आधुनिक घाँसी
भानुको समयका घाँसीले कुवा खनाउन घाँस बेचेका थिए। तर वामदेव उन्नत पशुपालनलाई बढावा दिन सबै जोस र जाँगर घाँसका बेर्ना उत्पादनमा खर्चिरहेका छन्।
भर जन्म घाँसतिर मन् दिई धन कमायो
घाँसी दरिद्र घरको तर बुद्धि कस्तो
म भानुभक्त धनी भैकन किन यस्तो
आदिकवि भानुभक्त आचार्यले आफ्नो काव्य सिर्जनाको सुरुआती कालमै घाँसीको लोकोपकारबारे लेखेका थिए। भानुभक्त र उनले लेखेका घाँसी अहिले यस लोकमा छैनन्। तर उनै भानुको मावली गाउँ मानुङ नजिकै जन्मिएका अर्का ‘आधुनिक घाँसी’को पौरख फैलँदो छ। घाँसै बेचेर आफ्नो साम्राज्य खडा गरिरहेका म्याग्दे–१ गुणादीका वामदेव खनालले भानुको कविता आधुनिक नेपालमा उनकै लागि लेखिएको हो भन्ने भान पारिदिएको छ।
भानुको समयका घाँसीले कुवा खनाउन घाँस बेचेका थिए। तर वामदेव उन्नत पशुपालनलाई बढावा दिन सबै जोस र जाँगर घाँसका बेर्ना उत्पादनमा खर्चिरहेका छन्। दुई दशकअघि घाँस व्यवसाय थाल्दा वामदेव खनाल घाँसै बेचेर उतिसाह्रो प्रगति गरौंला भन्ने कल्पनासम्म थिएन। तर घाँस बेचेर आफूले सिर्जना गरेको साम्राज्य देख्दा उनी पुलकित हुन्छन्। उमेरले सात दशक पुग्नै लागेका यी किसानको अथकको मेहनतले उनलाई देशमै नमुना घाँस उत्पादक किसानको परिचय दिलाएको छ। नामसँगै उनी घाँस बेचेरै लखपतिको लाइनमा छन्।
खनालले घाँसका बेर्ना वितरणको व्यवसाय थाल्दासम्म पशुपालन फस्टाउँदै गरेको देशमा निजीस्तरमा बेर्नाको स्रोत केन्द्रसम्म थिएन। वार्षिक लाखौं रुपैयाँको बेर्ना आवश्यक पर्ने भए पनि त्यसलाई पूर्ति गर्न सरकारी निकायलाई हम्मेहम्मे थियो। त्यस्तो अवस्थामा खेतबारीको कामले कष्टकर जीविका धान्दै आएका खनाललाई कसैले घाँस व्यवसाय गर्न सुझाइदियो। करिब एक दशकअघि पाएको त्यो सुझाव नै निम्न आयस्रोत भएका खनालका लागि वरदान सावित भइदियो। अहिले उनी घाँस बेचेरै वार्षिक २० लाखसम्म कमाउँछन्।
बाजेका पालादेखि खेती गर्दै आएको १७ रोपनी जग्गामा मकै, मास अनि धान लगाउँदै आएका वामदेवका अघि ६ जनाको परिवार चलाउनुपर्ने दायित्व थियो। पढ्दै गरेका छोराहरूको खर्चको जिम्मेवारी त छँदै थियो, वर्षभर दुःख गरे पनि परिवारलाई दुई महिना खान पनि धौधौ थियो। एउटा गाई किन्दा ३५ सय उधारो एक वर्षमा तिरेको सम्झना उनको मानसपटलमा ताजै छ। तर भएको सबै जग्गामा खेती गर्दा पनि परिवार पाल्न धौधौ हुने वामदेवको विगत अहिले घाँस बेचेर राम्रो नाम अनि दाम कमाउनेमा बदलिएको छ। ‘वर्षभर गरेको मेहनतले दुई महिनाको छाक टार्न गाह्रो थियो,’ आफ्नो विगत र वर्तमान तुलना गर्दै उनी भन्छन्, ‘तर त्यही जग्गामा घाँस लगाउँदा दुई लाख कमाउन सकेँ।’
२०५६ सालमा पशु सेवा कार्यालयले उनलाई घाँस खेतीका लागि प्रेरित गरेको थियो। त्यसबेला तनहुँमा पशुपालन गर्न चाहने कृषकको संख्या बढी थियो। उनीहरूका लागि परियोजनासमेत सञ्चालन गरेको कार्यालयले उन्नत घाँसका बेर्ना सार्न प्रेरित गरेको थियो। ‘कार्यक्रम प्रभावकारी हुँदै गए पनि घाँसको बेर्नाको अभावले समस्या थियो,’ पुराना दिन सम्झँदै उनीसँग लामो समय सहकार्य गरेका तत्कालीन पशु विकास अधिकृत बाबुराम जमरकट्टेल भन्छन्।
