सवारीका शक्ति
पसलमा लुब्रिकेन्ट बेच्दाबेच्दै उनले त्यसैको उत्पादन थाले। देशमा सवारी साधनको बढ्दो संख्याले लुब्रिकेन्टको उद्योग राम्रो चल्यो। आज पीएलओ ब्रान्ड विश्व बजारमा जाने अन्तिम तयारीमा छ।
मोरङको राजघाटमा सामान्य परिवारमा जन्मेका भोलेश्वरलाई मीठो खान र मीठो लाउन दसैं कुर्नुपथ्र्यो। ‘पैसाकै कारण रहर हुँदाहुँदै प्लस टुभन्दा अघि पढ्न सकिनँ,’ ऊ बेला पढ्न नसकेको घिटघिटोले अहिले क्याम्पसमा स्नातक तह भर्ना भएका छन्। आफूमात्र पढेका छैनन्, आफूजस्तै पैसा नभएर पढ्न नसक्ने दर्जनौं विद्यार्थीलाई पनि पढ्न सहयोग गरिरहेका छन्। उनी हुन्, मोरङ सुन्दरहरैंचाका व्यवसायी भोलेश्वर दुलाल (४४)।
०००
जन्मेको एक वर्षमै ३३ सालमा उनले बुवालाई गुमाए। निम्न वर्गीय परिवारमा दुई दाजुभाइ र तीन दिदीबहिनीको परिवारलाई जसोतसो दुई छाक खुवाउनु नै आमाको सफलता थियो। पढ्न त टाढाको कुरा। ‘एसएलसी सकेपछि आमाले म पढाउन सक्दिनँ, आफैं कमाएर पढ्नु भन्नुभयो,’ दुलाल सम्झछन्, ‘मैले पढ्न र पैसा कमाउन दमकको एउटा स्टोरमा मासिक दुई सय रुपैयाँमा काम गर्न थालेँ।’
अढाइ वर्ष त्यहाँ काम गरेपछि उनमा व्यापार गर्ने रुचि जाग्यो। २०४९ सालमा सत्कार मेसिनरी कन्सर्नको नामबाट विराटचोकमा पसल खोले। ७० हजार रुपैयाँबाट सुरु गरेको व्यापार फलिफाप भयो। त्यो व्यवसायले दाम दियो, तर नाम दिएन। उनी केही नयाँ र ठूलो काम गर्ने सोच्न थाले।
बेच्दाबेच्दै उद्योग
उनको पसलमा लुब्रिकेन्टहरूको बिक्री अत्याधिक हुन्थ्यो। त्यसैले अब बेच्ने होइन, बरु आफैं बनाउँछु भन्ने सोच आयो। ‘देशमा सवारी साधनको बढ्दो संख्याले पनि यो लुब्रिकेन्ट उद्योगतर्फ आकर्षित गर्यो’, उनी भन्छन्, ‘त्यसमाथि लुब्रिकेन्ट एक्सपायर हुँदैन र मुसाले खाने, बिग्रने हुँदैन।’
उद्योग खोल्ने सोच आए पनि हतारमा निर्णय लिएनन्। दुई वर्ष अध्ययन गरे। ‘भन्सारदेखि बजारसम्मको अध्ययन गरेँ, नेपालमा रहेको एउटै मात्र लुब्रिकेन्ट उद्योगको पनि अनुसन्धान गरेँ,’ उनले भने, ‘भारतमा पनि चार–पाँचवटा फ्याक्ट्री घुमेर सानोभन्दा सानो कुराको विषयमा जानकारी लिएँ।’
नाफा हुन्छ भन्ने निश्चित भइसकेपछि उनले सात जनासँग मिलेर २०५८ सालमा उद्योग खोले। एक करोड १० लाख रुपैयाँ खर्च गरेर स्थापना गरेको उद्योग नै अहिलेको पीएलओ इन्डस्ट्रिज हो। जसले अहिले वार्षिक चार अर्बको व्यापार गर्छ। नेपालभर पीएलओ, स्टार र मेगा गरी तीन वटा ब्रान्डको लुब्रिकेन्ट उत्पादन गरी बिक्री वितरण गर्छ। यस्तै सवारी साधनका लागि चाहिने ग्रिज र अन्य तेलसमेत उत्पादन गर्छ।
दुलालले उद्योग स्थापनाका लागि सुनसरी–मोरङ कोरिडोरको औद्योगिक क्षेत्र छानेनन्। बरु आफ्नै गृह नगरलाई छाने। ‘त्यहाँ अरु उद्योग छन्, मेरो उद्योगको इज्जत मेरै ठाउँमा मात्र हुन्छ भनेर यहीँ खोलेँ,’ उनी भन्छन्, ‘विद्युत् पाइँदैन, कामदार पाइँदैन भन्ने शंकाको बीचमा झन्डै दुई सय जना कर्मचारी–कामदारसँगै काम गरिरहेका छौं।’
१८ वर्षको अवधिमा पीएलओ राम्रो ब्रान्डका रूपमा स्थापित छ। आफ्नो उत्पादनका अलावा कोरियाबाट आयात गरेको जेडआइसी र भारतको इएनआइ ब्रान्डलाई नेपालमा बिक्री वितरण गरिरहेको छ। त्यसबाहेक फेबिकल, पेन्ट्स्लगायतका उद्योगमा समेत दुलालले हात हालेका छन्।
