गोरखा गौरव

गोरखा गौरव

संघर्षका साक्षी ती सुनसान रात छन्, जो बलराम आचार्यको मोटरसाइकलको आवाजले थर्किन्थे। बयल गाडाहरू छन्, जो उनले किनेका धान बोकेर हिँड्थे।


इटहरीमा पूर्वकै पहिलो डिपार्टमेन्ट स्टोर खोल्ने व्यक्ति हुन्— बलराम आचार्य। तर उनलाई सुरुसुरुमा मानिसहरूले भन्थे, ‘तेरो पैसा धेर भएछ, दिमाग खुस्क्यो कि क्या हो ? ’

त्यति बेला आचार्यले मानिसहरूबाट त्यति सम्भावनाका प्रतिक्रिया पाएनन्। धेरैले निरुत्साहित गर्ने प्रयास गरे। तर आचार्य गल्ने मान्छे नै कहाँ थिए र ? भन्छन्, ‘प्रतिकूलताहरूबीच पनि मैले आँट गरेँ।’

हुन पनि त्यो समयमा सपिङ मल तथा डिपार्टमेन्ट स्टोर संस्कृतिमा मानिसहरू अभ्यस्त थिएनन्। राम्रोसँग सजाएर राखिएको पसलमा सामान महँगो होला भनेर निम्न मध्यमवर्गीय समूह जाँदैनथ्यो। प्रायः हाट बजार र किराना पसलमै किनमेल गर्थे।

त्यही सामान्य पसलमा बिक्री हुने चीज वस्तुलाई आचार्यले ६ तलाको अग्लो घरमा डिपार्टमेन्ट स्टोर बनाएर राखे। भीड थामिनसक्नु भयो। त्यो घर इटहरीकै कुनै समयको एक मात्र अग्लो घर थियो। अहिले पूर्वमा धरान, विराटचोक, पथरी, बेलबारी समेतका ठाउँमा स्टोरको शाखा विस्तार गरिसकेका छन्। त्यसबाहेक बेकरी, गाईफार्मलगायतका क्षेत्रमा समेत लगानी विस्तार गरेका छन्।

तर यो सफलताको पछि दिनरातको संघर्षको हात थियो। संघर्षका साक्षी ती सुनसान रातहरू छन्, जो उनको मोटरसाइकलको आवाजले थर्किन्थे। ती बयल गाडाहरू छन्, जो उनले किनेका धान बोकेर हिँड्थे। अनि उनकी श्रीमती छिन्, जो मध्यरातमा श्रीमानसँगै खाना खाने भनेर पर्खेर बसेकी हुन्थिन्।

मोरङको जहदामा बसेर उनले २०४० सालमा व्यापारको सुरु गरेका थिए। त्यहाँ उनको किराना पसल, धान काँटाको पसल थियो। पसलमा बसेको सुरुको दिनव्यापारबाट २१ रुपैयाँ कमाएको अहिले पनि सम्झन्छन्। ‘निकै धनी भएझैं लागेको थियो,’ उनी भन्छन्।

किराना पसलमा श्रीमतीले सघाउँथिन्। धान किनेर राँगा गाडीमा राखेर बेलबारी आउँथे बलराम। धान बेचेर आएको पैसाले राँगा गाडीमै किराना पसलको लागि सामान लिएर जान्थे।

उनमा साइकल किन्ने हुटहुटी थियो त्यति बेला। अरुले साइकल चढेको हेरेर दंग पर्थे। काम थालेको ६ महिनापछि हिरो रेन्जरसाइकल किने उनले। साइकल किन्न सकेको दिन भुइँमा खुट्टै थिएन उनको। बिहानबेलुकै सफा गरेर टलक्कै टल्काएर राख्थे। उनी भन्छन्, ‘अहिले करोडौंको गाडी चढ्दा पनि त्यतिखेर साइकल किन्दाको जस्तो खुसी छैन।’

