भारतीय अवरोधपछि ७ करोडको पुल बन्यो सेल्फी खिच्‍ने ठाउँ

भारतीय अवरोधपछि ७ करोडको पुल बन्यो सेल्फी खिच्‍ने ठाउँ

ठोरी : करिब सात करोड रुपैयाँको लागतमा बनेको ठोरीको ठुटे खोलाको पुल सञ्चानमा आउन नसक्दा ठोरी घुम्न आउनेहरूका लागि सेल्फी खिच्ने ठाउँ मात्र बनेको छ।

भारतसँग सीमा जोडिएको ठोरी नाकामा रहेको ठुटे खोलामा निर्माण गरिएको पुल सञ्चालनमा भारतीय पक्षले अवरोध गरेको छ। भारतीय पक्षको अवरोधका कारण उक्त पुल बनेको एक वर्ष बितिसक्दा पनि सञ्चालनमा आउन नसकेको हो।

पुल सञ्चालनमा नआउँदा ठोरी घुम्न आउने आन्तरिक एवं भारतका पर्यटक पुलमा सेल्फी र फोटो खिचेर रमाउने गरेका छन्।

ठोरी गाउँपालिका वडा नम्बर २ र ३ लाई जोड्ने वीरगंज–ठोरी हुलाकी सडकखण्डमा पर्ने ठुटे खोलामा बनेको पुल सेल्फी खिच्नका लागि मात्रै प्रयोग भइरहेको हो।

ठोरीको पर्यटकीयस्थल प्रवेश गर्ने मुख्यद्वारमा नै पुल भएकोले यस क्षेत्रमा पर्यटकको भीडभाड दैनिक हुन्छ। ठुटेखोलामा निर्मित पुल पर्यटकका लागि सेल्फी लिने उपयुक्त स्थल बनेको ठोरीका स्थानीय अम्बिका लामिछाने बताउँछिन्।

पुलको उत्तर–पूर्व ह्वाइटहिल तथा पश्चिमतर्फ धार्मिकस्थल सीतागुफा र सुमेश्वर पर्वतमालाको दृश्यलाई पुलसँगै क्यामेरामा कैद गर्न सकिने भएकाले पर्यटकहरू सेल्फीमा रमाउने गरेका हुन्।

ठोरीमा जंगल, खोला, पहाड सबै भएका कारण त्यहाँ पर्सा, बारा, रौतहटका साथै भारतको बिहार र उत्तर प्रदेश राज्यबाट पनि घुमफिर गर्न तथा वनभोज खान पर्यटकहरू दिनहुँ पुग्ने गरेका छन्।

सोमबार दिउँसो पुलमा साथीहरूसँग मोबाइलबाट सेल्फी खिच्दै गरेको अवस्थामा भेटिएका भारत बिहारको सिवानका रियाजुल मियाले भने, ‘ठोरी बहुत सुन्दर छ, त्यसमा झन् पुलबाट सेल्फी खिच्दा पहाड, खोला र जंगलको दृश्य सबै आउँदो रहेछ।'

ठोरीमा घुम्न र रमाइलो गर्न आउनेहरूका लागि ठुटे खोलाको पुल अहिले सेल्फी स्पट बनेको ठोरीका स्थानीय होटल व्यवसायी दिनेश नेपालले बताए।

भारतसँग जोडिएको सबैभन्दा पुरानो नाकाको रूपमा रहेको ठोरी, भारतीय पर्यटकका लागि मुख्य पर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गइरहेको निर्मल–ठोरी उपभोक्ता समितिका कोषाध्यक्ष शम्भु गुरुङले बताए।

निर्माणदेखि नै समस्या

वीरगन्ज ठोरी हुलाकी राजमार्ग अन्तर्गत पर्ने ठोरीको ठुटे खोलामा ६ करोड ९७ लाख २१ हजार रुपैयाँको लागतमा एक सय दुइ मिटर लम्बाइको पुल निर्माण गरिएको हो।

नेपाल भारत सीमामा अवस्थित ठुटे खोलामा पुल निर्माणका लागि सर्बे गरिएको नेपाली भूमि भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले भारतीय भूमि भन्दै अवरोध गरेपछि सात वर्षसम्म त पुलको निर्माण कार्य नै सुरु हुन सकेको थिएन।

२०६७ साल जेठ ४ गते सडक विभागले अमर एण्ड मृत सन्जीवनी निर्माण सेवा कम्पनीसँग ठेक्का सम्झौता गरे पनि एसएसबीले सीमाको विवाद झिकेका कारण निर्माण रोकिएको थियो।

