मच्छिन्द्रनाथसँगै हिँड्छन् मीननाथ
ललितपुर : सबैभन्दा लामो जात्रा हो मछिन्द्रनाथको जात्रा। पुल्चोकमा धमाधम रथ तयार भइरहेको छ। फलामको एउटै कीला पनि प्रयोग गर्न पाइँदैन। त्यसैले यँँवाल समुदाय बेतडोरीले रथ बाँधिरहेका छन्। सोमबार पांग्रा जोडियो।
मच्छिन्द्रनाथको अनुहारको सिंगारपटार सुरु भइसकेको छ। २२ गतेसम्म सबै काम सकिनुपर्छ। मच्छिन्द्रनाथलाई २२ गते रथमा राखिन्छ। २५ गते रथ तान्न सुरु हुन्छ। मच्छिन्द्रनाथको रथसँग अर्को रथ पनि रहन्छ, मीननाथको। उनी मच्छिन्द्रनाथका बुवा हुन्। उनको रथ अलि सानो र होचो छ। दुवैको रथ सँगसँगै देखिनुको पछाडि रमाइलो किंवदन्ती छ।
०२४ सालदेखि मच्छिन्द्रनाथको रथ बनाउनमा संलग्न रहँदै आएका दिलकुमार बाराहीले यस्तो किंवदन्ती सुनाए। किंवदन्तीअनुसार परापूर्वकालमा १२ वटा रथजात्रा हुन्थे। त्यसका लागि १२ वटै रथ बनाउनु पथ्र्यो। रथ बनाउन जटिल भएपछि सबै जात्रा मच्छिन्द्रनाथमा समावेस गर्ने कुरा उठ्यो। अरु सबैले माने पनि मीननाथले मानेनन्। मीननाथको जात्रा मच्छिन्द्रनाथको भन्दा पुरानो भएकाले उनी समावेश हुन नमानेको कथन छ। त्यसपछि मीननाथ र मच्छिन्द्रनाथको जात्रा सँगसँगै गर्ने परम्परा रह्यो।
मीननाथको जात्रा लिच्छवीकालदेखि चलिआएको मानिन्छ। गुठी संस्थान ललितपुरका प्रमुख शैलेन्द्र पौडेलका अनुसार मच्छिन्द्रनाथको जात्रा राजा नरेन्द्रदेवले चलाएका हुन्। उनको जानकारीमा मच्छिन्द्रनाथको जात्रा चलाउन सरकारले ५० लाख रुपैयाँ बजेट दिँदै आएको छ।
मीननाथको रथ टंगाल टोलमा निर्माण हुन्छ। तर मच्छिन्द्रनाथको लगनखेलस्थित मच्छिन्द्र बहालमा। दुवै रथ निर्माणमा विभिन्न विधि पूरा गर्नुपर्छ। तर मीननाथको रथ बनाउन धेरै समय लाग्दैन। रथको उचाइ करिब ४८ फिट हुन्छ। एकादशीका दिन बिहान रथ बनाउन थालिन्छ। चतुर्दशीमा तला राखेर पूजा गर्नुपर्छ। करीब एक सातामा सबै काम सकिन्छ। तर मच्छिन्द्रनाथको रथ बनाउन वैशाख ७ मा सुरु गरेर २२ गतेसम्म लाग्छ। रथको उचाइ करिब ६० फिट हुने बाराहीको भनाइ छ।
रथ बनिसकेपछि २५ गते मच्छिन्द्रनाथलाई पुल्चोकस्थित ललितपुर महानगरपालिकाको भवन अगाडि पुर्याइन्छ। ‘त्यहाँबाट अगाडि जान मीननाथ लिन आउनैपर्ने हुन्छ’, दिलकुमारले भने, ‘त्यसपछि मीननाथ अघिअघि, मच्छिन्द्र्रनाथ पछिपछि लाग्छन्।’ गाबहालसम्म यसरी नै पुर्याइन्छ। तर गाबहालबाट सुन्धारा जाँदा मीननाथ पछिपछि आउँछन्। परम्परादेखि यो चलन यथावत् छ। फेरि सुन्धारा पुगेपछि लगनखेल जाँदा मीननाथले बाटो छेक्छन्। लगनखेलबाट जाउलाखेल जाँदा भने साइत जुराउनुपर्छ।
यी दुवै जात्राका लागि बाराही समुदायले काठका काम गर्छन्। ‘मीननाथको रथ २ दिनमा तयार हुन्छ’, दिलकुमारले भने, ‘मच्छिन्द्रनाथ तयारी गर्न महिनौं लाग्छ।’ जात्रा सकिएपछि मीननाथलाई जाउलाखेलबाट रथ तान्दै टंगाल पुर्याउनुपर्ने हुन्छ। रथबाट देउता निकाल्न मिल्दैन। तर मच्छिन्द्रनाथको देउता निकालेर बुङमती लगिन्छ।