टुरिजमका टाइगर
मिश्रका दृष्टिमा पर्यटन क्षेत्रको विस्तार नसक्नुको मुख्य कारण हो, कनेक्टिभिटी। यो समस्या तीस वर्षअघि पनि थियो, अहिले पनि छ। त्यस समयमा भारतबाट दुइटा र थाइल्यान्डबाट एउटा प्लेन आउँथ्यो।
भनिन्छ— जोकसैले पनि रुचिकै विषयलाई पेसामा परिणत गरे सफल हुन सजिलो छ। तर त्यसका लागि लगन, धैर्य र संघर्ष जारी राख्नुपर्छ। यही गरे वसन्तराज मि श्रले पनि। त्यसैले त उनी अहिले आफ्नो क्षेत्रमा अब्बल सावित भएका छन्। उनको परिचय नै बनेको छ— वाइल्डलाइफ टुरिजमका पायोनियर।
घुम्दाघुम्दै उनले यसैलाई पेसा बनाए। ‘आफू घुम्दा देखे, भोगेको र सिकेको ज्ञानलाई मैले पेसा बनाएँ’, मि श्रले भने, ‘आज म जहाँ छु, घुम्ने पेसाकै कारण छु।’ आजको दिनमा घुम्ने र घुमाउने पेसा गर्नेको कमी त छैन। तर विधागत पेसाको सुरुआत गर्नेको जहिल्यै महत्त्व हुन्छ, अर्थ हुन्छ। मि श्रले थालेको पेसाको पनि त्यस्तै महत्त्व छ। उनले मुलुकमै मात्र होइन एसियामै पहिलोटपक ‘वाइल्डलाइफ टुरिजम’को सुरुआत गरे। ‘अफ्रिका अफ एसिया’ भनेर ब्रान्ड उनकै अगुवाइमा बनाइएको हो। ‘एसियामा वाइल्ड लाइफ टुरिजमबारे नेपालीले नै सिकाएका हुन्’, उनले भने।
ललितपुरको कुपन्डोलका पुराना बासिन्दामध्येका मि श्र परिवारमा जन्मिएका वसन्तलाई नपुग्दो केही थिएन। राजपरिवारसँग जोडिएको पारिवारिक विरासत थियो। सबै आफन्त सरकारी जागिरमा मात्रै थिएनन्, देश विदेशमा समेत फिँजारिएका थिए। आज पनि उनको परिवारका धेरैजसो सदस्य विदेशतिरै जमेका छन्। साइन्स पढेका वसन्तराजलाई इन्जिनियरिङ पढ्छु भन्ने थियो। त्यतिबेलै उनले त्रिभुवन विश्वविद्यालयबाट स्नातक सकेर मार्केटिङमा एमबीए गरे। चाहेको भए वसन्तको हातमै जागिर थियो।
सानैदेखि घुमघाममा औधी रुचि थियो मि श्रलाई। प्रायः उनी छिमेकी देश भारत घुम्न गइरहन्थे। परिवारका सदस्य बिजनेसको सिलसिलामा विदेश गइरहन्थे। उनी भने घुम्नकै लागि जान्थे। एकपटक अलि टाढाको देश घुमौं भनेर उनी युरोप पुगे। घुमाइको प्रमुख गन्तव्य भने लन्डन थियो। त्यस क्रममा उनी त्यस वरपरका देश पनि घुमे।
‘त्यस क्रममा ममा एउटा चेत खुल्यो, जागिरभन्दा पनि काम पो गर्नुपर्छ, त्यो पनि आफ्नै रुचिको भन्ने भयो’, उनले सम्झिए, ‘युरोप घुम्दा धेरै मानिससँग घुलमिल भयो। निकै धनाढ्यका छोराछोरीले ससाना काम गरेको देखेँ।’ त्यो दृश्यले उनलाई काम ठूलो र सानो हुँदैन रहेछ भन्ने ज्ञान भयो। त्यसपछि उनी नेपाल फर्किए। पर्यटन क्षेत्रमा काम गर्छु भनेर अठोट गरे। सन् १९५३ मा जन्मिएका मि श्रले सन् १९७७ देखि पर्यटन क्षेत्रमा पाइला राखे।
