किन लोकप्रिय भयो एभेन्जर्स
एभेन्जर्स इन्डगेम यो वर्षको सबैभन्दा बढी प्रतीक्षित फिल्म थियो। यो फिल्म प्रदर्शन हुनेबित्तिकै संसारभरका मल्टिप्लेकसमा दर्शकको भीड लागेको छ। फिल्मले पहिलो दिनमै ३५ करोड डलर व्यापार गर्यो भने ६ दिनसम्म आइपुग्दा विश्वभरबाट एक अर्ब २० करोड डलरभन्दा बढीको व्यापार गरिसकेको छ। फिल्ममा थुप्रै सुपर हिरोजलाई एभेन्जर्सको रूपमा देख्न सकिन्छ।
यो फिल्मलाई आजसम्मकै महŒवाकांक्षी र पावरफुल सुपरहिरो फिल्मभन्दा फरक पर्दैन। यसलाई रोमाञ्चक साइन्स फिक्सन फिल्म पनि भन्न सकिन्छ। एमसीयूको २२औं फिल्म एभेन्जर्स इन्डगेम मार्बल कमिक्सका सुपर हिरो मन पराउनेका लागि हेर्नै पर्ने फिल्म हो।
तर यो फिल्म हेर्नुभन्दा पहिले यो फिल्मसँग जोडिएका अघिल्ला कथा थाहा पाउनु आवश्यक छ। अघिल्ला कथा थाहा नभए एभेन्जर्स इन्डगेमबाट दर्शकले मनोरञ्जन लिन सक्दैनन्।
फिल्मको लामो कथा बुझ्न दर्शकले सबैभन्दा पहिले इन्फिनिटी स्टोनको बारेमा थाहा पाउनुपर्ने हुन्छ। किनकि यो फिल्म पूरै इन्फिनिटी स्टोनकै वरिपरि घुमेको छ। यो यस्तो किसिमको पत्थर हो जुन ब्रह्माण्ड निर्माणको समयमा बनेको थियो।
यसमा स्पेस, टाइम, रियालिटी, माइन्ड, सोल र पावर गरी ६ पत्थर पर्छन्। यी पत्थरमा प्रकृतिका ६ आधारभूत शक्ति छ। नामअनुसार नै यी पत्थरमा स्पेस स्टोनले अन्तरिक्षलाई नियन्त्रण गर्न सक्छ भने टाइम स्टोनले समयलाई र अन्य पत्थरमा पनि यही गुण लागू हुन्छ।
यही पत्थरको शक्ति प्रयोग गरेर थेनोसले ब्रह्माण्डका आधा जीवलाई सखाप पारेका थिए। थेनोस टाइटन ग्रहबाट आएका एलियन हुन्। थेनोसलाई २०१८ मा आएको एभेन्जर्स इन्फिनिटी बारमा देख्न सकिन्छ। उनको यो विनाशकारी नीतिका कारण ब्रह्माण्डका थुप्रै ग्रह र त्यहाँ बस्ने जीव तथा मानिसको मृत्यु हुन्छ। थेनोसलाई पत्थरको गलत प्रयोग गर्नबाट रोक्न सुपरहिरो अर्थात् एभेन्चर्सको निर्माण गरिएको हो।
आइरन म्यान, थोर, हल्क, क्याप्टेन अमेरिका, ब्ल्याक विडो, वार मसिन, एन्ट म्यान, क्याप्टेन मार्बलकी क्यारोल ड्यानभर्सजस्ता शक्तिशाली सुपर हिरोलाई एभेन्जर्स इन्डगेममा देख्न सकिन्छ।
यसका अलावा स्पाइडर म्यान, नेबुला, होकेईलगायत ब्ल्याक पान्थरका कलाकारलाई पनि फिल्मले कथामा समाहित गरेको छ। एभेन्जर्स इन्फिनिटी बारमा थेनोसले ६ वटै इन्फिनिटी स्टोन प्राप्त गरेर सुपर हिरोजलाई हराएका हुन्छन्। एभेन्जर्स इन्डगेममा यही फिल्मको कथा अगाडि बढाइएको छ। थेनोसबाट ब्रह्माण्डमा भएको क्षति परिपूर्ति गर्न यो फिल्ममा सुपर हिरोहरू एकजुट हुन्छन्।
फिल्ममा क्वान्टम सिद्धिन्तको प्रयोग गरेर भूतकालमा जाने प्रयास गरिन्छ। फिल्ममा एक्सन, इमोसन र कमेडीले दर्शकलाई भरपूर मनोरञ्जन दिन्छ।
तर यी नै सुपर हिरोलाई हेर्न संसारभरका मानिस किन लालायित छन् त ? फिल्ममा यस्तो के छ जसले दर्शकलाई हलसम्म डोर्याउँछ ?