००००
व्यवसायमा अहिले पनि समस्या नभएका होइनन्। एकातिर उधारोको समस्या, अर्कोतिर विभिन्न सवारी साधनको कार्टेलिङ। ‘गाडी कम्पनीहरूले यो ब्रान्डको तेल हाले मात्र वारेन्टी हुन्छ, नत्र हुँदैन भनेर धम्की सृजना गर्छन् र आफ्नै ब्रान्ड बेच्छन्,’ उनी भन्छन्, ‘यो प्रवृत्ति हटाउन सरकारले ध्यान दिनुपर्यो। ग्राहकले स्पेसिफिकेसनको आधारमा जुनसुकै तेल हाल्न पाउनुपर्यो।’
त्यसमाथि सरकारी तथा अर्धसरकारी संस्थाहरूले स्वदेशी उत्पादन १५ प्रतिशत महँगो परे पनि किन्ने भनेर सरकारको घोषणा कार्यान्वयन नभएको उनको गुनासो छ। यस्तै नेपालमा लुब्रिकेन्टको कच्चा पदार्थ आयात गर्दा तिर्नुपर्ने भन्सार कर घटाउन उनको माग छ।
यी र यस्तै समस्याको विषयमा आफूहरूले बारम्बार नेपाल सरकारलाई जानकारी गराए पनि केही सुधार नभएको बताउँछन्।
शिक्षाको सेवामा
व्यापारसँगै सामाजिक काम गर्नैपर्ने उनको मान्यता छ। युवा उमेरमा गाउँ–घरमा कल्भर्ट, बाटो, स्कुल बनाउन युवाहरूसँग मिलेर श्रमदान गर्ने उनी अहिले पनि सामाजिक काममा सक्रिय छन्। दुलाल र उनको कम्पनीले गरेका सामाजिक कामको फेहरिस्त लामो छ। ‘सामाजिक कामहरूमा सहयोग गर्छौं, बाटो, पुल, स्कुल, मन्दिर निर्माणमा सकेको सहयोग गर्छौं,’ उनी भन्छन्। पीएलओले यस क्षेत्रमा हुने विभिन्न खेलकुद प्रतियोगितालाई प्रायोजन गर्ने गरेको छ।
गरिबीका कारण पढ्न नपाएका र अपांगता भएकाप्रति उनी ठूलो सहानुभूति राख्छन्। वर्षेनि डेढ सयभन्दा बढी विद्यार्थीलाई स्कुल र कलेज पढाइरहेको उनी बताउँछन्। भन्छन्, ‘मैले त पढ्ने बेलामा गरिबीका कारण पढ्न सकिनँ भन्दै आउनेलाई पढाउँछु।’
उनले एक हजार बढी ह्वीलचेयर बाँडेका छन्। सुन्दरहरैंचा नगरपालिकाले अपांगता भएका व्यक्तिलाई ह्वीलचेयर उपलब्ध गराइदिनुहोला भन्दै दुलाललाई पत्र लेख्छ। ‘आर्थिक अवस्था न्यून भएका व्यक्तिलाई ह्वीलचेयर किनिदिन्छु,’ उनी भन्छन्। उनले खानेपानी कार्यालयका लागि जग्गासमेत दिएका थिए।
‘पैसा कमाएर धनी बनुँला भन्ने भावना भन्दा पनि यो समाजलाई रूपान्तरित गर्न योगदान दिने सोच छ,’ उनी भन्छन्, ‘लोभ नगरी बसेको भए पैसा कमाएर पनि गुमनाम हुन्थेँ होला। अहिले नाम कमाएको छु, सन्तुष्ट छु।’ नेपाल जेसिजको राष्ट्रिय अध्यक्ष भएर उनले नेतृत्वसमेत प्रदान गरिसकेका छन्।
उनले तीन सय बढी कलेजमा गएर विद्यार्थीहरूलाई उद्यमशीलता र उत्प्रेरणाबारे तालिम दिएका छन्। स्नातकोत्तरका विद्यार्थीलाई आफ्नो कथा सुनाइसकेका छन्। अब उनलाई पनि एउटा सपना छ– स्नातकोत्तर पढ्ने अनि पास हुने।
उनका छोरा–छोरी दुवै स्नातक गरिरहेका छन्। उनी आफैं स्नातक पढिरहेका छन्। जहाँ जाँदा पनि पुस्तक बोकेरै हिँड्छन्। ‘५–७ वर्षमा जसरी पनि एमए गर्ने इच्छा छ,’ उनी भन्छन्, ‘एमए सकेर राजनीतिशास्त्रमा पीएचडी गर्छु।’
यति धेरै व्यस्तता र जिम्मेवारीका बीचमा उनी कसरी पढ्लान् र पास होलान् ? ‘धेरै नम्बर ल्याउन नसकुँला,’ उनी भन्छन्, ‘तर व्यावहारिक ज्ञान छ, फेल हुने त चान्स नै छैन।’