शिक्षामा फ्युजन
फुर्वाले स्थापना गरेको स्कुलमा अनाथ, असहाय, विपन्न, टुहुरा बालबालिका पढ्छन्। विद्यार्थीलाई खाने, बस्ने, लाउने, किताबकापी स्कुलले नै व्यवस्था गरेको छ।
गुम्बामा हुँदा पढाइभन्दा बढी आमाको याद आउँथ्यो, फुर्वा टासीलाई। गुम्बा छाडेर घरै जान चाहन्थे उनी। कहिलेकाहीँ आमा बोन्छोक गुरुङ उनलाई भेट्न गुम्बा पुग्थिन्। आमाको काखमा लुट्पुटिँदा उनलाई लाग्थ्यो— सुख र खुसीको संसार यही हो। तर गुम्बामा आमाको साथ सधैं सम्भव थिएन।
‘आमा मलाई छाडेर घर फर्कंदा नरमाइलो लाग्थ्यो। आमालाई परसम्म हेर्थें। आँखा रसाउँथ्यो। सायद आमालाई पनि त्यस्तै हुन्थ्यो होला। मन पोल्थ्यो होला’, बाल्यकाल सम्झँदै उनले भने।
आमा घर फर्केपछि फेरि कहिले आउलिन् भनेर उनका आँखा त्यतै टोलाउन थालिहाल्थ्यो। भर्खर तोतेबोली फट्कँदै गरेको बच्चालाई आफ्नो काखबाट अलग राख्ने इच्छा कुन आमाबुवालाई हुन्छ र ? फुर्वाका अभिभावकलाई पनि त्यस्तो रहर थिएन। तापनि ६ वर्षकै उमेरमा उनलाई माथिल्लो डोल्पाको साल्दाङस्थित यात्सेर गुम्बा पु¥याइएको थियो। फुर्वाको घरबाट लगभग तीन घण्टा हिँडेपछि यात्सेर गुम्बा पुगिन्थ्यो। सानैदेखि विलक्षण प्रतिभा देखेर बौद्ध गुरुहरूले उनलाई गुम्बा लान परिवारमा प्रस्ताव गरेका थिए। बौद्ध गुरुहरूको कुरा उनीहरूले काट्न सकेनन्। अनि सुरु भयो फुर्वाको गुम्बा यात्रा।
फुर्वा, छोग्याल पासाङको पाँचौं अवतारी भएको पुष्टि भएपछि बौद्ध गुरुहरूले गुम्बा लान परिवारमा प्रस्ताव गरेका थिए। आठ सय वर्ष पुरानो उक्त गुम्बा पुगेपछि उनको जीवनले नयाँ मोड लियो। फुर्वाबाट उनी रानाग रिन्छेन रिम्पोछे बने। डोल्पो बुद्धका रूपमा कहलिए। देशविदेशमा उनको सान, मान र ज्ञान मौलायो। दसौं हजार मानिस उनका अनुयायी बने। ‘धेरै छोराछोरी भयो भने गुम्बामा पठाउने चलन थियो त्यति बेला। तर मेरो आमाबुवाले त्यो सोचले, पढाउन नसकेर गुम्बा पठाउनुभएको होइन। केही गरोस्, केही सिकोस् भनेर छ वर्षकै उमेरमा गुम्बा पु¥याउनुभएको रहेछ’, उनी स्मरण गर्छन्।
यात्सेर गुम्बा गएर पढ्न थालेको तीन वर्षमै उनले ‘छाम’ उपाधि पाए। ६ वर्षसम्म सो गुम्बामा पढेका उनलाई १२ वर्षको उमेरमा थप अध्ययनका लागि काठमाडौं ल्याइयो। काठमाडौंको निङमापा सेन्टरमा नौ वर्ष अध्ययन गरेपछि ‘खेन्पो’ उपाधि पाए। स्वदेश एवं विदेशमा लामा शिक्षा आर्जन गरेका रिम्पोछेले बौद्ध धर्म दर्शनको उच्च उपाधि ‘मास्टर अफ डिभिनिटी’ उपाधि हासिल गरेका छन्।
बाल्यकालको बात
