गर्दै थिए। घाममा रहेका बिरुवालाई पालमुनि ओसार्दै थिए। ‘घाममा परे मर्छ भनेर शीतल ठाउँमा राख्दै छु। तपाईं यतै बस्दै गर्नुहोस् म एकछिनमा आउँछु है’, गेट प्रवेश गर्दै गर्दा केही परबाट विष्टले कुरा सकिहाले, ‘मुना त बचाउनुपर्यो नि।’
२०७२ सालदेखिको कालो धानको व्यावसायिक खेतीबाट सुरु भएको कृषि कर्म अहिले परिष्कृत हुँदै र बहुआयामिकसम्म पुगेको छ। काभ्रेबाट सुरु भएको कालो धानको उत्पादन काठमाडौं हुँदै दाङसम्म विस्तार गरेका छन्। काभ्रे र काठमाडौंमा श्रमिक र पानीको समस्या भोगेका विष्ट खेतीका लागि दाङ झरेर दाङको बिजौरी थनीगाउँमा आफ्नो कृषि कर्मलाई स्थायित्व गराए।
अहिले विष्टले त्योसँगै ड्रागन फ्रुटको व्यावसायिक खेती सुरु गरेका छन्। अहिले तुलसीपुर उपमहानगरपालिका–१८, बिजौरी मंरवामा ६६ कट्ठा जग्गा १५ वर्षको लागि भाडामा लिएर बहुआयामिक कृषि फार्म निर्माण गरिरहेका छन्। पहिलो चरणमा ड्रागन फ्रुटको व्यावसायिक खेती सुरु गरेका छन्। उनको फार्ममा अहिले बिरुवा रोपिएको छ। यो पूरा भए अन्य व्यवसाय सुरु गर्ने योजना रहेको उनले बताए। ड्रागन फ्रुटलाई रातकी रानी पनि भनिन्छ।
रातमा फुलेर बिहान घाम नलाग्दै ओइलाइसक्ने भएकाले यसलाई रातकी रानी भनिएको पूर्वमन्त्री विष्टले बताए। ‘यो फूल बढीमा १२ घण्टासम्म पुल्छ अनि फल लाग्छ’, ड्रागनको विशेषता सुनाउँदै विष्टले भने, ‘यसको उपयोगिता धेरै छ, धेरैले घरमा सजाउन रोप्छन्। व्यावसायिक खेती भने कमै छ। अहिले नेपालमा चार÷पाँच ठाउँमा व्यावसायिक खेती होला। हामीले व्यावसायिक रूपमा यसको खेती थालेका छांै। स्वास्थ्यका दृष्टिले मात्र नभई वातावरणीय हिसाबले पनि यो खेती उपयुक्त छ।’
देशको युवा शक्तिलाई उत्पादनमूलक क्षेत्रमा लाग्न प्रेरणा मिलोस् भन्ने मुख्य उद्देश्यले आफू कृषि खेतीतर्फ लागेको उनले बताए। ‘हामी बढी परनिर्भर भयौं। अब सबै उत्पादनमूलक क्षेत्रमा लाग्नुपर्छ भनेर म कृषि कर्ममा लागेको हुँ’, उनले भने, ‘नयाँ खेती र प्रविधिमा रुचि भएको हुँदा ड्रागन फ्रुटको खेती थालेको छु। ड्रागनको बारेमा मैले १५ वर्षअघि सुनेको थिएँ। चीन जाँदा खाने अवसर पनि मिल्यो।
त्यसपछि यसप्रति मेरो चासो बढेको हो।’ डा. जगन्नाथ राईले पहिलो पटक नेपालमा भित्र्याएको र त्यहीँबाट ड्रागनका बिरुवा ल्याएर पाँच वर्षअघि दाङमा रोपेर त्यसको परीक्षण गरी व्यावसायिक रूपमा विस्तार गर्न लागेको उनले बताए। लामो अध्ययन र परामर्शपछि चार जना साथीसँग मिलेर नाइट क्विनको खेती सुरु गरेको बिष्टले सुनाए।
ड्रागन फ्रुटको उद्गमस्थल हो, मेक्सिको। पूर्वी एसियाका भियतनाम, मलेसिया, थाइल्यान्ड हुँदै यो फूल केही वर्षयता भारत, चीन र नेपाल आइपुगेको छ। नेपालमा व्यक्तिगत घरमा फूल रोप्न थालेको एक दशकभन्दा बढी भए पनि व्यावसायिक खेती हुन थालेको दुई÷तीन वर्ष मात्रै भयो।