२०७४ साल वैशाखमा नेपाल र भारतका सीमा अधिकारीबीच भएको वार्तामा सीमा विवादका बारेमा सहमति भएपछि मात्र पहिले सर्बे गरिएकै स्थानमा पुल निर्माणको काम सुरु गरिएको थियो। उक्त पुल निर्माण कार्य गत जेठ महिनामै सकिएको हो।

नवनिर्मित पुलको पूर्वतर्फको एप्रोच सडक (पुलसँग हुलाकी सडक जोड्ने बाटो), भारतीय पक्षको अवरोधका कारण बन्न नसक्दा ठुटे खोलाको नवनिर्मित पुल, प्रयोगमा आउन नसकेको हो।

सीमावर्ती भारतीय गाउँ धमौरा र सुभद्राका स्थानीयाले ठुटे खोलाको कुलो पुरेर एप्रोच सडक बनाउन नदिने भन्दै विवाद खडा गरेका कारण ठेकेदार कम्पनीले एप्रोच सडकको काम गर्न पाएको छैन।

भारतीय गाँउ धमौरा र सुभद्रका स्थानीयले नेपाली भूमिमा बग्ने ठूटे खोलाको मुहान प्रयोग गरी वर्षौदेखि दुई वटा कुलो सिँचाईको लागि प्रयोग गर्दै आइरहेका छन्। कुलो पुरेर एप्रोच सडक बनाउँदा आफूहरूले सिंचाइ गर्न नपाउने भन्दै भारतीयहरूले कुलो पुर्न नदिएका हुन्।

तर ठोरीका स्थानीयले भने पुलको एप्रोच सडक निर्माणका लागि वर्षौ देखि आफुहरुले प्रयोग गर्दै आइरहेको कुलो पनि पुर्न दिन सहमति दिइसकेका छन् ।

नवनिर्मित पुलको आडमै दुई वटा कुलो सञ्चालन गर्न दिँदा पुल जोखिममा पर्ने भन्दै कुलो पुरेर नै एप्रोच सडक बनाउनुपर्ने दबाब ठोरीका स्थानीयले दिएका छन्।

तर भारतीय पक्षले भने साविक स्थानबाटै ह्युमपाइप राखेर कुलोको पानी आफनो भूमिमा लैजान पाउनुपर्ने अडान राखेको छ।

ठोरीका स्थानीय रामशरण लाछिानेले ह्युमपाइप राखेर कुलो प्रयोग गर्न दिँदा पुलको संरचना जोखिममा पर्ने बताए। उनले भने, ‘एप्रोच सडक बन्न नसक्दा बस, ट्रक, टयाक्टर र कार जिप पुलबाट गुड्नै पाएका छैनन्।'

पुल प्रयोग गर्न नपाउँदा खोलामा दैनिक सवारीसाधन फस्ने, इन्जिनमा खोलाको पानी पस्ने र सवारी साधन खोलाले बगाउने जस्ता समस्या उनीहरूले झेलिरहेका छन्। पुल प्रयोगमा नआउँदा ठुटे खोलामा बाढी आएका बेला ठोरी र सदरमुकाम वीरगञ्जबीच सडक सम्पर्क विच्छेद हुने स्थानीय रमेश शर्माले बताए।

ठोरी गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर २ का वडाध्यक्ष रामप्रकाश कुवँरले भारतीयको विवादका कारण नवनिर्मित पुल सञ्चालनमा आउन नसकेको स्वीकार गरे। समाधानका लागि भारतीय सीमावर्ती गाउँका जनप्रतिनिधिहरूसँग छलफल भए पनि उनीहरू आफनो अडानबाट पछि नहटेको उनले बताए।

गाउँपालिकाका  अध्यक्ष पदमलाल श्रेष्ठले पनि समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण भइरहेको सुनाए। 'सिडिओदेखि मन्त्रालयसम्म डेलिगेसन गएर ध्यानाकर्षण गराइसकेका छौँ', उनले भने, ‘तर समस्या जहाँको त्यहीँ छ।'

पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराइले पनि पुल सञ्चालनमा देखिएको समस्या समाधानका लागि भारतीय पक्षसँग समन्वय भइरहेको बताए।

'हुलाकी सडकको कन्सल्टेन्ट नै भारतीय हो। ऊ सँग हामीले समन्वय गरिरहेका छौँ', उनले भने, ‘छिटटै समस्या सामधान हुनेमा विश्वस्त छौँ।'   


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.