बाँझो खेतमा...
रोजगारका लागि खाडी गएपछि आफ्नो बुझाइ नै अर्कै भएको उनी बताउँछन्। भन्छन्, ‘विदेशमा दिनमा १२ घण्टासम्म काम गर्नुपर्छ। त्यो समय आफ्नै ठाउँमा प्रयोग गरे जे पनि गर्न सकिन्छ।’
तीन वर्षदेखि कृषि पेसामा सक्रिय युवा योगेन्द्र बलायर (३४)ले आफूलाई सफल कृषकका रूपमा जिल्लामा स्थापित गरिसकेका छन्। डोटीको शिखर नगरपालिका–११, गोपघाट घर भएका उनले गणितमा स्नातक गरेका छन्। २०६० देखि दुई वर्ष स्थानीय अखण्ड ज्योति प्राविमा पढाएका उनी २०६६ मा मलेसिया उडेका थिए।
मलेसियामा दुई वर्ष काम गरेर फर्केका उनी फेरि घर नजिकैको मनकामना प्राविमा शिक्षणमै जोडिए। तर दोस्रो चोटि पनि उनी शिक्षण पेसामा टिक्न सकेनन्। तीन वर्ष पढाएर २०७२ देखि उनी कृषि पेसामा संलग्न भए।
रोजगारका लागि खाडी गएपछि आफ्नो बुझाइ नै अर्कै भएको उनी बताउँछन्। भन्छन्, ‘विदेशमा दिनमा १२ घण्टासम्म काम गर्नुपर्छ। त्यो समय आफ्नै ठाउँमा प्रयोग गरे जे पनि गर्न सकिन्छ।’
२०७२ सालदेखि करेसाबारीका रूपमा एउटा टनेलबाट तरकारी खेती सुरु गरेका बलायरले अहिले करिब तीन रोपनी जग्गामा तरकारी खेती गरिरहेका छन्। तरकारी खेतीबाट पूर्ण सन्तुष्ट रहेको उनले बताए। पछिल्लो समय उनलाई कृषि पेसामा लाग्दा धेरै ठाउँबाट सहयोग तथा सल्लाह पनि आउने गरेको बलायरले बताए। अहिले कृषि व्यवसायबाट सबै खर्च कटाएर वार्षिक करिब चार लाख रुपैयाँ आम्दानी हुने गरेको उनी बताउँछन्।
‘सुरुमा शिक्षण पेसा छोडेर करेसाबारीबाट कृषि सुरु गरेका कारण छिमेकीहरू मलाई बहुलायो भन्थे’, बलायरले भने, ‘अहिले आएर सबैले बधाई र प्रोत्साहन दिने गरेका छन्।’
आफ्नो परिवार र छोराछोरीसँगै तरकारी बारीमा काम गर्दाको अनुभव नै अर्को रहने गरेको उनले बताए। कृषि पेसामा घरपरिवारको समेत पूर्ण रूपमा सहयोग रहेको छ उनलाई।
उनले सबै प्रकारका तरकारी खेती गर्दै आइरहेका छन्। बेमौसमी तरकारी खेतीसमेत सुरु गरेका छन्। बलायरले उत्पादन गरेको तरकारी जिल्लाका मुख्य बजार पिपल्ला, सिलगढी तथा छिमेकी जिल्ला डडेल्धुरा तथा अछाममा समेत जाने गरेको छ। विशेषगरी आलु, प्याजका लागि चिस्यान केन्द्र नभएर समस्या भइरहेको उनले गुनासो गरे।
केआईसिंह राजमार्गनजिकै गाउँ भएकाले बजारीकरणमा धेरै समस्या नभएको उनी बताउँछन्। सेती नद्यीको छेउमै आफ्नो बस्ती भएका कारण कृषिमा ठूलो सम्भावना देखेका छन् उनले।
विदेशबाट फर्केर
