कोरिया टू किसान
पंगेनीले प्रवासमा करिब १७ वर्ष बिताए। रोजगारीका लागि उनी भारतदेखि दक्षिण कोरियासम्म पुगे। अन्ततः उनले आफ्नो भविष्य नेपालमै देखे। र व्यावसायिक बाख्रापालन थाले।
राम्रो आम्दानी गर्ने र सुखद भविष्य खोज्दै विदेश जानेहरू बढेको बढ्यै छन्। तर कोरिया पुगेर फर्किएका स्याङ्जाका ओमप्रकाश (अर्जुन) पंगेनीले भने कोरियामा आम्दानी हुने पैसा नेपालमै कमाएका छन्। कोरियाको एक कम्पनीमा आठ वर्ष काम गरेर राम्रो आम्दानी गरेका उनी बिदामा घर आएपछि फर्किएनन्। यहीँ बाख्रा पालेर बसे।
पंगेनीले करिब १७ वर्ष प्रवासमा बिताए। रोजगारीका लागि उनी भारतदेखि दक्षिण कोरियासम्म पुगे। तर जहाँ पुगे पनि उनी आफ्नो र परिवारको भविष्य सुखमय बनाउन नेपालमै लागिपरे। प्रशस्त कमाइ भइरहेको विदेशी थलो चटक्कै छाडेर आउन उनलाई त्यति सहज थिएन। मालिकसँग केही समयका लागि बिदा लिएर स्वदेश फर्किएका उनी पुनः विदेश गएनन्। आफ्नै जन्मथलोमा बाख्रासँगै रमाउन थाले।
वालिङ नगरपालिका–११, ज्वानखोलाका पंगेनीले ‘वीर तारा बाख्रापालन उद्योग’ दर्ता गरेर बाख्रा पाल्दै आएका छन्। चार वषअघि उनले चितवनस्थित जगतपुर एग्रो फर्मबाट एउटा रेड बोयर (कलारी) पाठो ल्याएर व्यवसाय सुरु गरेका उनीसँग अहिले ६२ वटा बाख्रा छन्। उनले आफ्नै पुख्र्योली थलोमा आधुनिक खोर बनाएर २८ वटा क्रस बोयर र अन्य खरी र सानान जातका माउपाठा पालेका छन्।
खोरमा ३५ वटा माउ र अन्य पाठापाठी छन्। सानान जातका चारवटा पाठी थपिएका छन्। दूध उत्पादनका लागि खिलुङ–देउरालीबाट ती पाठी ल्याइएका हुन्। बोयरमा दूध कमी हुने र सानान दुधालु हुने हुँदा क्रस गराउने तयारीमा जुटेका छन् पंगेनी। चार वर्षपहिले आठमहिने बोयर जातको एउटा पाठो किन्दा दुई लाख ४० हजार खर्च भएको पंगेनीले बताए। आठमहिने बोयर पाठोको तौल ३५ किलो थियो। फर्ममा दुई लाख २० हजार रुपैयाँ बुझाएको र घरसम्म ल्याउँदा १८ हजार रुपैयाँ खर्च भएको उनको भनाइ छ। अहिलेसम्म उनले सात÷आठवटा क्रस बोयर बाख्राका पाठा बिक्री गरेका छन्। खोरमा १८ महिने बोयर बाख्रा ७५ किलोभन्दा बढी तौलको छ, सय किलो पुग्ने उनको अनुमान छ।
गर्भाधानको पाँच महिनामा बाख्रा ब्याउँछन्। दुई वर्षमा तीन पटक र एक पटकमा प्रायः दुई पाठापाठी जन्माउने गर्छन्। खानपान र उचित वातावरण मिले स्याङ्जाका प्रायः सबै वडामा बाख्रापालन व्यवसाय गर्न सकिने प्राविधिकको भनाइ छ। ‘बोयर जातको बाख्राको तौल अन्यको तुलनामा छिटो बढ्छ। धेरै बिरामी नहुने, वर्ष दिनमै प्रजननका लागि तयार हुने, ६ वर्षसम्म प्रजनन क्षमता हुने र अन्य बाख्राको तुलनामा निकै महँगोमा बिक्री गर्न सकिने हुँदा बाख्रापालक किसानको रोजाइमा बोयर जातको माग बढ्दो देखिएको हो’, वरिष्ठ प्राविधिक सुशील अर्यालले भने।
बाख्राको रेखदेख, लालनपालन र सरसफाइ पंगेनी आफैं गर्छन्। उनको काममा बाबा वीर, आमा तारा र पत्नी लक्ष्मीले सघाउँदै आएका छन्। ‘विदेशको मेहनत गर्ने बानी यहाँ काम लागेको छ। सय वटासम्म बाख्रा पाल्न मलाई कामदार चाहिँदैन। विदेशमा गरिने मेहनत यहाँ गरे विदेशी आर्जनभन्दा दोब्बर कमाउन सकिँदो रहेछ’, उनले भने, ‘हामी त कागले कान लग्यो भन्दा आफ्नै कान नछामी कागका पछिपछि दगुरेका रहेछौं। अन्य मुलुकको तुलनामा कृषिका लागि धेरै उपयुक्त छ नेपाल।’
बिहानदेखि साँझसम्म उनको दैनिकी बाख्रासँगै बित्छ। बिहान उठेपछि दानापानी, त्यसपछि सुकेको घाँसलगायत पराल, दिउँसो हरियो घाँस, साँझ सुकेको घाँस, पराल र दाना पानी खुवाउने गर्छन््। बिहानदेखि साँझसम्म आफ्नै समयतालिकामा खटिन्छन् उनी। बिहान उठेर चिया नास्तापछि बाख्राको खोर सफाइदेखि सुरुआत हुन्छ उनको दैनिकी। त्यसपछि घाँस काट्ने, दाना, पानी र घाँस, पराल खुवाउने अनि साँझ पनि सरसफाइ गरेर बित्ने गरेका छन् उनका अन्य दिन पनि।
