जसले पानीमा पैसा पौडिरहेको देखे
लक्षिन र अमृत अचेल अरूलाई पनि रेन्बो ट्राउट माछा पाल्न हौस्याउँछन्। निःशुल्क तालिम दिन्छन्। आफूहरूले विदेशको जस्तै कमाइ नेपालमै गरेजस्तो अरूले पनि गरून् भन्ने चाहना राखेका छन्।
फेवाताल। सराङ्कोट। विश्वशान्ति स्तूप। महेन्द्र गुफा। डेभिज फल। पर्वतीय संग्रहालय। गुप्तेश्वर गुफा। पोखरा आउने पर्यटकमध्ये धेरैजसोले घुम्ने ठाउँ यिनै हुन्। यी गन्तव्य नाघेर अलि पल्तिर पुग्छु भन्नेहरू बेगनाशताल र रूपातालतिर पनि पुग्छन्। त्यसबाहेक अर्काे गन्तव्यचाहिँ सार्दिखोला हो। त्यस्तो के छ सार्दिखोलामा ? जसले पर्यटक तान्छ। प्रकृतिले नै बनाइदिएका परम्परागत गन्तव्यभन्दा भिन्न छ सार्दिखोला।
गन्तव्यपिच्छे पाहुनाका उद्देश्य हुन्छन्। धेरैतिरचाहिँ दृश्यावलोकन हुन्छ। सार्दिखोलाचाहिँ खानपान गन्तव्य हो। पहाडी भूदृश्यको अवलोकन त छँदै छ। हो, यहाँ पुग्ने पर्यटक जापानी जातको माछा रेन्बो ट्राउटको स्वाद लिएर फर्कन्छन्।
गण्डकी प्रदेशमै पहिलोपटक सार्दिखोलामा गण्डकी रेन्बो ट्राउट सुरु गरेका हुन् लक्षिन र अमृत गुरुङले। रेन्बो ट्राउट जापानी माछा हो। असला जातको माछा पानीमा इन्द्रेणी रङको देखिन्छ। त्यसैले यसको नाम रेन्बो ट्राउट छ। नेपालका हिमाली खोलानालामा पाइने असलालाई भने हिमालयन ट्राउट भनिन्छ। फरक के भने रेन्बो ट्राउट व्यावसायिक रूपमा पालिन्छ, असला भने नदीनालामै छन्।
सार्दिखोलाको मूलखेतमा लक्षिन र अमृतका ससुरालीको जमिन थियो। खोलाको बगरको जमिनको भाउ ५० हजार पनि पर्न मुस्किल थियो। उनीहरू जमिन बेच्न चाहन्थे। तर यी दाजुभाइले नबेच्नु भनिरहन्थे। हो, त्यही जमिनमा यी दाजुभाइले सन् २००९ मा दुइटा पोखरीमा माछा पाल्न सुरु गरे। जसले नपत्याउँदो प्रगति गर्यो, पूरै सार्दिखोला गाउँ अचेल रेन्बो ट्राउट माछाले चिनिन थालेको छ।
लक्षिन लन्डनतिर थिए। अमृत जापान पुगेका थिए। भारतीय सेनाबाट अवकाश लिएर अलि बढी पैसाको आशामा अमृत जापान पुगेका हुन्। अमृतले जापानमै रेस्टुरेन्ट खोल्ने योजना पनि बुने। लन्डनबाट दाजु लक्षिन अर्काको देशमा लगानी नगर्नू, आफ्नै देशमा दाजुभाइ मिलेर केही गरौं भन्थे। अमृतलाई नेपालमा के पो होला र जस्तो लाग्थ्यो। अमृत भन्छन्, ‘दाइ उता नुवाकोटतिर जाँदा रेन्बो ट्राउट माछा पालेको देख्नुभएको रहेछ, हाम्रोमा पनि त्यसै गर्नुपर्छ भन्ने सोचेर मलाई भन्नुभयो।’
