राष्ट्रपतिको चीन दौडाहालाई नजिकबाट नियाल्दा
बेइजिङ : राष्ट्रपति विद्यादेवी भण्डारी उत्तरी छिमेकी चीनको नौ दिने राजकीय भ्रमण सम्पन्न गरी बुधबार स्वदेश फर्किएकी छन्। चिनियाँ समकक्षी सी चिनफिङको निमन्त्रणामा भएको भ्रमण राष्ट्रपति भण्डारी बुधबार ल्हासाबाट काठमाडौं आएसँगै सकिएको हो।
बिहीबार नेपाल फर्कने निर्धारित तालिका रहे पनि भण्डारी हाई अल्टिच्युटको समस्या देखिएपछि बुधबार स्वदेश फर्केको भ्रमण दलका सदस्यले बताए।
राष्ट्रपतिलाई बिहान नेपाल फर्कने क्रममा ल्हासाको गोङगर विमानस्थलमा तिब्बत स्वशासित क्षेत्रका कार्यकारी उपाध्यक्ष चियाङ जीले बिदाइ गरेका थिए। बुधबार सात सदस्य फिर्ता भए पनि अन्य सदस्य ल्हासामा छन्। ‘७ जना फर्कनुभएको हो। हामी ३४/३५ जना यही नै छौं’, राष्ट्रपतिका सहयोगी जीवछ साहले भने, ‘राष्ट्रपतिलाई हाई अल्टिच्युट भएका कारण फर्कनुभएको हो। धपेडीका कारण राष्ट्रपतिलाई असजिलो महसुस भएकाले फर्कनुभयो।’
बेइजिङको समुद्र सतहदेखिको उचाइ औसत ४४ मिटर रहेको छ भने ल्हासाको ३,६५६ मिटर रहेको छ। यो भिन्नताले धेरैलाई गाह्रो पर्छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी ओली, सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतले राष्ट्रपतिलाई स्वागत गरे। विमानस्थलको अति विशिष्ट कक्षमा राष्ट्रपतिलाई नेपाली सेनाले सलामीसहित सम्मान दिएको थियो।
बढी व्यस्त हुँदा थकान
राष्ट्रपति भण्डारीको नौ दिने व्यस्त भ्रमण नियाल्दा साँच्चिकै थकानले थिचेको महसुस गर्न सकिन्छ। काठमाडौंबाट सियान हुँदै राष्ट्रपतिको बेइजिङ आगमन भएको हो। सियानमा करिब दुई दिनको बसाइमा भेटवार्तासँगै विभिन्न ऐतिहासिक स्थलको घुमघाममा राष्ट्रपतिको समय बितेको थियो।
राष्ट्रपति वैशाख १२ गते साँझ बेइजिङ ओर्लंदा पानी परिहरेको थियो। पानीका कारण न्यानो बनिसकेको यहाँको मौसम चिसिन पुगेको थियो। २९ र ३० को अधिकतम तापक्रम १५ डिग्री सेल्सियसमा झरेको थियो। सियान तथा बेइजिङको दुई भिन्न मौसम छ। त्यहाँ काठमाडौंको भन्दा फरक मौसम छ।
बेइजिङ आएदेखि नै राष्ट्रपतिको व्यस्तता बढेको थियो। बिहान चिनियाँ राष्ट्राध्यक्षले समुद्घाटन गर्ने ३७ देशका राष्ट्रप्रमुख र सरकारप्रमुख सम्मिलित बीआरआई सम्मेलनमा सहभागिता भयो। सोही दिन चिनियाँ राष्ट्राध्यक्षद्वारा आयोजित रात्रिभोजमा सरिक हुनुका साथै वैशाख १४ गते बिहानैदेखि विभिन्न भेटघाटमा राष्ट्रपति सरिक हुनुपरेको थियो।
चिनियाँ राष्ट्राध्यक्ष सीले बीआरआई सम्मेलनअन्तर्गत गोलमेच सम्मेलन आयोजना गरेका थिए। बिहान १० बजेदेखि स्वागत समारोहसहित ग्रुप फोटो सेसन, दिवाभोज कार्यक्रम, गोलमेच सम्मेलनको तेस्रो सत्रलाई दिउँसो ३ बजे राष्ट्रपतिबाट सम्बोधन भएको थियो। यो क्रम साँझ ६ बजेसम्म चलेको थियो। त्यसलगत्तै चीनका लागि नेपाली राजदूतले आयोजना गरेको रात्रिभोजमा सहभागिता रह्यो।
दूतावास र गोलमेच सम्मेलन आयोजनस्थलको दुरी लामो छ। बेइजिङको केन्द्र भागदेखि आयोजनस्थलसम्मको दुरी करिब ७५ किलोमिटर छ। दूतावासमा राष्ट्रपतिबाट सम्बोधन हुने कार्यक्रम थियो। सम्बोधनका लागि उद्घोषण पनि भएको थियो, तर सम्बोधन भएन। चीनमा बसोबास गरिरहेका नेपाली राष्ट्रपतिको सम्बोधनको प्रतीक्षामा थिए।
उक्त दिन पनि दिउँसो पानी परेकाले बेइजिङवासीलाई बाक्लो लुगा लगाउन बाध्य बनाएको थियो। कार्यक्रममा राष्ट्रपतिले स्विटर मगाएर लगाउनुपरेको थियो। आइतबार वैशाख १५ गते बिहानै उद्यमी व्यापारीको मञ्चलाई राष्ट्रपतिबाट सम्बोधन भएको थियो।
दिउँसो नेपाली कलाकार अरनिकोद्वारा निर्मित श्वेत चैत्यको भ्रमण सकी बेइजिङको उत्तरी जिल्ला यानछिङमा राष्ट्रपतिबाट सल्ला रोपण भएको थियो। अन्तर्राष्ट्रिय बागवानी मेला समुद्घाटनअघि नेपाली मण्डपलगायत उक्त क्षेत्रको भ्रमण भएको थियो। चिनियाँ राष्ट्राध्यक्षसँगै बागवानी घुमफिरसँगै उद्घाटन कार्यक्रममा राष्ट्रपतिको उपस्थित थियो।
सोमबार बिहान ऐतिहासिक थ्येनआनमन चोकमा अवस्थित सहिद स्मारक स्तम्भमा माल्यार्पणपछि केही साइडलाइन भेटवार्ता भएको थियो। दिउँसोको चार बजेर तीस मिनेटमा थ्येनआनमन चोकमा राष्ट्रपतिलाई सम्मानमा २१ तोपको सलामी गार्ड अफ अनर दिइएको थियो।
त्यसलगत्तै ग्रेट हल अफ पिपसमा समकक्षी सीसँग द्विपक्षीय भेटवार्ता भएको थियो। त्यसपछि दुवै राष्ट्रध्यक्षको उपस्थितिमा नेपालको उत्तरी सीमाबाट पनि समुद्रसम्म पुग्ने प्रोटोकलसहित सातबुँदे हस्ताक्षर भएको थियो।