दैनिक १० घण्टा काम गरेपछि सबै काम पूरा हुने उनको समयतालिका छ। घाँसपातका लागि समस्या छैन। पुख्र्यौली जमिन, पाखो र खेतबारी छन्। बाख्रापालनसँगै उनले २२ रोपनी जग्गामा विभिन्न जातका उन्नत घाँस रोपेका छन्। चितवतदेखि ल्याएर सात सय बिरुवा घाँस लगाएको अर्जुनकी पत्नी लक्ष्मीले जानकारी दिइन्।
करिब २१ वर्षको उमेरमै रोजगारीको खोजीमा उनी पहिला कतार पुगे। आमा, बाबा, एक भाइ र दुई दिदीबहिनीको लालनपालनको जिम्मेवारी पूरा गर्न बिदेसिनु परेको उनी बताउँछन्। अहिले दिदीबहिनीको बिहे भइसक्यो। भाइ सरकारी जागिरे छन्। विदेशको कमाइ पनि राम्रो थियो। वालिङमा सुविधासम्पन्न घर बनाए। छोराछोरी पनि राम्रो विद्यालयमा अध्ययनरत छन्। तर उनी हात बाँधेर बस्न सकेनन्। मेहनती पंगेनी सुखी जिन्दगी जिउनुभन्दा आफ्नै भूमिको सदुपयोग गर्देै रोजगारीका लागि बिदेसिने युवालाई स्वदेशमै केही गर्न प्रेरणाका स्रोत बनेका छन्।
बाबा, आमा, पत्नी, छोराछोरी पनि उनीदेखि खुसी छन्। व्यवसायमा सबैले सघाएका छन्। ‘छोरा विदेश गएपछि छोराछोरी पढाउन बुहारी र नातिनातिना सहर झर्ने वातावरण मौलाएको बेलामा छोराले गाउँमै फर्केर पुख्र्याैली पेसा सम्हालेर राम्रो आम्दानी लिन थालेकोमा आमा तारा पंगेनी पनि खुसी छन्।
उनले कतारमा तीन वर्ष काम गरे। त्यसपछि भारतको दिल्लीमा पनि तीन वर्ष सवारी चालक र दुई वर्ष नागालय प्रहरीको जागिरे बने। यति गर्दा पनि उनलाई आत्मसन्तुष्टि मिलेन। त्यसपछि कोरियातर्फ हानिए। कोरियाको कम्पनीका काम गरे। निकै मेहनत गर्नुपर्ने ठाउँ, आठ वर्ष त्यहीँ बिताए। साताको एक दिन उनलाई कामबाट बिदा मिल्थ्यो। बिदाका दिन विभिन्न सहर घुम्न जाने क्रममा एक दिन मोराङ सहरको खसीबजारमा पुगे उनी। त्यहाँ खसी पालेको देखेपछि आफू प्रभावित बन्दै किसानसँग पटकपटक भेटवार्ता गरेको उनी बताउँछन्। पटकपटकको भेटले उनलाई स्वदेश फर्केर बाख्रा पाल्ने मनस्थिति बनाउन सघायो। आफू बसेको सहरभन्दा एक घण्टा ३० मिनेटको रेलयात्रापछि मोराङ पुगिन्थ्यो। उनी आइतबार सधैं सो सहरमा पुगेर खसीबारे जानकारी लिन्थे।
उनले अहिले सरकारका तर्फबाट सहयोग पाएका छैनन्। बाख्रा गाउँका अभियन्ता समेत रहेका प्राविधिक सुशील अर्यालसँगको चिनाजानले दुईवटा तालिम पाएपछि आफूमा बाख्रापालनसम्बन्धी ज्ञान मिलेको बताए। राष्ट्रिय र अन्तर्राष्ट्रिय तहका बाख्राविज्ञसँगको तालिम पाएको उनले सुनाए। ‘तालिमअघि बाख्राका पठापाठी मृत्युदर बढी देखियो। तालिमपछि सो संख्या निकै कम छ। खाना कुपोषणले मृत्युदर बढेको रहेछ’, पंगेनीले भने, ‘आहार र स्याहारमा ध्यान दिए बाख्राबाट मनग्गे आम्दानी हुन्छ। एक वर्षभित्रमा कोरियाको जति कमाइ यहीँ गरेर देखाउँछु।’
बाख्रा फार्म विस्तार गरी ६० देखि ७० वटासम्म माउ बोयर बाख्रा पाल्ने अभियानमा छन् उनी। अहिलेसम्म लगानीमा रहेको र उल्लेख्य आम्दानी गर्न नसकेको उनको भनाइ छ। ‘विदेशीले हाम्रो मेहनतलाई माया गरेर पैसा दिने हुन्। विदेशमा राम्रो काम गरे उनैलाई हो। तर, स्वदेशमा गरे हामी सबैलाई हो। विदेशमा जति मेहनत गरे यहीँ राम्रो छ’, पंगेनीले भने।
पंगेनीको मेहनत देखेर र उनीजस्ता जाँगरिला किसानलाई हौसला बढाउने भन्दै वडाध्यक्ष वसन्त मल्लले फार्म बनाउन जग्गा सम्याउने बेला डोजर खर्चको व्यवस्थापन गरिदिने बताए।