परिवारको सम्बन्ध र सोच फरक थियो। वसन्तराजले कसैको निजी व्यवसायमा कामदारका रूपमा काम नगरून् भन्ने थियो। तर उनले गोर्खा ट्राभल्समा काम सुरु गरे। त्यस बेला कति नै ट्राभल एजेन्सी थिए र, उनले अन्य ट्राभल एजेन्सीमा पनि काम गरे। टाइगर टप्समा जागिरे बनेर टुरिजम व्यवसायको अनुभव सँगाले। टाइगर टप्स त्यस बेलाको विदेशी व्यवस्थापनमा सञ्चालित नेपालको नम्बर वान कम्पनी थियो।
‘विस्तारै काम सिक्दै गएँ, आफैं केही किन नगर्ने भन्ने भावना बढ्दै गयो’, मि श्रले भने, ‘अनि एडभेन्चर ट्राभल सुरु गरेँ, त्यो समय भनेको १९७९ थियो।’ त्यसपछि झन्डै नौ वर्ष केही साथीसँग मिलेर उनले काम गरे। त्यसको अर्को नौ वर्षपछि १९८८ मा उनले टेम्पल टाइगर ग्रुप अफ कम्पनी स्थापना गरे। अब उनको पर्यटनमा एकल यात्रा सुरु भयो, जसको उद्देश्य फरक र नयाँ थियो। त्यही यात्राले नेपालमा वाइल्डलाइफ टुरिजमको बीजारोपण ग¥यो।
वाइल्डलाइफ टुरिजम के हो ? नेपालमा अत्तोपत्तो थिएन। तर विदेशीमाझ यो आकर्षक थियो। त्यसका लागि जंगलभित्र होटल आवश्यकता महसुस भयो। ‘त्यही समयमा मैले चितवन निकुञ्जभित्र होटल खोल्ने मौका पाएँ’, उनले सम्झिए, ‘सन् १९९१ मा निकुञ्जभित्र रिसोर्ट स्थापना गर्न ठाउँ त पाएँ, तर बनाउने कसरी ? ’ उनले निकुञ्जको झन् विकट स्थानलाई रिसोर्टका लागि रोजे। ‘अनकन्टार नै भन्दा हुन्छ, न बाटो थियो, न पानी, केही थिएन। देख्नेहरूले पनि कस्तो मुख्र्याइँ गरेको भने’, उनले नयाँ व्यवसायका नौलो दिनका कुरा सम्झिए।
अनकन्टार जंगलमा टेम्पल टाइगर जंगल रिसोर्ट बनाउन उनले दिनरात मात्रै एक गरेनन्, पछिपछि स्थानीयवासीले साथ थिए। त्यहाँसम्म पुग्ने बाटो निर्माण गरे। देशको राजनीतिक अवस्था ठीक थिएन। यही बेला उनले चिटिक्क परेको रिसोर्ट स्थापना गरे। ‘जब जंगलको बीचमा देशविदेशका पाहुना आएर रमाउन थाले, स्थानीयवासीदेखि देख्नेहरू दंग परे। व्यवसाय फस्टायो, कमाइ पनि सोचेभन्दा राम्रो भयो’, उनले भने, ‘यो सबै गर्न सोचेर मात्रै सम्भव थिएन, त्यसका लागि मैले दिनरात एक गरेँ, वर्षका दुई सय ४० दिन त त्यसको मार्केटिङका लागि म विदेशमै रहेँ।’
