यार्सा टिप्ने सिजनसँगै बाटो निर्माण
मुगु : मुगुम कार्मारोङ गाउँपालिकाका नागरिक आफ्नो पालिकाबाट विनियोजित विकास बजेट खर्चिन जुटेका छन्। यार्सा खोज्ने समय नजिकिएसँगै स्थानीय धमाधम बाटो निर्माणमा लागेका हुन्।
मुगुम कार्मारोङ गाउँपालिका–१ मुगु र सोही गाउँपालिकाको–२ डोल्पु गाउँका पाटन क्षेत्रमा पाइने यार्सा खोजी गर्ने समय नजिकिँदै गर्दा नौ वटै वडाका सर्वसाधारण अहिले गाउँपालिका अध्यक्ष रोजगार कार्यक्रमलगायत विकास निर्माणका योजना सम्पन्न गर्न थालेका हुन्।
६६ लाख अनुदानमा नाक्चे लाग्ना सडकखण्डअन्तर्गत पुलुदेखि सेरोगगाडसम्मको एक हजार ६ सय मिटर गोरेटोबाटो वैशाख १६ गतेदेखि नौ वटै वडाका एक हजार तीन सय घरधुरीका सर्वसाधारण यार्सा संकलन जानुभन्दा पहिले निर्माण सम्पन्न गर्न जुटेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकास रिजाल शर्माले जानकारी दिए।
चीनसँग नाका जोडिएको कर्णाली प्रदेशकै सबैभन्दा छोटो दूरी भएको नाक्चे लाग्ना सडकखण्ड निर्माणका लागि संघीय र प्रदेश सरकार दुवैले वास्ता नगरेपछि गाउँपालिकाको रकम हालेर एक हजार ६ सय मिटर गोरेटो बाटो निर्माण गर्न नौ वटै वडाका नागरिकलाई सहभागी गराइएको गाउँपालिका अध्यक्ष छिरिङ क्याप्ने लामाले बताए। स्थानीयको मुख्य आम्दानी भनेकै यार्सा संकलन र बिक्री वितरण हो।
जेठ पहिलो सातादेखि नै सबै नागरिक पाटनमा जाने भएकाले अधिकांश विकासे योजना सम्पन्न गर्न गाउँपालिकाका सबै नागरिकलाई काममा लगाइएको छ। वडामा रहेका योजना पनि सम्झौता गरेर जेठ पहिलो सातासम्म सम्पन्न गर्ने तरखरमा रहेको २ नम्बरका वडाध्यक्ष कार्मा तामाङको भनाइ छ।