‘यसको बजार राम्रो छ’, विष्टले भने, ‘हामीले उत्पादन गर्ने ड्रागन फ्रुट अग्र्यानिक हुन्छ।’ नयाँ र स्वास्थ्यका लागि फाइदा हुने वस्तुको उत्पादनले किसानलाई घाटा नगराउने उनले बताए। ‘बजार राम्रो भएको देखेरै ड्रागन फ्रुटको व्यावसायिक खेती सुरु गरिएको हो। यो बहुउपयोगी फल हो। ड्रागन खेतीका लागि अहिलेसम्म ४५ प्रतिशत बिरुवा रोपिसकिएको छ’, उनले भने, ‘अब ५५ प्रतिशत बिरुवा रोप्न बाँकी छ।’
दुई वर्षमा उत्पादन सुरु हुने विष्टले जानकारी दिए। उनले ६६ कट्ठामा खेती सुरु गरेका छन्। ठूलो बिरुवाले रोपेको दुई वर्ष, मझौलाले तीन वर्ष र सानो खालको बोटबाट चार वर्षमा उत्पादन सुरु हुने उनको भनाइ छ।
यो फल मध्य जेठदेखि मध्य कात्तिकसम्म १० देखि १२ पटकसम्म फल्छ। यसको आयु २५ वर्षसम्म हुन्छ। एउटा बोटमा सरदर २५ देखि ५० केजीसम्म फल्ने विष्टले बताए।
विष्टले चार जना साथीसँगको सहकार्यमा स्थानीय केशव पौडेल र ऋषिराम पौडेलको ६६ कट्ठा जग्गा १५ वर्षका लागि भाडामा लिएका छन्। अहिलेसम्म उनले ६० लाख रुपैयाँ लगानी गरिसकेका छन्। अहिले आफैंले उत्पादन गरेको बोटबाट कलमी गरेर बिरुवा रोपिरहेको उनले बताए। केही बिरुवा भने विदेशबाट ल्याएको र अझै थप ल्याउने उनले जानकारी दिए।
राजनीति र उत्पादन सम्बन्ध
तत्कालीन माओवादी सशस्त्र युद्धमा सक्रिय रहेका विष्ट मन्त्री हुँदै खेती किसानीमा लागेका हुन्। रुकुममा जन्मिएका विष्ट २०६३ को शान्ति सम्झौतापछि दुई पटक समानुपातिकबाट सांसद बने। झलनाथ खनाल प्रधानमन्त्री हुँदा स्वास्थ्यमन्त्री र डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा पर्यटनमन्त्री भए उनी।
अरूलाई काम गराएर आफू बसीबसी खाने व्यक्ति सबैभन्दा दुःखी हुने उनको भनाइ छ। ‘जो आफ्नो पौरख र पसिनाले खान्छ, त्यो संसारकै खुसी मान्छे हो’, उनी भन्छन्, ‘मैले त्यही सिद्धान्त अपनाएको छु।’ जीवनभर राजनीति गर्नेहरू सबैभन्दा भ्रष्ट हुने तर्क गर्ने विष्टले दीर्घकालीन राजनीति गर्न नहुने बताए। यति मात्रै होइन, श्रम र उत्पादनसँग नजोडिएको राजनीति पनि सफल हँुदैन। ‘मलाई राजनीति त्यति मीठो लागेन। किनभने राजनीति महँगो भयो, जटिल भयो र राजनीति फोहोरी बन्यो’, विष्टले भने, ‘राजनीति भनेको ठेक्कापट्टा, पेसा, व्यवसाय र व्यापार हैन। यो त स्वैच्छिक समाजसेवा हो। जो निःसर्त, निःस्वार्थ हुन्छ। र गरिनुपर्छ।’
आजीवन राजनीति गर्न खोज्नु नै भ्रष्टाचारको मूल जरो भएको उनको बुझाइ छ। पार्टीमा उत्पादनमूलक र कृषिकर्ममा लागौं भन्दा नेतृत्वले नसुनेको उनको गुनासो छ। ‘त्यसपछि मैले कृषि कर्म सुरु गरेको हुँ’, विष्टले भने, ‘विदेश होइन, नेपालमै केही गर्न सकिन्छ र व्यक्तिले पनि केही गर्न सक्छन् भन्ने देखाउनु मेरो उद्देश्य हो।’