वैदेशिक रोजगारमा श्रमअनुसारको पैसा नभएपछि फर्केर कृषिमा लागेका उनले भने, ‘विदेशमा गएर गरेको मेहनतले जीवनमै ठूलो पाठ सिकायो।’ उनी थप्छन्, ‘हाम्रो समाजमा पढेलेखेका युवाको ऊर्जाशील समय त्यस्तै खेर गइरहेको छ। पढेर अधिकांश युवाले कि बिदेसिनु परिरहेको छ कि त घरमा समय खेर फालेर बस्नु परिरहेको छ।’ उनी समय खेर नफाल्न सबैलाई सल्लाह दिन्छन्।
धेरै नेपालीले विदेशमा झन्नै सित्तैमा पसिना बगाउने गरेको उनले बताए। ‘शिक्षण पेसामा लागेर पनि आर्थिक पक्ष मजबुत नहुने नभएपछि कृषि पेसा समाएको हुँ’, उनी भन्छन्। कृषिले बेरोजगार युवालाई समेत परिवर्तनको बाटोतर्फ डोर्याउन सहयोग पुग्ने उनले बताए।
कामको खोजीमा भौतारिइरहेका युवालाई एकत्रित गरेर व्यवसायमा अगाडि बढाउने दीर्घकालीन सोच रहेको उनी बताउँछन्। कृषिमा गर्न चाहनेका लागि ठूलो अवसर रहेको बलायरको अनुभव छ। ‘पहाडी क्षेत्रमा अरू व्यवसायभन्दा कृषि सबैभन्दा राम्रो हो’, उनले भने, ‘तर, सिँचाइ र बजारीकरणमा समस्या भने छन् नै।’ संस्थागत ढंगबाट लाग्यो भने ती समस्यासमेत समाधान हुने उनले सुल्झाए।
करिब तीन रोपनीमा तरकारी खेती गरिरहेका बलायर यसै वर्षदेखि पाँच रोपनीसम्म विस्तार गर्ने तयारीमा छन्। परम्परागत रूपमा लगाइरहेका धान तथा गहुँ खेती यस वर्षदेखि पूर्ण रूपमा छोडेर तरकारी तथा फलफूल खेती लगाउने बलायरले बताए। तरकारीका साथै फलफूल खेतीसमेत सुरु गर्ने उनले बताए। सिँचाइका लागि पानीको समस्या भए पनि आगामी दिनमा सरकारी सहयोगमा समाधान हुने विश्वास व्यक्त गरे।
उनले गरेको तरकारी खेतीबाट अहिले गाउँका अन्य युवासमेत आकर्षित भइरहेका छन्। उनको गाउँमा अन्य युवाले समेत तरकारी खेती सुरु गरिरहेका छन्। बलायरले भने, ‘आफ्नो गाउँमा मात्रै नभई जिल्लाकै बेरोजगार युवाहरूको नेटवर्क बनाएर तरकारी तथा अन्य व्यवसायमा सहभागी गराउने सोच छ।’ जुनसुकै व्यवसाय पनि संस्थागत रूपमा अगाडि बढे सरकार तथा विभिन्न संस्थाले समेत काममा सहयोग गर्ने उनले बताए।
बेरोजगार युवालाई कुनै न कुनै व्यवसायमा लाग्न आग्रह गर्छन् उनी। ‘समयमै काममा लागेन भने पछि पछुताउनुको विकल्प हुँदैन’, बलायरले भने, ‘पछिल्लो समयमा खेतीयोग्य जमिन बाँझै राख्ने गरिएको छ। त्यस्ता जमिनमा तरकारी तथा फलफूल खेती गर्दा पैसाका लागि भौतारिइरहनु पर्दैन।’
पहाडी क्षेत्रमा परम्परागत रूपमा लगाइने धान, गहुँ, कोदो खेतीमा मेहनतअनुसारको फल नपाइने भएकाले तरकारी खेतीमा जोड दिन आग्रह गर्छन् उनी। आफूले पनि परम्परागत खेती अन्त्य गर्ने बलायरले बताए। ‘खाडी मुलुक तथा भारतमा श्रम बेचेर कुनै फाइदा हुँदैन’, उनले भने, ‘ऊर्जावान् समय मात्रै खेर जाने भएकाले बाहिरी देशमा गरिने मेहनत आफ्नै ठाउँमा गर्यो भने त्यहाँभन्दा कयौं गुना बढी कमाइ हुन्छ।’