कालीकोटका करन
करनकै सहयोगमा जिल्लाका २६ जनाले निःशुल्क कृत्रिम खुट्टा पाएका छन्। अस्पताल त छँदै छ।
मनबिनाको धन ठूलो कि धनबिनाको मन ? अहिले यो गीत खुबै चर्चित छ। समाजसेवाका लागि धेरै धन चाहिन्छ तर मन ? धन नभएका मनकारी करन सिंह, कालीकोटको विकट गाउँमा अस्पताल सञ्चालन गरेर धेरै बिरामीको सेवा गरिरहेका छन्।
कालीकोट आफैंमा विकासको दृष्टिले पछि परेको जिल्ला हो। सदरमुकाम मान्मभन्दा पनि धेरै टाढाको दूरीमा रहेको अति विकट ओदा गाउँमा करन सिंहको पहलमा हिमालय सामुदायिक स्वास्थ्य केन्द्र स्थापना भएको छ। अति विपन्न परिवार र समाजबाट निकै अपहेलित अभिभावकविहीन युवा हुन्, करन।
कालीकोटको महावै गाउँपालिका–२ ओदा घर भएका करन सिंहले अमेरिकी नागरिकहरूसँगको सहकार्यमा अस्पताल खोलेका हुन। उनले स्थापना गरेको अस्पतालमा बालबालिका, अति विपन्न, महिला, दलित, जनजाति तथा पिछडिएको समुदायको निःशुल्क उपचार हुन्छ।
१२ वर्षको हुँदा उनका बुवा रेउल सिंह बिरामी भए। उनीसँग उपचारका लागि न पैसा थियो, न नजिकै अस्पताल। भारतमा काम गर्ने र केही रकम कमाएर उपचार पनि गर्ने भन्दै उनी करनजस्ता लालाबाला छोडेर भारत लागे। करन भन्छन्, ‘त्यसपछि बुवा फर्केर घर आउनु भएन।’
बुवाको उपचार नपाएरै ज्यान गएपछि उनलाई, गाउँमा अस्पताल खोल्ने र आफ्नो बुवाजस्तै अकालमै ज्यान गुमाउने क्रम रोक्ने इच्छा जागेर आएको हो।
‘ओदाको गाउँमै ओदा फाउन्डेसनमार्फत हिमालय सामुदायिक स्वास्थ्य केन्द्रको स्थापना गरेर अहिले सयौं नागरिकहरूलाई निःशुल्क स्वास्थ्य उपचार सेवा दिँदै आएको छु’ करनले भने। करनको घरमा दिदी, एक जना बहिनी, आमा गरी चार जनाको परिवार छ। ‘भारत जानु भएका बुवाको मृत्युको खबर एक वर्षपछि पाएँ, मृत्युकोे एक वर्षपछि बुवाको काजकिरिया गरेँ,’ उनले भने।
करनको घरबासका लागि मात्रै जग्गा छ। बिरामी बुवाको भारतमा मृत्यु भएको खबर पाएलगत्तै करनको घर पनि भत्कियो। भत्किएको घरको कुनामा बसेर दिन काटे उनले। ‘पहिले खाना पकाइन्थ्यो, पछि त्यसै चुलोमा पानी खन्याएर आगो निभाएर सुत्नुपर्ने बाध्यता थियो,’ करनले अतीत सम्झे।
करनलाई १० वर्षको हुँदा गाउँमा सँगैका साथीहरूले गोल्ड स्टार जुत्ता लगाएको देखेपछि लगाउन मन लाग्यो। ‘गाउँमा पुल बनिरहेको थियो, दिदीले त्यो पुलमा मजदुरी गरेर गोल्डस्टार जुत्ता किनिदिनु भयो,’ करन भावुक सुनिए।
गाउँको विद्यालयबाट कक्षा ८ पास गरेर १२ वर्षको उमेरमा जेठोबुवा नाता पर्नेसँग करन पनि भारत हानिए। भारतको देउपुरा भन्ने ठाउँमा उनले तरकारीको भारी बोक्ने काम गरे। ‘दिनमा ५०–६० रुपैयाँ कमाउथँे, जसले खान मात्रै पुग्थ्यो,’ करनले भने।
करनको भारतको यात्रा फरकफरक सहरहरू तिर हुँदै गयो। उनी केही वर्षपछि भारतकै ऋषिकेश भन्ने ठाउँमा गए। त्यहाँ उनले भाँडा धुने काम गरे। ‘बिहान ४ बजेदेखि बेलुका ११ बजेसम्म भाँडा धुन्थे, अरू कुनै विकल्प नै थिएन,’ करनले भने। गुरुवाल हिमालयन एक्सप्लोरेसन भन्ने कम्पनी थियो। त्यहाँ विभिन्न देशका मानिसहरू आउँथे। ‘कम्पनीमा आउने विदेशीहरूसँग बोल्दाबोल्दै अंग्रेजी पनि सिकियो,’ उनले भने।
करन कामको पर्याय थिए। उनले त्यही कम्पनीमा पछिपछि डुंगा चलाउन सिके। डुंगा चलाउन सिकेपछि कम्पनीले उनलाई विदेशीहरूलाई घुमाउने काम दियो। भाँडा धुने कामभन्दा उनले अलि सजिलो काम पाए।