बाल्यकालका घटना र आफूले भोगेका कतिपय अनुभव सम्झँदा उनलाई अभैm कहाली लाग्छ। दुःख जीवनको पर्यायजस्तै थियो। रिम्पोछेको जन्मसँगै उनको परिवारमा आर्थिक सुधार सुरु भयो। चांैरी याक भेडाको संख्या बढ्यो। जसोतसो खान लाउन पुग्न थाल्यो। तर अशिक्षा, अन्धविश्वास, भौगोलिक प्रतिकूलता, चेतनाको अभावले अन्य दुःख पर सर्न सकेन।
अझ उसबेला माथिल्लो डोल्पामा चोरी, डकैती, लुटपाट, कुटपिट, मान्छे मार्ने, बलात्कारका घटना उत्कर्षमा थियो। कोही जिल्लाबाहिरका त कोही विदेशबाट आएर डोल्पा लुट्थ्यो। जनजीवन पीडादायी थियो। अनाहकमा धेरैले ज्यान गुमाउँथे। विकासका नाममा केही थिएन। नागरिकता बनाउनसमेत महिनौं लाग्थ्यो। अनेक झन्झट र दुःखका कारण कतिपयले नागरिकता पनि बनाउन सक्दैनथे। त्यस्ता घटनाले उनको बालमस्तिष्क हल्लाइदिन्थ्यो।
रिम्पोछेको जन्म डोल्पा क्षेत्रका प्रथम शासक रानाग परिवारमा भएको हो। बुवा नोर्बु गुरुङ र आमा वोन्छोक गुरुङको कोखमा २०३० वैशाख १ गते जन्मेका उनी परिवारका काहिँलो भाइ हुन्। डोल्पाको साल्दाङस्थित लुरी गाउँमा जन्मेका उनका दुई दाइ, दुई भाइ र दुई बहिनी छन्।
सन् १९९८ को कुरा हो। रिम्पोछेका साथीहरूले पूजापाठका लागि उनलाई हङकङ बोलाए। आधुनिक शिक्षा नलिएको मान्छे। अंग्रेजी नआउने। उनलाई कति सकस भयो भने देश सम्झेर धेरै पटक रोए। त्यसपछि आधुनिक शिक्षाको महत्त्व उनलाई थाहा भयो।
हङकङमा हुँदै उनले संकल्प गरे, शिक्षा नपाएर आफूले जस्तो अरूले दुःख पाउनु नपरोस्। नेपाल फर्कनासाथ ६, ७ वर्षका आफ्ना भाइ र बहिनीलाई काठमाडौं ल्याएर पढाउन थाले। तर त्यतिले मात्रै उनको मन मानेन। अरू पनि मेरै भाइबहिनी हुन। उनीहरूलाई पनि शिक्षा दिनुपर्छ भनेर केही वर्षको अथक प्रयासपछि ‘स्नोल्यान्ड रानाग लाइट अफ एजुकेसन स्कुल’ स्थापना गरे।
यस स्कुलमा अनाथ, असहाय, विपन्न, टुहुरा बालबालिका पढ्ने गर्छन्। यस स्कुलका बालबालिकालाई खाने, बस्ने, लाउने, किताबकापी सबै स्कुलले नै व्यवस्था गरेको छ। काठमाडौंको बूढानीलकण्ठमा सञ्चालित यस स्कुलमा शुल्क तिर्ने विद्यार्थी १० प्रतिशत पनि छैनन्। ‘म सानो हुँदा माथिल्लो डोल्पामा पढेर केही हुँदैन भन्ने सोच थियो। तर शिक्षा नभएपछि मान्छे अगाडि बढ्न सक्दैन। बोल्न सक्दैन। आफ्नो कुरा राख्न सक्दैन’, स्कुल खोल्नुको कारणबारे रिम्पोछेले प्रस्ट्याए, ‘शिक्षा नभई केही नहुने भएकाले स्कुल खोलेर असहायलाई शिक्षा दिन थालेको हुँ।’
रिम्पोछे सानो हुँदा माथिल्लो डोल्पामा विद्यालय नभएको होइन। उनको घरबाट १५ मिनेटकै बाटोमा सरकारी स्कुल थियो। तर शिक्षकहरू तीन, चार कक्षा पढेका हुन्थे। चिसोका कारण वर्षमा चार महिनामात्रै स्कुल चल्थ्यो। स्कुलमा पढाउनेभन्दा घुम्ने, गफगाफ गर्ने गरिन्थ्यो। अनुगमन हुँदैनथ्यो। विद्यालय नाम मात्रका थिए।