सुपर हिरोज फिल्मको लोकप्रियतामा धेरै मनोवैज्ञानिक कारण छन्। विशेषज्ञले फिल्म लोकप्रिय हुनुको मुख्य कारण मानिसभित्र हराउँदै गएको मानवता भएको बताएका छन्।
एक सामान्य मानिसले एभेन्जर्स इन्डगेम हेर्दा महसुस गर्ने कुरा पनि यही नै हो। फिल्म हेर्दा हामी हाम्रा दैनिक जीवनका तमाम समस्या भुल्छौं। एक रोमाञ्चक यात्रामा भएको महसुस गर्छौं। फिल्ममा देखाइने सबै सुपर हिरो रोल मोडल हुन्। अधिकांश मानिस आफ्नो जीवनकालमा यस्तै बन्न चाहन्छन्। एक मानव भएको नाताले ऊ असहायको मद्दत गर्न चाहन्छ। सामाजिक प्राणी भएको नाताले ऊ अन्यायविरुद्ध लड्न चाहन्छ। साथसाथै आफूलाई बहादुर र लोकप्रिय व्यक्ति भएको हेर्न चाहन्छ। मान्छेको यही मनोविज्ञानलाई बुझेर एभेन्जर्स इन्डगेम र यसका अघिल्ला सिरिज बनेका हुन्।
फिल्ममा सुपर हिरोले न्याय, निष्ठा, सत्य र शक्तिलाई आत्मसात् गरेका छन्। यी गुण मानवीय र सामाजिक हितका लागि निकै महŒवपूर्ण कुरा हुन्। फिल्ममा प्रत्येक सुपर हिरोको आ–आफ्नै मूल्य मान्यता छन् जुन परिवारप्रतिको समर्पण, समाजप्रतिको उत्तरदायित्व र देशप्रतिको सेवाभावसँग जोडिएको छ। सुपर हिरोमा देखिने यस्ता गुणले दर्शकलाई फिल्मको कथासँग सीधै जोड्छ।
दर्शकलाई अपिल गर्न सक्ने क्षमता भएकाले पनि फिल्म लोकप्रिय बनेको हो। साना केटाकेटीदेखि कुनै पनि उमेरसमूहलाई फिल्मका पात्रले सजिलै प्रभावित गर्न सक्छन्।
फिल्ममा समयसँगै विकास र थुप्रै बदलाव देखाइन्छन्। यसले दर्शकलाई सजिलै आकर्षित गर्छ। फिल्ममा ब्रह्माण्ड, एलियन, नयाँनयाँ प्रविधिका अन्तरिक्ष यान छन्। विज्ञानको सिद्धान्तलाई आत्मसात् गर्दै बनेको यो फिल्ममा समयको परिवर्तनलाई पर्दामा सजिलै देखाइदिएको छ।
२१औं शताब्दीको सुपर हिरोको कथामा महिला पात्रहरू एभेन्जर्सको रूपमा जोडिँदा फिल्म अझै आकर्षित लाग्छ। साथै ब्ल्याक प्यान्थरको कथा यसमा जोडेर फिल्मले समावेशितामा ध्यान दिएको छ। सुपर हिरोजको कथा अब विशुद्ध एक्सनमा मात्र सिमीत रहेन। यहाँ एभेन्जर्सबीच प्रेम र सौहार्दता पनि छ।
