बोता बेपार

बोता बेपार

पाँच वर्षअघि महाराजगन्जको बेरी एन्ड डेरी क्याफेबाट व्यवसायमा हात हालेका निभेनले एनपी ग्रुपअन्तर्गत बोता चेन रेस्टुरेन्ट, बी एन्ड डी क्याफे, बी एन्ड डी बेकरी र मिल्क को आइसक्रिम सञ्चालन गरिरहेका छन्।


परम्परागत दुना, टपरी र त्यसभित्र सजिएका स्वादिष्ट ममका परिकार देख्दा कसको मुख रसाउँदैन ? सफा, स्वच्छ र रमणीय वातावरणमा जिब्रो फट्कार्दै बोताबाट स्वाद टिप्नेको भीड देख्दा बिहे, व्रतबन्धमा गरिएको भोज हो कि भन्ने भान हुन्छ। तर, यो कुनै भोज, पार्टी नभएर व्यावसायिक रूपमा खोलिएको रेस्टुरेन्ट चेन हो। उनका रेस्टुरेन्टहरूमा बोतामा मम पस्कन्छन्, त्यहाँका वेटरहरूले।

स्विट्जरल्यान्ड, अमेरिका र बेलायतका प्रतिष्ठित विश्वविद्यालयबाट उच्चशिक्षा लिएपछि नेपाल फर्किएका एक ३६ वर्षे युवाले सजाएको सपनाको संसार हो यो। काठमाडौंकै बालुवाटारमा व्यावसायिक परिवारमा हुर्किएका निभेन अमात्यसँग के थिएन ? बुवा र दाजुले सुरु गरेको विरासतको बिजनेस, युरोप र अमेरिकाका प्रतिष्ठित विश्वविद्यालयबाट उच्चशिक्षा अध्ययन गरेको प्रमाणपत्र। सबैका हाई–हाई थिए, उनी। बाहिरबाट देख्दा शान्त लागे पनि उनीभित्र आगो बलिरहेको थियो।

सुत्दा, उठ्दा, बस्दा, रेस्टुरेन्टमा खान जाँदा उनलाई केही नयाँ काम गर्ने भन्ने हुटहुटीले सताइरहन्थ्यो। उनी भन्छन्, ‘पिजा, बर्गरजस्तै नेपाली परिकार पनि कसरी ब्रान्डिङ गर्ने ? मैले किचनमा बिहान बेलुकाको खाना बनाउँदा पनि यही सपना देखेको हुन्थेँ।’ उनका अनुसार सपनालाई यथार्थमा बदल्न मैदानमै ओर्लन पर्छ। गन्तव्य खुट्याउन पाइला चाल्नैपर्ने उनको सुझाव छ।

हिँड्दै जाँदा लड्न सकिन्छ, त्यसबाट उठेर अगाडि बढ्नु जीवनको यथार्थ हो। विरासतमा आएको व्यवसायलाई छाडेर छुट्टै केही गर्छु भन्दा कम्ता जोखिमपूर्ण थिएन तथापि उनले त्यसलाई सहज रूपमा लिए। किनकि विरासतको व्यवसायले एउटा लय समातिसकेको हुन्छ, स्थापित भइसकेको व्यवसायलाई अघि बढाउनुभन्दा नयाँ व्यवसाय सुरु गर्नु जोखिम पनि हो। परिवारले पनि त्यस निर्णयमा उनलाई साथ दियो। दिनरातको खटन, मेहनत, धैर्य र लगनले उनलाई सफल उद्यमी बनायो। उनी आफू मात्रै सफल भएनन्, आफूसँगै करिब एक हजार जनाको घरमा चुल्हो रंगाउन त्यही जोखिमपूर्ण निर्णयले साथ दियो।

पाँच वर्षअघि महाराजगन्जको बेरी एन्ड डेरी क्याफेबाट व्यवसायमा हात हालेका उनले एनपी ग्रुपअन्तर्गत बोता चेन रेस्टुरेन्ट, बी एन्ड डी क्याफे, बी एन्ड डी बेकरी र मिल्क को आइसक्रिम सञ्चालन गरिरहेका छन्। सानो कोठामा बेरी एन्ड डेरी क्याफेमार्फत फ्रोजन योगर्ट मुख्य मेनु लिएर व्यवसाय सुरु गरेका उनलाई त्यसपछि पछाडि फर्किनु परेन। त्यसको दुई वर्षमा बालुवाटारमा सेन्ट्रल किचन खोले। त्यहाँ उनले रेस्टुरेन्टका लागि किचेन र कोल्ड चेनका लागि यथेष्ट लगानी गरे।