४४ सालमा मोटरसाइकल किन्न सफल भए। ‘त्यो केरौन गाविसको पहिलो मोटरसाइकल थियो,’ उनले भने, ‘मोटरसाइकल स्टार्ट गरेपछि नै पनि वरपरका मानिस हेर्न आउँथे। अहिले जसरी उनले डिपार्टमेन्ट स्टोरको शाखा विस्तार गरेका छन्, त्यसरी नै आचार्यले ४६ सालतिर धान किन्ने काँटा धेरै ठाउँमा विस्तार गरेका थिए। ‘२५–३० ट्रक दिनमै किनबेच गर्थें, किरानामा पनि ८०–९० हजार रुपैयाको सामान बिक्थ्यो,’ उनी सम्झन्छन्, ‘तीन चार वटा गाविसको खाद्यान्नको ७० प्रतिशत मैले नै किन्थेँ।’ खटाई पनि धेरै थियो। बिहान ६ बजेदेखि राति १२ बजेसम्म काम गर्थे उनी। रातको १० बजे इटहरी–कानेपोखरी हुँदै विराटनगरबाट घर फर्किन्थे। ‘घर पुगेर खाना खाँदा १२ बज्थ्यो, त्यो बेलासम्म श्रीमती खाना पर्खेर बसिरहेकी हुन्थिन्,’ उनी भन्छन्।

व्यापार राम्रै हुँदै थियो। तर ५२ सालपछि उनको सोच परिवर्तन भयो। केही फरक गर्नुपर्छ भन्ने सोचे उनले। विराटनगरका एक जना व्यापारी थिए, लक्ष्मण तापडिया। उनले बलरामलाई धेरै विश्वास गर्थे। बलराम पनि उनलाई निकै आदर गर्थे। लक्ष्मणका छोरा जितु तापडिया र बलराम मिलेर डिपार्टमेन्ट स्टोर खोल्ने योजना बन्यो।

सबै तयारी सकेपछि दुवै जना लक्ष्मणसँग सोध्न गए। तर लक्ष्मणले अलि चाँडो सोच्यौ, २० वर्षपछि सोच भनिदिए। ‘दोहो¥याएर भन्न सक्ने हिम्मत भएन,’ उनले भने, ‘तर म अलि जिद्दी स्वभावको थिएँ, जसरी पनि गर्ने भएँ।’ उनले इटहरीका अर्का व्यापारी राकेश अग्रवाललाई प्रस्ताव राखे। राकेशले तुरुन्तै ठाउँ हेर्न जाऊँ भने। स्टोरका लागि काम सुरु भयो। राम्रै चल्दै थियो। बलरामले आन्तरिक व्यवस्थापन हेर्थे भने राकेशले इम्पोर्टको काम गर्थे।

एक पटक राकेश आफ्नो बुवालाई भेट्न भारत गए। १६ वर्षपछि भेट भएका छोराकै अघि बुवाले प्राण त्यागे। अस्तु सेलाउन गएका राकेशको कार दुर्घटनामा ज्यान गयो। समझदारीपूर्ण एउटा पार्टनरसिप व्यापारमा धक्का लाग्यो। घटनाको केही दिनसम्म स्टोर बन्द भयो। कर्मचारीहरू पनि अन्योलमा थिए। राकेशकी श्रीमतीले पनि सेयर निकाल्ने भइन्। अब स्टोरको सबै अभिभारा बलरामको काँधमा आइप¥यो।

सुरुमा त बलरामले डिपार्टमेन्ट स्टोर हाँक्लान् भनेरै धेरैले पत्याएनन्। भने, ‘हिजो पो मारवाडी थियो र सबै जुटाइदिएको थियो।’ बलराम हार मान्ने पक्षमा थिएनन्। ‘स्टाफहरूलाई ब्रिफिङ गरेँ, पहिला जस्तो थियो, अझ राम्रो गरी अघि बढाउँछु, साथ देऊ भनेँ,’ जिम्मेवारी लिँदै गर्दाका दिनहरू सम्झन्छन् उनी।