फिल्मले स्वाभाविक रूपमा थ्रीडीको माध्यमबाट दर्शकलाई मनोरञ्जन दिन नवीनतम प्रविधिको प्रयोग गरेको छ। अहिलेका सुपर हिरो फिल्ममा हिंसाका घटना देखाइँदैन। एभेन्जर्सहरूले कुनै खराब शक्तिसँग युद्ध गर्दा त्यहाँ रगतको खोला बगेको देखिन्न। उल्टै सुपर हिरोले अरूको ज्यान बचाउन गरेको संघर्र्षलाई बढी प्राथमिकता दिइन्छ। यसले साना बालबालिकाको भावनासँग जोड्ने काम गरेको छ।
यो फिल्म बच्चाहरूका लागि महŒवपूर्ण छ किनकि सानै उमेरमा बच्चाहरू आफूलाई सुपर हिरोको रूपमा देख्ने गर्छन्। बालबालिकाले कमिक्स मन पराउनुको मुख्य कारण काल्पनिक सुपर हिरोसँग आफूलाई जोड्न सक्षम हुनु नै हो।
एभेन्जर्सको हरकत हेर्दा केटाकेटीको खेल जस्तो अवश्य लाग्न सक्छ किनकि यसले अवास्तविक पात्रलाई देखाउँछ। जहाँ टोनी स्टार्क आफूलाई र दुनियाँलाई बचाउन एक एस्तो सुटको निर्माण गर्छन् जसले पछि गएर उनलाई आइरन म्यान बनाउँछ। त्यसैगरी ब्रुस बैनर ‘द हल्क’ गामा विकिरणबाट बनेको आफ्नो अनौठो शरीरलाई विज्ञानको प्रयोग गरेर आफूलाई खतरा मुक्त बनाउँछन्। जुन आजसम्म असभव नै छैन।
रुसो ब्रदर्सद्वारा निर्देशित एभेन्जर्स इन्डगेम एक पटक होइन बारम्बार हेर्न दर्शकलाई बाध्य बनाउन सक्ने फिल्म हो। प्रत्येक सुपर हिरोमा एक अलग प्रेरणाको स्रोत हुन्छ। यी सुपर हिरोहरू कुनै टिमको लिडर बन्न चाहँदैनन् तर संसारलाई बचाउन एक्लै संघर्ष गर्न रुचाउँछन्। सुपर हिरोजको यही विशेषतालाई स्टेन लीले आफ्ना कमिक बुकका सुपर हिरोहरूमा लागू गरेका छन् जुन सिल्भर स्क्रिनमा दमदार रूपमा प्रस्तुत गरिएको छ।
थोर पृथ्वी र उसको भाइ लोकी दुवैको रक्षा गर्न चाहथ्यो। आइरन म्यान न्युयोर्कमा रहेको उनको परिवारलाई सुरक्षित देख्न चाहन्थे। त्यसैगरी क्याप्टेन आफ्नो देशको सेवा गरेर आफ्नो पहिचान फेरि हासिल गर्न चाहन्थे। निक फ्युरी अलगअलग एजेन्डाका लागि सुपर हिरोलाई राम्रो काममा प्रयोग गरेर सरकारलाई विश्वस्त पार्न चाहन्थ्यो।
यी सबै पात्रलाई अलगअलग रूपमा हेर्ने हो भने निर्देशकले एकै समयमा थुप्रै मानवीय भावना समेटेर फिल्म निर्माण गरेको प्रष्टै थाहा हुन्छ। सायद त्यसैले अवास्तविक सुपर हिरो अर्था्त एभेन्जर्सहरू वास्तवमै लोकप्रिय छन्।