करन त्यो कम्पनीको म्यानेजरको पोस्टमा पनि पुगे। ‘जीवनको मोडहरू कति उकाली ओराली गर्छन्,’ करनले भने। उनको जीवनको ‘यु टर्न’ मामाले भेटाइदिएका अमेरिकन नागरिक जोन क्रिस्टोफरलाई भेटेपछि भयो। उनका मामा टोपबहादुर मल्ल जसले सीएनएन हिरो विदेशी नागरिक म्यागी डोएनसँग सहकार्य गरेर सुर्खेतमा अनाथ, असहाय र बिपन्न बालबालिकाका लागि कोपिला भ्याली नामक विद्यालय चलाएका छन्।
मामाले करनको भेट अमेरिकाको फ्लोरिडाका जोन क्रिस्टोफरसँग गराइदिए। करनले जोन क्रिस्टोफरलाई कालीकोट घुमाउने जिम्मा पाए। ‘एक दिनको कुरा, हामी कालीकोटको ओदानकु भन्ने स्थानमा पुग्यौ। जोन क्रिस्टोफरलाई पखाला लाग्यो। उपचारका लागि गाउँमा अस्पताल थिएन। जोन क्रिस्टोफरलाई त्यहाँबाट पादमघाटसम्म पाँच जनाले बोकेर निजी मेडिकलमा पुर्याए। उपचार गराउनका लागि जोन क्रिस्टोफरको झन्डै ३६ सय खर्च भयो।
‘आफूलाई सामान्य पखाला लाग्दा त यति धेरै पैसा लाग्यो। यहाँका विपन्न नागरिकहरूले कसरी उपचार गराउँछन् होला ? ’ जोन क्रिस्टोफरले भनेको कुरा अहिले पनि करन सम्झिन्छन्। जोन क्रिस्टोफरले करनलाई गाउँमा अस्पताल खोल्न र त्यसमा आफूले सहयोग गर्ने भनेपछि अहिले दैनिक सयौं मानिसहरू त्यस अस्पतालमा निःशुल्क उपचार पाइरहेका छन्।
‘हामी तत्काल सुर्खेत गयौं, औषधि ल्याएर गाउँ फर्कियौं, तर औषधि राख्ने स्थानको अभाव थियो, हामीले गाईको गोठमा गोबर पन्छाएर बाकसमा औषधि राखी स्वास्थ्य सेवा दिन सुरु गर्यौं,’ करनले भने।
गोठबाट सुरु भएको स्वास्थ्य सेवापछि स्थानीय १० जनाले दुई हजार वर्गमिटर जग्गा उपलब्ध गराइदिएपछि २०७० मंसिरबाट औपचारिक अस्पतालका रूपमा सञ्चालनमा आयो। अहिले एक जना एमबीबीएस डाक्टरसहित २५ जनाले रोजगारी पाएका छन्।
शल्यक्रिया बाहेकका सबै सेवा अस्पतालले दिँदै आएको छ। बर्थिङ सेन्टरसहितको ओपीडी सेवाहरू अस्पतालले सञ्चालन गरेको छ। करन सिंह त्यो अस्पतालका अध्यक्ष हुन्। उनले अस्पतालको आयस्रोतका लागि कुखुरापालन गरेका छन् भने लेकमा दुई सय स्याउका बिरुवा रोपेका छन्।
‘केही रकम कुखुरा बिक्री गरेर आउँछ भने दिगो आम्दानीका लागि स्याउ रोपेका हौं,’ करनले भने।
शिक्षाले सबैतिर उज्यालो छर्ने भएकाले उनले ओदामै ४ देखि १० कक्षासम्म अध्ययनरत बालबालिकाहरूलाई निःशुल्क तयारी कक्षा पनि सञ्चालन गरेका छन्। ‘फेल हुने अनुपात धेरै छ, विद्यालयमा पढाइ राम्रो नहुने भएकाले पनि तयारी कक्षा सञ्चालन गरेर बालबालिकालाई उत्तीर्ण हुने प्रेरणा दिन यस्तो गरिएको हो,’ करनले भने।
अस्पताल परिसरमै एउटा बाल विकास कक्षा पनि छ। जहाँ ४८ जना बालबालिका अध्ययन गरिरहेका छन्। गुणस्तरीय शिक्षा दिनका लागि नमुना विद्यालय पनि बनाउने योजना छ उनको। अस्पताल सञ्चालनका लागि यो वर्ष गाउँपालिकाले १६ लाख बजेट दिएको छ। गाउँपालिकामा सञ्चालन हुने भनिएको १५ शय्याको अस्पताल तत्काल बन्न नसक्ने भएकाले चलिरहेको अस्पताललाई नै रकम दिइएको गाउँपालिकाले जनाएको छ।
भारतमै हुँदा करनको अमेरिकाको ग्रिन कार्ड बनिसकेको थियो। कम्पनीको म्यानेजर भएपछि अमेरिका जाने–आउने गर्थे उनी। ‘ग्रिनकार्ड त्यागेँ, भारतको नोकरी पनि त्यागेँ, अहिले जस्तो आनन्द काँ अमेरिकामा पाउनू,’ करनले थपे, ‘गाउँका गरिब, विपन्न असहायको सेवामै आनन्द आउँछ।’
‘मेरो जीवनको पीडा त भनी नसक्नु छ। पहिले जस्तो गरिब थिएँ, अहिले पनि त्यस्तै छु। तर पहिले मसँग समाजको अवहेलना थियो, अहिले धेरै नागरिकको आशीर्वाद छ।’ ओदा फाउन्डेसनकै सहयोगमा जिल्लाका २६ जनाले निःशुल्क कृत्रिम खुट्टा पाएका छन्।