मायाघरकी माता

मायाघरकी माता

माया घर बनाउन एक वर्षअघि उनले इटहरीकै केही महिलालाई साथ लिइन्। र पुराण लगाइन्। इटहरी— २ मा माया घरका लागि स्थानीयले सात कट्ठा जग्गा दिए। पुराणबाट संकलित पैसाले अरू तीन कट्ठा जग्गा थपिन्।


‘एउटी नारी भएर यो स्थानमा पुग्न निकै कठिन परि श्रम गर्नुपर्‍यो, जो मान्छे बाहिर हाँस्छ, त्यो मान्छेको भित्र दर्दनाक कहानी हुन्छ रे’, इटहरीमा आयोजित एउटा भागवत् महापुराणको कार्यक्रममा एउटी नारीले भनिन्। भव्य पान्डाल, चारैतिर साउन्ड बक्स अनि माइकको बीचमा एउटी नारी आफ्नै जीवनकथा भन्दै थिइन्। उनी थिइन्, राधिका दासी।

‘२०४५ साल भदौ १ को जन्म। पढाइमा अत्यन्तै तीक्ष्ण, जसले १२ वर्षको उमेरमा एसएलसी सक्कायो,’ मलिन स्वरबाट क्रमशः हाँसीहाँसी बोल्न सुरु गरेकी उनको गला एक्कासि अवरुद्ध भयो, ‘भन्न पनि गाह्रो हुने रैछ।’

राधिका दासीको जन्म मोरङको कानेपोखरी गाउँपालिकामा भएको हो, पण्डितको घरमा। दोस्रो सन्तानका जन्मिएकी उनको पढाइ भने काठमाडौंमा भयो।

काठमाडौंमा बसेर पढिरहँदा १८ वर्षको उमेरमा उनको विवाह भयो। तर त्यो वैवाहिक सम्बन्ध निकै कष्टपूर्ण थियो उनका लागि। आफ्नो परिवार र पढाइका विषयमा उपस्थित सयौंलाई सुनाइरहँदा आँसु थाम्न सकिनन्। माफी माग्दै आँसु पुछ्दै अनि फेरि रुँदै बोल्न थालिन्, ‘मेरा मातापिताको इच्छामै मेरो विवाह भयो, मैले कुनै प्रेम विवाह गरेकी थिइनँ।’

राम्रो र सम्पन्न परिवार भनेरै छोरीको विवाह गरिदिने निर्णय लिएका थिए राधिका दासीका आमाबुबाले। पारिवारिक संस्कारले आमाबुवाको रोजाइमा प्रश्न उठाउन मानेन र राधिकाले विवाह गरिन्। तर, विवाह भएको केही समयमै उनका श्रीमान् मानसिक बिरामी भएको खुल्यो। झुक्याएर विवाह गरिदिएको रहेछ। त्यसपछि पनि राधिकाले परिवार सम्हाल्न सक्छु कि भनेर सात वर्ष कोसिस गरिन्।

उनी आफू पनि पढ्दै स्कुल पढाउँथिन्। छोरा जन्मियो। त्यसबीचमा श्रीमान्का कारण कति हिंसा भोगिन्, पुराण सुन्न बसेका भक्तजनका अगाडि भन्दाभन्दै उनले कैयौंपटक आँसु पुछिन्। सुनिरहनेका आँखा रसाए। महिलाहरूले साडीको फेरले आँसु पुछे।

‘आफ्नै श्रीमान्ले रातको ११ बजे कुनै जंगलमा लगेर तलाईं मार्छु भनेर तरबार देखाउँदा कस्तो हुन्छ होला ? म एक्ली छोरी, त्यो प्रेममा हुर्केकी थिएँ, जहाँ मेरा पाँच जना काकाहरूले कहिल्यै भुइँमा राख्नुभएन,’ उनले रुँदै भनिन्, ‘अहिले हेर्नुहुन्छ यी हातहरू, त्यो समयमा मेरो हातमा दागैदाग थियो, सिगरेटले पोलेर, मलाई मर्न मात्र मन लाग्थ्यो।’

छोराको हर्कतबारे जानकार उनका आमाबुवाले पनि उनलाई सुधार्न कुनै प्रयास गरेनन्। जसका कारण बुहारी राधिकामाथि बारम्बार यातना बढ्दै गयो। उनले सहनै नसक्ने अवस्थामा पुगेपछि मर्ने विचार गरिन्।

कतै सुनिन्, ‘स्लिपिङ ट्याब्लेट खायो भने त सुतेको सुत्यै मरिन्छ रे।’

सहज मृत्यु खोज्दै उनी ३६५ वटा स्लिपिङ ट्याबलेट बोकेर पशुपतिको जंगलमा पुगिन्। ‘जब पानी निकालेर खान लागेकी थिएँ, स्कुलबाट फोन आयो, तपाईंको छोरा सिकिस्त छ भनेर, अनि दौडेँ।’