एकातिर कार्यालयलाई बेर्नाको स्रोत केन्द्र चाहिएको थियो भने अर्कोतिर खनाल कसरी कमाउने भन्ने उपाय खोज्दै थिए। ‘उहाँको इच्छाशक्ति अनि हाम्रो चाहना मिलेपछि स्रोत केन्द्र स्थापनाका लागि सहयोग गरेका हौं’, जमरकट्टेलले भने, ‘अहिले उहाँको सफलता देख्दा निकै खुसी लाग्छ।’ तत्कालीन जिल्ला पशु कार्यालयको प्रेरणाले धान, मकै तथा मास खेती छाडेर सबै जग्गामा घाँसका बेर्ना लगाउन थालेका खनालले अर्को वर्षबाटै त्यसको प्रतिफल पाउन थाले।
‘बारीमै बेर्ना छोपाछोप हुने अवस्था आएपछि मलाई झनै हौसला मिल्यो,’ खनालले भने, ‘एक पटक त दुई दिनमै दुई लाखको बेचिएछ।’ अस्ट्रेलियाबाट केही वर्षका लागि घाँस अनुसन्धानमा सघाउन आएका एलनबाट उन्नत जातका घाँस र उत्पादनका सबै तरिका सिकेको वामदेव आफ्नो प्रगतिमा अस्ट्रेलियन अनुभव सहयोगी भएको बताउँछन्।
सीप र आम्दानी दुवै बढेपछि उनले बाँकी जमिनसमेत खोजेर अहिले ७० रोपनी जग्गा पु¥याएका छन्। सबैजसो जग्गामा उनले घाँसकै बेर्ना लगाउने गरेका छन्। उनले धान उमार्दै आएको पाँच रोपनी खेत पनि अहिले घाँसले हरियो बनेको छ। ‘अहिले देशैभर घाँसका उन्नत बेर्नाको माग बढिरहेको छ’, पशु विज्ञ केन्द्र तनहुँका प्रमुख डा. बालकुमार श्रेष्ठ भन्छन्, ‘वामदेव उनीहरू सबैका लागि भरपर्दो आपूर्तिकर्ता बनेका छन्।’ सरकारीस्तरमा ठूलो घाँसको स्रोत केन्द्र नहुँदा उनको घाँस केन्द्रले विकल्प दिएको थियो। अहिलेसम्म पनि उनकहाँ घाँसका बेर्ना खोज्न र प्रविधि जान्नका लागि आउनेको लर्को लाग्ने गरेको छ।
घाँस साम्राज्य
अरू मानिस घुम्न जाँदा नयाँ ठाउँ अनि नयाँ कुरा हेर्न लालायित हुन्छन्। तर वामदेव भने अरूभन्दा यस मामिलामा फरक छन्। ‘जहाँ घुम्न गए पनि घाँसका नयाँ बेर्ना र प्रविधि जान्न मन लाग्छ,’ उनी भन्छन्। एकपल्ट सुर्खेत घुम्न गएका उनी चकित परे, जब त्यहाँको पशु कार्यालयमा उनको उत्पादन घाँसलाई कम्प्युटरमा सजाएर राखिएको थियो। ‘मलाई त कम्ता खुसी लागेन,’ उनले भने, ‘मेरो पौरख यति परसम्म फैलिएको देख्दा सन्तोष मिल्यो।’
पूर्वमा धनकुटा, तेह्रथुम, पाँचथर, झापा अनि पश्चिममा सुर्खेत, कैलालीसम्म उनले उत्पादन गरेका घाँस फैलाएर किसानले पशुपालनबाट मनग्गे प्रगति गरिरहेका छन्।
हालै भ्रमणका सिलसिलामा इलाम पुगेका उनी साथीभाइलाई चिया बगान हेर्न पठाएर आफूचाहिँ पशुपालक किसानकहाँ पुगेछन्। ‘कस्ता घाँस प्रयोग भएका छन् भनेर जान्न मन लागेर म किसानकहाँ खोज्दै हिँडेँ,’ उनले रमाइलो घटना सुनाए, ‘त्यहाँ त मैले पठाएका घाँस मज्जासँग फैलिएका। वामदेव खनाल भनेपछि सबैले निकै माया र सम्मान दिए।’ यति भनिरहँदा हालै बिरामीले थलिएका उनको अनुहारमा बेग्लै ऊर्जा देखिएको थियो।
व्यापार घट्दा खुसी