पहिले उनीहरूले सानो दुईकोठे टहरो ठड्याए। दुईवटा साना माछापोखरी बनाए। सुरुमा ३५ सय माछाका भुरा काठमाडौंको गोदावरीबाट ल्याउँदा २२ सय ३६ भुरा बाटैमा मरे र १२÷१३ सय भुरामात्र बाँचे। अमृत सम्झन्छन्, ‘त्यति बेला नेपाल बन्द थियो। माछाका भुरा ल्याउनै सकस भयो। बचाएर सबै ल्याउनै सकिएन।’
ल्याएकामध्ये र बाँचेकामध्ये पनि सबै हुर्कने कुरा भएन। थोरै नै बाँचे। थोरै नै हुर्किए। जब हुर्किएर बेच्न ठिक्क भए, बेच्नै मुस्किल भयो। अरू माछा सय, डेढ सय, दुई सय रुपैयाँ किलोमा पाइन्थ्यो। रेन्ब्रो ट्राउटचाहिँ सात÷आठ सय रुपैयाँ किलो पर्ने। किन्ने मान्छे नै नपाइने। लेकसाइडका रेस्टुरेन्टहरू चहारे। होटलहरू चहारे। किन्नै मानेनन्। कतिपयमा त वेटरले नै भित्र पस्नासाथ फर्काइदिन्थे। सञ्चालकहरूसँग भेट्न पनि पाइन्नथ्यो। घरघरकै ढोकाढोका चहारेर पनि बेच्न मुस्किल पर्यो।
तर समय आयो, उनीहरूको सफलताको सुरुआत भयो। लेकसाइडको मुनडान्स रेस्टुरेन्टका दोर्जे लामाले माछा किन्दिन थाले। पत्रपत्रिकामा समाचार आएपछि त्यही समाचारको कटिङ लिएर पर्यटक माछा खान आउन थाले। त्यसपछि उनीहरूले पछाडि फर्केर हेर्नु परेको छैन। सफल यति भए कि ३३औं खाद्य दिवसका क्रममा २०७२ सालमा तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईबाट पुरस्कार प्राप्त गरे। विश्व बंैक (प्याक्ट)बाट पनि ५० लाख रुपैयाँ अनुदान प्राप्त गरे। २०७५ सालको डबल डिजिट अर्थतन्त्र वृद्धिमा सफल कृषकको तर्फबाट भाग लिएर सम्मानित भए।
सुरुमा त उनीहरूले आफूले माछा पाल्ने र बेच्न अरूलाई दिने सोच गरेका थिए। ‘यहीँ भुर्जुङखोला बजारका मान्छेलाई हाम्रोमा आएर रेस्टुरेन्ट खोल्नुस्, माछा बेच्नोस् पनि भन्यौं’, उनीहरू भन्छन्, ‘तर कसैले वास्ता गर्नुभएन। त्यो कुनामा गएर कसले खान्छ भनेर कति जनाले त हाँसेर उडाए पनि।’ तर जापानमा बसेका अमृतलाई मिडियाको शक्ति थाहा थियो। त्यसैले पत्रपत्रिकामा रेन्बो ट्राउट माछा खेतीबारेको समाचार लेख्न पत्रकारहरूलाई अनुरोध गरे।
अरूले बेच्न नमानेपछि र पारखीहरूले माछा पकाएर त्यहीँ खान खोजेपछि रेस्टुरेन्ट पनि खोले। कस्तो हुँदै गयो भने माग धान्नै मुस्किल पर्यो। अनि सूचनै टाँसे, ‘खान पाइने लान नपाइने।’ अहिले पनि हालत त्यस्तै छ, जब कि अहिले उनीहरूको फार्ममा माछा पाल्न ४० वटा कुण्ड छन्। सुरुमा माछा पकाउने तरिका नजानेर सिन्धुपाल्चोकदेखि कुक खोजेर ल्याउनु परेको अमृत सम्झन्छन्। अहिले त झन् बस्ने रिसोर्ट पनि बनाइसकेका छन्। प्याक्टको ४२ लाख रुपैयाँ सहयोग पाएपछि मूलखेतभन्दा माथि अरू कुण्ड बनाएर माछा थपेका छन्।