उनलाई यति चाँडै मर्न लेखेको थिएन क्यारे।

सात वर्षपछि उनले श्रीमान्सँग बस्न नसक्ने निश्चित गरिन्। ‘मैले पहिलो पल्ट परिवारलाई त्यतिखेर मात्रै भनेँ, जब अब चाहिँ बस्न सकिँदैन भन्ने निश्चित भयो,’ उनले भनिन्।
त्यसपछि आफ्नो परिवारसमेतको सहमतिमा उनले सम्बन्धविच्छेदको मुद्दा हालिन्। अंश पाउनुपथ्र्यो उनले। ‘तर सबै जेठो छोराको नाममा अंश राखिएको रहेछ। मेन्टल पेसेन्टलाई मुद्दा लाग्दैन रे, मैले पछि मात्र थाहा पाएँ,’ उनले भनिन्।

त्यसपछि उनी मोरङ आइन्। छोरालाई विराटनगरको एउटा स्कुलमा भर्ना गरिन् अनि आफू पनि त्यहीँ पढाउन थालिन्। दुई–तीन महिनापछि उनी भारतको वृन्दावन लागिन्, मन बहलाउन। उनका अनुसार त्यहाँ एक जना गुरुले उनलाई जीवन त्यसै खेर नफाल्न, बरु समाजका लागि काम गरेर उपयोग गर्न सल्लाह दिए।

उनी त्यहीँ बसेर पढ्न थालिन्। ‘सानोमा हजुरबुबाको संगतमा लागेर मैले वेदका मन्त्र पढ्न थालिसकेकी थिएँ, त्यसैले त्यहाँ त्यस्तो गाह्रो भएन,’ उनी भन्छिन्। आचार्यसम्म पढेर नेपाल आएकी राधिका दासी यति बेला इटहरीमा माया घर बनाउने सपना बोकेर हिँडिरहेकी छिन्। ठाउँठाउँमा पुराण भन्दै सहयोग संकलन गर्छिन्।

उनले वृन्दावनमा रहँदै धार्मिक प्रवचन दिन थालिसकेकी थिइन्। त्यहाँका केही संस्थामा अंग्रेजीमा पनि प्रवचन दिइन् उनले। पछि आफ्नै देशमा केही गरौं भन्ने सोचेर २०७१ सालमा नेपाल आएकी हुन् उनी। उनले नेपाल आएर पहिलो पटक आफ्नै खर्चले इटहरीमा पुराण लगाइन्। इटहरीवासीलाई आफ्नो कथा सुनाइन्। माया घरको परिकल्पना पनि बताइन्।
माया घर त्यही घर हो, जहाँ उनका श्रीमान् जस्तै मानिसहरूलाई राखेर उपचार गरिन्छ। त्यस्तै सडकमा बस्ने अशक्त, असहायहरूलाई समेत उद्धार गरिन्छ।

‘अहिलेसम्म हामीले १३ जनालाई उपचार, दिइसकेका छौं,’ उनले भनिन्। तुरुन्तै मायाघर बन्ने हो भने प्रदेशभरबाट चार सयभन्दा बढीलाई राखेर उपचार गर्न सकिने उनको भनाइ छ। माया घरमा परिवारबाट माया नपाएर बेघरबार बनेका, गलत संगत वा मानसिक अवस्थाका कारण सडकमा आएकाहरूलाई राखेर उपचार गरी सीप सिकाएर स्वरोजगार बनाउने अनि पुनस्र्थापना गर्ने उद्देश्य छ।

माया घर बनाउन एक वर्षअघि उनले इटहरीकै केही महिलालाई साथ लिइन्। र पुराण लगाइन्। इटहरी— २ मा माया घरका लागि स्थानीयले ७ कट्ठा जग्गा दिए। पुराणबाट संकलित पैसाले अरू तीन कट्ठा जग्गा थपिन्। अहिले त्यहाँ घरको संरचना बन्दै छ। तर पैसाको अभाव छ।

दाताहरूको रुपैयाँ दान र मुठी दानका भरमा माया घर र त्यहाँ आ िश्रतहरूको पालनपोषण भइरहेको छ। ‘एक सय ४४ जना जति हुनुहुन्छ, धरान, इटहरीका सहयोगीहरूले दैनिक एक रुपैयाँ र मुठीदान गरिरहनुभएको छ,’ उनी भन्छिन्। यस्तै प्रदेश सरकारले सहयोग गर्ने आश्वासन दिए पनि सहयोग आइनसकेको उनी बताउँछिन्।

दुई वटा विषयमा मास्टर्स गरेकी र काठमाडौंमा बसेर पढेकी राधिका दासी यसरी चन्दन घसेर पुराण भन्न कुद्लिन् भनेर न त उनका परिवारले सोचेको थियो, न उनी आफैंले। तर भाग्यले यसरी घुमाएर ल्यायो कि उनले आफ्नो जीवनलाई ‘खेर’ फाल्नुभन्दा समाजको हितमा खर्चिने निर्णय लिइन्।

‘म पहिला शिक्षिकाका रूपमा बालबालिकालाई ज्ञान प्रदान गर्थें,’ उनी भन्छिन्, ‘आज अभिभावकलाई पनि बुझाउने ठाउँमा छु।’ हिंसामा परेका महिलाले दबिएर बस्न नहुने उनको भनाइ छ। ‘सबैलाई प्रेरणा दिने गरी काम गर्नुपर्छ,’ उनले भनिन्, ‘माया घरमा मजस्तै हिंसामा परेका र अझ बस्ने घर नपाएका महिलाहरूलाई समेत आ श्रय दिने योजना छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.