फ्युजन ः आधुनिक र लामा शिक्षाको
रिम्पोछेको अनुभवमा अब आधुनिक शिक्षा अनिवार्य छ। तर यसले मान्छेलाई घमण्डी पनि बनाउँछ। मसँग यस्तो डिग्री छ भन्ने भावनाको विकास गराउँछ। तर उनले हासिल गरेजस्तो लामा शिक्षाले समाजलाई के योगदान दियो, अरूलाई के दिन सक्यो भन्ने कुरा पढाउँछ। मानवता सिकाउँछ। मानव जाति सबै समान हो भन्ने प्रेरणा दिन्छ। त्यसैले अहिलेको युगमा आधुनिक र लामा शिक्षाको संयोजन जरुरी छ।
आफ्नो स्कुलमा उनले यी दुई शिक्षा पद्धतिलाई फ्युजन गराएका छन्। लामा शिक्षाबारे आफैं पढाउँछन्। ‘मैले सिकेका, जानेका, अनुभव गरेका कुरा विद्यार्थीसँग बाँड्दै आएको छु’, रिम्पोछेले भने। यस स्कुलबाट यसपटक एसईई दिएका विद्यार्थी आठौं ब्याजी हुन्।
विद्यालय भाडाको भवनमा भएकाले आफ्नै भवन बनाउने तयारीमा जुटेका छन् उनी। असहाय बालबालिकाको शिक्षाका लागि सुरु गरिएको यस अभियानमा धन वा मन हुनेहरूबाट सहयोगको अपेक्षा पनि गरेका छन्।
‘स्नोल्यान्ड रानाग लाइट अफ एजुकेसन स्कुल’मा हाल दुई सय विद्यार्थी अध्ययनरत छन्। तर संस्थापक रिम्पोछे यतिमा सन्तुष्ट छैनन्। धेरैभन्दा धेरैलाई शिक्षाको ज्योति दिने उनको चाहना छ। ‘मलाई वार्षिक १५, १६ हजार विद्यार्थी पढाउने इच्छा छ। तर स्रोतसाधनको अभाव छ। शिक्षामा धेरै लागत छ। तैपनि प्रयास गरिरहेको छु’, रिम्पोछे आफ्नो योजना सुनाउँछन्।
काठमाडौंमात्रै होइन, उनले आफ्नो जन्मथलो डोल्पाको साल्दाङमा रहेका दुईवटा स्कुलमा स्थानीय बालबालिकालाई पढाउने गरेका छन्। एउटा स्कुलमा ४० र अर्कोमा २० जना विद्यार्थी आफ्नो सहयोगमा पढ्दै आएको उनले जानकारी दिए।
स्कुलमात्रै होइन सामाजिक संघसंस्थामा पनि उनी जिम्मेवारीमा छन्। रिम्पोछे डोल्पा फाउन्डेसन ताइवानका संरक्षक तथा संस्थापक हुन्। त्यस्तै डोल्पाको साल्दाङस्थित यात्सेर चाङचुवालिङ गुम्बाका संरक्षक, तमु बौद्ध समाज नेपालका संरक्षक, दाङमा निर्माणाधीन रिन्छेन शिक्षण अस्पतालका संरक्षक पनि हुन्। उनको विशिष्ट योगदानको कदर गर्दै नेपाल सरकारले नेपाल पर्यटन वर्ष २०११ मा मानार्थ सद्भावना राजदूत नियुक्त गरेको थियो।
शिक्षापछि स्वास्थ्य क्षेत्रमा उनको अगाध लगाव छ। अस्पताल खोलेर गरिबको सेवा गर्ने उनको रहर छ। ‘मेरी आमा ४४ वर्षमा बित्नुभयो। उहाँले राम्रो उपचार पाएको भए सायद अझ धेरै समय बाँच्नुहुन्थ्यो होला’, उनले कारण खोले। गुणस्तरीय शिक्षा नपाएर धेरैको जीवन अन्धकार भएको र राम्रो उपचार नपाएर धेरैले अकालमै ज्यान गुमाउनु परेकाले आफू यस क्षेत्रमा लागेको उनको भनाइ छ।