त्यसपछि उनी आन्तरिक व्यवस्थापन मिलाएर पुराना साहूहरूको खोजीमा निस्किए। राकेशले उधारो ल्याएका ठाउँहरूमा पुगेर पैसा तिरिदिए। ‘चार करोडभन्दा बढी पैसा तिरें, जुन पैसा नतिर्दा पनि मैले धर पाउँथें’, उनी भन्छन्। तर यो कामले उनीप्रतिको विश्वास बढायो।

त्यसपछि उनले स्टोरलाई थप व्यवस्थित बनाए। अर्काको घर भाडामा लिएर चलाएको स्टोर विस्तार गर्न खोज्दा घरबेटीसँग कुरा मिलेन। त्यसपछि आफ्नै घर बनाउने अठोट लिए। र बनाए पनि। सम्भवतः इटहरीमै पहिलो पटक इटहरीवासीलाई लिफ्ट देखाए। यही भवनमा आज हजारौं प्रकारका सामानहरू बिक्री हुन्छन्। नुनदेखि सुनसम्म, पूर्वी पहाडको तरकारीदेखि अमेरिकाको ब्रान्डेड सामग्रीसम्म पाइन्छन्। स्टोरमा अहिले एक हजार चार सयभन्दा बढी कर्मचारी छन्। तीमध्ये ८० प्रतिशत महिला छन्। महिलाहरू पुरुषभन्दा तुलनात्मक रुपमा इमान्दार हुने उनको अनुभव छ।

स्टोरको उन्नतीमा कर्मचारीको प्रमुख हात रहेको बताउँछन्। त्यसैले हरेक चाडपर्व स्टाफहरूसँगै मनाउँछन्। उनलाई छोरा सन्तोषले समेत व्यवशायमा सघाइरहेका छन्।

अहिले स्टोरको ६ तले भवनपछाडि अर्को भवन छ, जसमा ४२ वटा कोठाको होटल सञ्चालन गर्दै छन्। इटहरीमै उनको लगानी रहेको अर्को होटल गरिमा निर्माणाधीन छ। कृषि तथा पशुपालनतर्फ २५० वटा गाईहरू पालेका छन्। गाईको दूध प्रयोग गरेर बेकरी तथा आइसक्रिम तथा मिठाइ उत्पादन गर्छन्।

एकताका गोरखाको सिको गर्दै अन्य केही डिपार्टमेन्ट स्टोर पनि इटहरी र आसपासमा खुले। तर ती पछि त्यसै सानो किराना पसलको आकारमा सीमित भए। आफूलाई विस्तार गर्नै सकेनन्। तर अहिले इटहरी र आसपासका क्षेत्रमा सुपरमार्केट र सुविधासम्पन्न मल खुल्ने क्रम बढ्दो छ। अर्थात्, अब तीव्र प्रतिस्पर्धा हुनेछ। तर बलराम ढुक्क छन्। ‘पाँच वटा अरु खुले पनि केही समस्या हुँदैन,’ उनी भन्छन्, ‘जुन प्रकारले ग्राहकले माया दिएका छन्, दशै लाग्यो भने मात्र हो नत्र हामीले पछि फर्केर हेर्नुपर्दैन।’

गोरखा डिपार्टमेन्टस्टोरले व्यवसाय मात्र गर्दैन, समाजलाई आवश्यक परेको अवस्थामा सक्ने सहयोगसमेत गर्छ। इटहरीकै ठूलो भवनसहितको व्यवसाय हुनुका कारण सबै संघसंस्था र व्यक्तिको नजर उनीमाथि पर्छ। सहयोग माग्न जानेहरूको ताँती लाग्छ। उनी पनि सकेसम्म सहयोग गरेरै पठाउँछन्। र उनी सहयोगको आकांक्षा राख्नुलाई अस्वाभाविक मान्दैनन्।

‘जतिखेर म हजारमा थिएँ, कसैले खोज्दैनथ्यो,’ उनी भन्छन्, ‘अहिले देखेका छन् भने खोज्नु र चाहना राख्नु ठूलो कुरो होइन, यो त हाम्रो भाग्य हो।’ 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.