त्यो यात्रा निरन्तर छ। राजनीतिक परिवर्तन भयो। आर्थिक रूपमा उतारचढावहरू खेप्नु प¥यो। त्यस अवस्थामा पनि उनले व्यवसाय बचाएर मात्रै हिँडेनन्, नेपालमा वाइल्डलाइफ टुरिजमको विस्तार र प्रचार गर्ने काम निरन्तर गरिरहे। मान्छे गाउँमै बस्न गाह्रो अवस्था थियो, उनले जंगलभित्रको एकान्त ठाउँमा रिसोर्टलाई मलजल गरिरहे। पर्यटक तानिरहे। द्वन्द्वका कारण सबै क्षेत्रमा शंका र असुरक्षा थियो। पर्यटकमा कुनै अवरोध भएन।
‘त्यसको एउटै कारण थियो, अन्तर्राष्ट्रिय बजारमा हामीले निरन्तर सकारात्मक मार्र्केटिङ गरिरहेका थियौं’, उनले सम्झिए, ‘अन्तर्राष्ट्रिय संघसंस्थामा आबद्ध भएर काम गरेका थियौं। राजदूतहरूसँग भेटघाट, हारगुहार गरेर पर्यटक भिœयाउन लागिपरेका थियौं। त्यस बेला हामीले गरेको दुःख अहिले सम्झँदा अर्कै आनन्द आउँछ।’
टेम्पल टाइगर ग्रुप अफ कम्पनीका कार्यकारी अध्यक्ष मि श्रले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार र सम्मान धेरै पाएका छन्। उनी भन्छन्, ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार तथा सम्मान गनी साध्य छैन।’ उनी प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) इन्टरनेसनलका पूर्वसचिव तथा कोषाध्यक्ष हुन्। चिलीका अवैतनिक वाणिज्य दूतसमेत रहेका मि श्र पाटा नेपाल च्याप्टर र एसोसिएसन अफ टुर अपरेटर्सका पूर्वअध्यक्ष एवं नेपाल पर्यटन बोर्डका संस्थापक सदस्य हुन्।
नेपालमा पर्यटकका लागि प्रडक्ट धेरै छन्। उनीहरू हिमाल भन्नेबित्तिकै पर्यटक पनि हुरुक्क हुन्छन्। ‘वाइल्ड लाइफ टुरिजमको पायोनियर हौं’, उनले भने, ‘वाइल्ड लाइफ टुरिजमको प्रमुख गन्तव्य अफ्रिका हो, हामीले तीसौं वर्ष मेहनत गरेर एसियामा नेपाललाई बनायौं।’ यहाँ अफ्रिकामा नपाइने एकसिङे गैंडा, बाघ पाइन्छ। त्यो हेर्न विदेशी यहाँ आउँछन्। त्यो वातावरण आफूले बताएको उनी बताउँछन्।
उनले दुःख गरेर सञ्चालनमा ल्याएको टेम्पल टाइगर जंगल रिसोर्ट मात्र होइन, चितवन निकुञ्जभित्रका सबै रिसोर्ट हटाइएका छन्। ‘हामीले दुःखले नयाँ प्रडक्ट दियौं’, उनले भने, ‘तर हामीमाथि शत्रु लागे। बाहिर भएका आमस्तरका होटेल, रिसोर्ट नचलेपछि हामीमाथि आँखा गाडियो, बन्द गर्न लगाइयो।’
तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराई सकारात्मक हुँदाहुँदै, अदालतमा मुद्दा जित्दाजित्दै पनि विविध कारणले रिसोर्ट सञ्चालन गर्ने वातावरण नबनाइएकोप्रति उनी दुःखी छन्।