अरूका सेवामा आफ्नो खुसी खोज्ने बानी उनले बाल्यकालमा भोगेका पीडा अनि लामा शिक्षाबाट प्राप्त गरेका हुन्। उनले प्राप्त गरेको तुम्बो उपचार पद्धति जनसेवाको अर्को माध्यम बनेको छ। तुम्बोको अर्थ ताप हो। रोग लागेको अंगमा हातले दबाब दिएर गरिने यो उपचार पद्धतिबाट उनले हजारौं बिरामीलाई निको पारिसकेका छन्। तर उपचार गरेबापत उनी शुल्क लिँदैनन्। नसा, मुटु दुख्ने, हातगोडा, ढाड दुख्ने समस्याका लागि यो उपचार पद्धति प्रभावकारी मानिएको छ।
नेपालका साथै चीन, भारत, ताइवान, भियतनाम, सिंगापुर, थाइल्यान्डजस्ता एसियाली मुलुकमा उनी डोल्पो बुद्धका रूपमा परिचित छन्। बौद्ध दर्शनअनुसार डोल्पो बुद्धको आशीर्वादबाट ईश्वरको साक्षात् अनुभूति, सुख, शान्ति र समृद्धि प्राप्त हुन्छ भन्ने विश्वास गरिन्छ। उनी ताइवानका थुप्तेन छेयोलिङ केन्द्रका शिष्य हुन्।
फर्केर हेर्दा
कहिलेकाहीँ उनी जीवनमा आफूले गरेका कर्मलाई फर्केर हेर्छन्। केही कामले उनलाई सन्तुष्टि दिन्छ। त्यसमा समाज पनि रमाएको हुन्छ। २०६२ साल भदौ १ गतेको कुरा हो, उपल्लो डोल्पाको यात्सेर गुम्बामा साँझपख बास माग्दै केही तिब्बती आए। मानवीय दृष्टिले पनि गुम्बामा बास नदिने कुरा भएन। तर राति गुम्बाका २८ वटा मूर्ति चोरेर उनीहरू भागे।
गुम्बाको मुख्य आकर्षण एवं सम्पदा चोरिएपछि डोल्पामा हल्लीखल्ली भयो। त्यस बेला रानाग रिन्छेन रिम्पोछे ताइवानमा थिए। यो खबर पाएपछि उनले चीन र तिव्बतका अधिकारीसँग कुरा गरे। दुई वर्षको अथक प्रयासपछि ती मूर्ति फिर्ता ल्याउन सफल भए।
‘गुम्बाबाट चोरिएका ती मूर्ति १३ सय, नौ सय, आठ सय वर्ष पुराना थिए। यस्तो बहुमूल्य सम्पदा संरक्षणमा सरकार, जिल्लाले ध्यान दिएको थिएन’, रिम्पोछेले भने, ‘मूर्ति चोरी भएपछि मुगु, डोल्पा, हुम्लाका जनप्रतिनिधिसँग पहल गर्न आग्रह गरेँ। चिनियाँ एवं तिब्बती अधिकारीसँग कुरा गरेँ। अन्ततः दुई वर्षपछि डोल्पाको मणि ती बहुमूल्य सम्पदा फिर्ता गर्न सफल भएँ।’
बेलाबेलामा उनी जन्मथलो साल्दाङ गइरहन्छन्। त्यहाँको चिसो हावापानी अनि रूखो माटोमा फल्ने आलु, मूला, फापर आदिले उनलाई आकर्षित गर्छ। बाल्यकाल सम्झन्छन्। त्यहाँको माटोमा आमाबुवाले बगाएको पसिनाको सुवास उनलाई अनमोल लाग्छ। तापनि काठमाडौं फर्किन्छन्। भन्छन्, ‘डोल्पाभन्दा काठमाडौंमा बसेर केही गर्न सकिन्छ। हजारौंलाई पढाउन सकिन्छ। धेरैलाई नयाँ जीवन दिन सकिन्छ। त्यही भएर फर्कन्छु। तर मन साल्दाङतिरै हुन्छ।’