माछा पाल्न खनेको पोखरीमा डुबेर बालकको मृत्यु
विराटनगर : माछा पालन गर्न बनाएको पोखरीमा डुबेर मोरङको धनपालथान गाउँपालिका ४ मा बुधबार दिउँसो ६ वर्षीय बालकको मृत्यु भएको छ। प्रहरीका अनुसार दिउँसो १ बजेदेखि हराइरहेका धनपालथान ४ का राजकुमार पासवानका छोरा सनी पोखरीमा डुबेको अवस्थामा मृत फेला परेका हुन्।
घरबाट बालक हराएपछि परिवारका सदस्यले खोजी थालेका थिए। जीवन विकास नामक संस्थाले पोखरी बनाएको हो। बालकको मृत्यु भएपछि स्थानीय बासिन्दाले पोखरी बनाउने संस्थाले लापरबाही गरेको आरोप लगाएका छन्।
माछा पाल्नलाई गहिरो पोखरी बनाए पनि त्यसलाई बारबेर नगरिएका कारण घटना भएको स्थानीयको भनाइ छ। बालकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल रंगेली लगिएको छ।