‘प्राकृतिक स्रोतसाधनको संरक्षण गर्नुपर्छ भन्ने हाम्रो पनि मान्यता हो, त्यो नभए के देखाएर रिसोर्ट चल्छ र भन्ने ज्ञान हामीलाई छ’, उनले भने, ‘त्यहाँबाट आम्दानी भएको केही प्रतिशत हामीले पनि संरक्षणमा लगाएका थियौं। त्यसैका लागि अवार्ड पनि जितेका छौं। र पनि हामीलाई जंगलबाट हटाइयो। योभन्दा दुःखद अरू के हुन्छ ? ’ अहिले बाध्य भएर जंगलबाहिर टेम्पल टाइगर ग्रिन रिसोर्टका नाममा उनले व्यवसायलाई निरन्तरता दिएका छन्। अझै पनि उनी देशको समुन्नति पर्यटन व्यवसायबाटै हुनेमा विश्वस्त छन्। सरकारले पनि जंगल रिसोर्टलाई सहयोग गर्ने उनको अपेक्षा छ।
‘यहाँ आउने पर्यटकले हामीलाई मात्रै लाभ हुँदैन’, उनले भने, ‘यहाँ आउनेहरू घुमघाम गर्छन्, माउन्टेन फ्लाइटमा जान्छन्। पोखरा, काठमाडौं घुम्छन्। विभिन्न स्थानीय मौलिकताको स्वादका लागि निस्कन्छन्। त्यसले त सबैलाई फाइदै हुन्छ नि।’
समस्या उस्तै
व्यवसाय गर्दाको सुरुका दिनदेखि झेल्दै आएको समस्या अहिले पनि उस्तै रहेको मि श्र बताउँछन्। पर्यटन क्षेत्रको विस्तार नसक्नुको मुख्य कारण हो, कनेक्टिभिटी। यो समस्या तीस वर्षअघि पनि थियो, अहिले पनि छ। त्यस समयमा भारतबाट दुइटा र थाइल्यान्डबाट एउटा प्लेन आउँथ्यो। नेपाल एअरलाइन्स हङकङ, दुबई, लन्डन र पेरिससम्म उड्थ्यो। त्यो समयमा नेपालमा पर्यटक निकै बढेका थिए। त्यति हुँदा पनि फ्लाइट नै पुग्दैनथ्यो। डोमेस्टिकको पनि समस्या उस्तै। माउन्टेन फ्लाइट, पोखरा जान पनि सिट नपाइने समस्या थियो। तर, अहिले डोमेस्टिक प्लाइटको समस्या हल भएको छ। अन्तर्राष्ट्रिय र डोमेस्टिक एअरपोर्ट छुट्याउन हामीले सकेनौं। अन्य देशले एअरपोर्ट बढाउँदै गए, हामीले सकेनौं। युरोप, अमेरिका लगायतमा सीधा उडान छैन। सीधा उडान हुने हो भने पर्यटक धेरै बढ्छ।
महँगा पर्यटक
वाइल्ड लाइफ टुरिजम महँगो पर्यटन हो। शान्त वातावरणमा बस्ने, खाने, घुम्ने पर्यटन हो। प्रकृतिसँग रमाउँदै घुमघाम, जनावर हेर्ने, खाने र बस्ने उपयुक्त ठाउँ भनेकै जंगल हो। यही आनन्द लिन पर्यटक आउँछन्। दैनिक कम्तीमा दुई सय डलर उनीहरूले सजिलै खर्चिन्छन्। अहिले त्यस्ता पर्यटकका लागि उपयुक्त स्थान छैन।
अन्य रिसोर्ट, होटेलसँग जंगल रिसोर्टहरूको वातावरणमा तुलनै गर्न सकिन्न। सामान्य वातावरणका लागि किन आउने पर्यटक ? तमाम अवसर, उपाय र अवस्थालाई छाडेर नेपालको वाइल्डलाइफ टुरिजममा समर्पित वसन्तराज हरेक काममा त्याग, समर्र्पण, लगाव, इच्छाशक्ति, ऊर्जा, धैर्य र निरन्तरता हुनुपर्नेमा जोड दिन्छन्। यो गर्छु भनेर अठोट गरेर त्यसमा समर्पित हुनेलाई कर्मवीरभन्दा हुन्छ। ‘संघर्ष नगरी त पानी पनि खान पाइँदैन’, उनी भन्छन्। दुई चार वर्ष काम गरेर छाड्यो भने कुनै काम फत्ते हुँदैन, कहीँ पुगिँदैन।