‘अहिले पनि हामी जति माछा उत्पादन गर्छाैं, यहीँ रेस्टुरेन्टबाटै बिक्री भइरहेको छ। माछाको माग धान्न धौधौ पर्छ अचेल। बिदाका दिन फार्ममा निकै भीड हुन्छ। फिसिङ सेन्टर पनि छ। त्यही सेन्टरकै कारण पाहुना आकर्षित हुनुहुन्छ’, अमृत सुनाउँछन्, ‘पाहुनाहरू आफैंले माछा मार्न पनि पाउनुहुन्छ। वरिपरि पनि अरू रेन्बो ट्राउट माछा फार्म खुलेका छन्। त्यहाँबाट पनि किन्छौं। हामीले तालिम दिएर बागलुङदेखि मनाङ, मुस्ताङतिर पनि रेन्बो ट्राउट माछा फार्म खुलेका छन्। त्यताबाट पनि मगाउनुपर्छ कहिलेकहिले।’ २२ देखि २५ जनाले प्रत्यक्ष रोजगारी पाइरहेका छन्।
वर्षमा २२–२५ टन माछा बिक्री हुन्छ। हुन त रेन्बो ट्राउट जातको माछा नेपालमा भित्रिएको ३०–३५ वर्षअघि रहेछ। तर बजारीकरण भने गण्डकी रेन्बो ट्राउट फर्मबाट सुरु भयो। बगिरहेको सङ्लो र चिसो पानीमा मात्रै यो माछा बाँच्छ, राम्ररी हुर्किन्छ। पानी २० डिग्रीभन्दा तातो हुनु हुँदैन। ट्राउट माछा अरूजस्तो हुँदैन।
कमलो हुन्छ। काँडा खासै हुँदैन। शरीरका लागि लाभदायक ‘ओमेगा–३’ फ्याटी एसिड पाइने भएकाले संसारमै बढी रोजाइमा पर्ने गरेको छ। ट्राउट माछा प्रतिकेजी ११ सय र तयारी माछाका परिकार प्रतिकेजी १४ सय रुपैयाँमा बिक्री हुन्छ। दुई भाइ एकसाथ भन्छन्, ‘विदेशको कमाइ नेपालमै भइरहेको छ। एकातिर खेर गइरहेको जमिन प्रयोगमा आएको छ। अर्काेतिर व्यवसाय भएको छ।’
गण्डकी प्रदेशको पर्यटन प्रवद्र्धनका साथै भुर्जुङखोलाको आर्थिक पाटो फरक भइसकेको गर्वानुभूति छ उनीहरूमा। फर्मको प्रचार भएपछि देशीविदेशी चर्चित व्यक्ति भुर्जुङखोलाको गण्डकी रेन्बो ट्राउट फार्म पुगेका छन्। पूर्वप्रधानमन्त्री, अर्थमन्त्री, उपराष्ट्रपति, देशका चर्चित कलाकार, अन्तरिक्ष यात्रा गरेका, चन्द्रमामा पाँच चोटि पुगेका रसियाका नागरिकसमेत आएको अमृत सुनाउँछन्।
लक्षिन र अमृत अचेल अरूलाई पनि रेन्बो ट्राउट माछा पाल्न हौस्याउँछन्। निःशुल्क तालिम दिन्छन्। आफूहरूले विदेशको जस्तै कमाइ नेपालमै गरेजस्तो अरूले पनि गरून् भन्ने चाहना राखेका छन्। उनीहरूलाई जापान पनि यहीँ, लन्डन पनि यहीँ भएको छ।