वर्षमा २० लाख रुपैयाँसम्मको घाँसका बेर्ना बेचेका खनालको व्यापारमा अहिले केही कमी आएको छ। तर पनि उनी खुसी छन्। ‘किन होला भनेर सोचेको जताततै बेर्ना पुगेर फैलिएको रहेछ,’ खनाल भन्छन्, ‘मेरै उत्पादन जताततै फैलिएपछि माग घट्दा व्यापार पनि घटेको छ। तर म खुसी छु।’ उन्नत पशुपालक किसान बढेकाले व्यापार कम भएको बुझेका खनाल किसान आत्मनिर्भर र व्यावसायिक बन्दा आफू सफल भएको बुझ्छन्।
व्यापार घटे पनि यसलाई फेरि बढाउने उनको योजना सुरु भइसकेको छ। ‘अब अझै नयाँ जातका घाँस ल्याएर उत्पादन थालेको छु,’ हालै मात्र दुई आँख्ला घाँस किन्दा २० रुपैयाँ तिरेको उनले बताए। भने, ‘अहिले सुपर नेपियरको मूल्य र माग दुवै बढी भएकाले त्यसैको उत्पादनमा जोड दिएको छु।’ उनले आफूले किने जति किसानलाई नलिने बताए। ‘किसानले महँगोमा किन्न सक्दैनन्,’ फोक्सोको समस्या देखिएर आराम गरिरहेका उनले भने, ‘उत्पादन बढाएर मूल्य घटाउन लाग्दैछु।’
अथक खटाइ र कमाइ दुवैमा उम्दा खनाललाई पुरस्कार तथा सम्मान पनि हात लागिरहेका छन्। जिल्ला विकास समितिले उत्कृष्ट कृषक पुरस्कार प्रदान गर्नुअघि उनले कृषि मन्त्रालयबाट राष्ट्रियस्तरको उत्कृष्ट कृषक पुरस्कार हात पारिसके। उमेर ढल्कँदै गए पनि उनको जोस र जाँगरमा कमी आएको छैन। भन्छन्, ‘यही माटोले सफलता दियो। सक्दासम्म यसमै रमाउने रहर छ।’
छोरा पुस्ताको आकर्षण
आफ्ना बाबुले खेती थाल्दा वैदेशिक रोजगारीमा गएका छोरा विनोद स्वदेश फर्केको पनि ६ वर्ष पुगिसकेको छ। उनलाई सुरुमा घाँस बेचेरै कमाइ होला भन्ने लागेको थिएन। ‘यहाँ यत्तिको होला भन्ने थिएन,’ उनले भने, ‘अहिले त राम्रो भएको छ। हामी सबैले बुवालाई साथ दिँदै छौं।’
अर्का छोरा ईश्वरले पनि पिताको काममा साथ दिइरहेका छन्। अहिले यी दुई छोराले ढुवानीको साधन किनेर बाबुले थालेको पुरानो प्रविधिमा नयाँ आयाम थपेका छन्। देशैभर घाँसका बेर्ना पु¥याउन सहज भएपछि वामदेव आफ्नो व्यवसाय अझै व्यापक बनाएकोमा छोराहरूप्रति प्रसन्न छन्।
अर्का छोरा कृष्णलाई बाबुको काम दुःख लागेको थियो। ‘यस्तो दुःख गरेर के हुन्छ भनेर पसल थालेको थियो,’ वामदेव खुसी हुँदै भन्छन्, ‘तर अब ऊ पनि यतै आउँछु बा भनेको छ। उसलाई पनि यतै राम्रो कमाइ गर्न सकिन्छ भन्ने परेछ।’
अझै छ जोस
उमेरले ७० पुगेका र हालै थलिँदै गए पनि वामदेवमा अझै केही नयाँ गर्ने जोस छ। तीन छोराको साथ पाएका उनी अझै नयाँ जातका बेर्ना उत्पादनको योजना बुन्दै छन्। ‘अहिले बजारमा भुइँ घाँसभन्दा डाले घाँसको माग बढेको छ,’ उनले भने, ‘अब बढी उत्पादन दिने जात फैलाउँदै छु।’ आफूलाई अहिले पनि केही न केही गर्ने जोस आइरहने उनी बताउँछन्। ‘अहिले त छोराहरूले साथ दिन थालेका छन्,’ उनले भने, ‘तर पनि अझै काम गर्न मन परेको छैन।’
उन्नत जातको माग बढेकाले त्यस्तैतिर काम थाल्ने उनले सोचेका छन्। ‘जति बूढो भए पनि यत्तिकै बस्न मन मान्दो रहेनछ। मलाई घाँस सार्दा र गोडमेल गर्न पाउँदा नै आनन्द लाग्छ,’ यति भनिरहँदा बिरामी भएर अँधेरिएको उनको मुहारमा छुट्टै हर्ष देख्न सकिन्थ्यो।