‘स्वच्छ वातावरण, खानाको गुणस्तर र सेवा पहिलो सर्त हो, त्यसमा कसैसँग सम्झौता हुँदैन। त्यसकै लागि सेन्ट्रल किचन खोलिएको हो। त्यहीँबाट सबैतिर खाना आपूर्ति हुन्छ’, उनी भन्छन्, ‘व्यवस्थित बधशाला नहुँदा गुणस्तरीय र स्वच्छ मासु पाउन गाह्रो थियो। त्यसकै लागि पनि हामीले धेरै लगानी गर्नुपर्‍यो। हाम्रोमा हुने सबै परिकारमा गुणस्तर मेन्टेन छ। हामी त्यसको ग्यारेन्टी दिन्छौं।’

बोता चेन रेस्टुरेन्टको भने ललितपुरको कुमारीपाटीमा रहेको आउटलेट पहिलो हो। त्यसयता काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा आठवटा आउटलेट खुलिसकेका छन्। उनका अनुसार बोता आउटलेटमार्फत उपत्यकामा सबैभन्दा धेरै मम बिक्री हुन्छ। ठूलो मात्रामा बिक्री हुने हुनाले मुनाफा सातदेखि १२ प्रतिशत हुँदा पनि राम्रोसँग सञ्चालन भएका छन्।

दैनिक हजारौं प्लेट मम बिक्री हुने बोता चेन रेस्टुरेन्टमा ममका मात्रै ५० भन्दा धेरै भेराइटी पाइन्छन्। खानाका परिकारमा विविधीकरण गरिएको यस चेन रेस्टुरेन्टको मुख्य आकर्षण ममको स्वाद र बायो डिग्रेडेबल बोता नै हो।

बोताले सांस्कृतिक पहिचान दिन्छ भने ममले स्वाद। उनी भन्छन्, ‘तिथि, श्राद्ध, भोजभतेर र भगवान्को पूजाआजामा प्रयोग गरिने बोताले हाम्रो संस्कृतिको झल्को दिन्छ। वातावरणीय हिसाबले उपयुक्त छ भने स्वदेशमै उत्पादन हुन्छ।’ हाम्रो सान, आफ्नैै पहिचान— उनी बोता ममलाई यसरी सम्झन्छन्। दूरदराजमा आयआर्जनको अवसर सिर्जना हुने यस प्रयासले नेपाली परिवेशलाई आत्मसात् गरेको उनको बुझाइ छ। रेस्टुरेन्ट चेनमा प्रयोग गर्ने सबै बोता नवलपरासीबाट आउँछ। काठमाडौं उपत्यकामा खोलिएका रेस्टुरेन्टले नवलपरासीका बोता आपूर्तिकर्ताले पनि मूल्य शृंखलामा आबद्ध भएर यसको लाभ प्राप्त गरेका छन्।

उद्यम गर्न खोज्नेका लागि नेपाल भर्जिन ल्यान्ड हो। अवसर धेरै छ, बस त्यसलाई कसरी अवसरमा बदल्ने भन्ने उपाय खोजे पुग्छ। तर, युरोप अमेरिकाको बजार परिपूर्ण भइसकेको छ। ती देशमा प्रणाली स्थापित भइसकेको छ। जतिसुकै नयाँ गर्न खोजे पनि त्यही प्रणालीभित्रको औजार हुने हो। नेपालमा इतिहास बनाउने अवसर मिल्ने उनको भनाइ छ।

वातावरणीय प्रदूषणलाई ख्याल गरेर सजिलै नष्ट गर्न सकिने बायो डिग्रेडेबल प्लेट दुना, टपरी, बोता प्रयोग गरेको हेर्नकै लागि रेस्टुरेन्टमा आउनेहरू अहिले नियमित ग्राहक छन्। कुमारीपाटीमा पहिलो आउटलेट सुरु गर्दाको पहिलो दिनको अनुभवले उनलाई झनै हौसला बढायो। दुई दिनका लागि भनेर तयार गरेको मम आधा दिनमै सकिँदा उनलाई दिनभर कसरी पुर्‍याउने चुनौती थपिएको थियो।

बोता’ मम को लागि विशेष भए पनि यहाँ सबै प्रकारका मेनु पाइन्छन्। मम नै किन रोज्नुभयो भन्दा उनी भन्छन्, ‘कुन मेनुलाई फोकस गर्ने भन्ने अलमलमा थिए। विभिन्न मेनु राखेर मार्केट स्टडी गरे। तर ७० देखि ७५ प्रतिशत ग्राहकको रोजाइमा मम परेको देखेपछि मम लाई नै ब्रान्डिङ गर्ने सोच बनाए।’ केही काम सुरु गर्नुभन्दा पहिले त्यसबारे राम्ररी अध्ययन गर्न सुझाउँछन् उनी। मनमा द्विविधा लिएर होइन, उत्साहले सफलता मिल्छ।

१८ देखि ४० वर्ष उमेरका मानिसलाई रोजगारी दिएका उनले पुरानाबाट अनुभव र युवाबाट जोस प्राप्त हुने बताए। युवा जोस र पुरानाको अनुभवलाई एकै ठाउँ मिलाउन सके देश स्वर्ग बन्ने उनको भनाइ थियो। आफ्नो क्षमतालाई पूर्ण उपयोग गर्न सुझाएका उनी उद्यमी वा जागिरे जे बने पनि आत्मसन्तुष्टिका साथ कर्मक्षेत्रमा लाग्नुपर्ने सुझाव दिन्छन्। लगानीको ७० प्रतिशत सेयर होल्ड गरेका उनले उद्यमी बन्न इनोभेसन, प्यासन, भिजन र मिसन अनिवार्य रहेको उल्लेख गरे।

अनुभवले नै सफलता चुम्न सकिन्छ भन्ने अमात्यले चुनौती स्वीकार गरी अवसरमा बदल्न सक्नुपर्ने उल्लेख गरे। सुरुका दिन १८ घण्टासम्म खटिएका उनले सामूहिकताबाटै सफलता मिल्ने बताए। कडा परि श्रम र स्फूर्ति जीवनका गहना ठान्छन्, उनी। उनी सधैं कामलाई प्राथमिकतामा राख्छन्।

मान्छे कहिल्यै पनि सन्तुष्ट हुँदैन र उसलाई केही गरौं गरौं लागिरहन्छ। उनको महŒवाकांक्षाले पनि त्यसरी नै पखेटा फिजाइरहेको छ। उनी बोता मार्ट र बोता मिनरल वाटर खोल्ने सोचाइमा छन्। देशभर आफ्नो रेस्टुरेन्ट चेन बनाउने तरखरमा लागेको एनपी ग्रुपले बुटबल, चितवन र पोखरामा नयाँ आउटलेट खोल्ने र फ्रेन्चाइज दिने योजनामा छन्। फ्रेन्चाइजी मोडलमा उपत्यकाबाहिर खुल्न लागेका ती आउटलेटमा क्वालिटी कन्ट्रोल सेन्ट्रल किचेनबाटै हुने छ।

बोता ममको फ्रेन्चाइजी लिनकै लागि एक सयभन्दा बढी ठाउँबाट प्रस्ताव आइसकेको उनी बताउँछन्। यो सफलतालाई उनी नेपालमा मात्र सीमित राख्न चाहँदैनन्। बोतालाई मल्टिनेसनल चेन रेस्टुरेन्टको रूपमा डेभलप गर्ने उनको सोच छ। भारत, मेक्सिको, अमेरिका, अस्ट्रेलिया र जापानबाट पनि फ्रेन्चाइजी माग भएको उनी बताउँछन्। त्यसको क्वालिटी कन्ट्रोल र मेनु केन्द्रबाटै तोकिने छ।

कलिलै उमेरमा सफलता चुमेका उनी त्यसको श्रेय आफ्नो पारिवारिक पृष्ठभूमिलाई दिन्छन्। उनका अनुसार अवसरको खोजीमा बिदेसिनुभन्दा युवा जोस र भिजन लिएर देशभित्रै सम्भावना पहिल्याउनुपर्छ। विचारलाई सेल गर्ने जमाना हो यो। केही नयाँ गर्‍यो भने विदेशीले पनि त्यसको सिको गर्छन्। हामी अरूको पिछलग्गु बन्नु हुँदैन अभियन्ता भएर अगाडि बढ्नुपर्ने उनको सुझाव छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.