अविरल यमुना

अविरल यमुना

खाटबाट उठ्न नसके पनि थुप्रै गजल र बालकथाहरू लेखेर यमुना निरन्तर आफ्नो काममा सक्रिय छिन्। उनी भन्छिन्, ‘मैले हाल बाल उपन्यास लेख्न सुरु गरेको छु।’


अस्पतालमा सय दिन बिताएर यमुना पराजुली अधिकारी (३५) बल्लतल्ल घर फर्किइन्। उनलाई आईसीयूमा ८५ दिन बसेको याद छ। कयौं महिना पीडाले बर्बराएको याद छ। २०७५ सालको असारमा दुर्घटनामा परेपछि उनको दायाँ खुट्टामा गहिरो चोट लागेको थियो। सोचेकी थिइन्, ‘अब जीवनमा कहिल्यै हिँड्न सक्दिनँ।’ आज दुर्घटना भएको १० महिना बित्यो। यमुना धर्मराउँदै पाइला टेक्न थालेकी छन्।

जीवनमा जतिसुकै कठिन परिस्थिति आए पनि हिम्मत र साहस बटुल्दै सबै पीडाबाट पार पाउन कठिन रहेनछ। यमुनालाई देख्नेहरू त्यस्तै भन्छन्। सधैं हाँसिरहने। सधैं हँसाइरहने। उनको स्वभाव नै रसिलो छ। उनलाई भेट्दा उनी बिरामी छिन्, अशक्त अवस्थामा छिन् भन्ने महसुस नै हुँदैन। सायद यमुनालाई आफ्नो पीडा देखाउने मन छैन।

दुर्घटना कहिले कसरी हुन्छ भन्न सकिँदैन। कतिबेला सकुशल शरीर अपांगमा परिणत हुन्छ त्यो पनि भन्न सकिँदैन। तर जस्तोसुकै परिस्थितिमा पनि मान्छेले बाँच्ने संघर्ष गर्न छाड्दैन रहेछ। यमुना पनि त्यही संघर्ष गर्दै अघि बढेकी महिला हुन्।

शरीर नचले पनि उनको लेख्ने हातको जाँगर कम भएको छैन। कोठामा बसीबसी उनी लेख्ने पढ्ने, र बालबालिकाको विषयमा ज्ञान हासिल गर्ने काम निरन्तर गरिरहेकी छन्।

मुड चल्नेबित्तिकै उनी लेख्न बस्छिन् र तुरुन्तै एउटा लेख तयार पारेर पत्रपत्रिकामा छपाउन भ्याउँछिन्। किताबी ज्ञान, जीवनमा देखेका र भोगेका अनुभवहरू, आफ्नै वरिपरिको गतिविधि, परिवार, समाज सबैबाट उनी हरेक दिन केही न केही सिकिरहेकी हुन्छिन्।

मोरङ सलकपुरमा जन्मिएकी यमुना सानैदेखि लेख्न सक्रिय थिइन्। स्कुलमा हुने हरेक कार्यक्रमहरूमा उनले थुप्रै गीत, गजलहरू प्रस्तुत गरेकी छन्। उनको प्रतिभा देखेर सबैले हौसला दिन्थे।

सानोमा बुबाको सरुवा जहाँजहाँ हुन्थ्यो उनी त्यही जान्थिन्। सलकपुर हुँदै बेलबारी झरेको उनको परिवार पछि मूलघर धनकुटामा बसेको थियो। यमुनाले त्यहीँको स्थानीय विद्यालयबाट एसएलसी पास गरिन् र १२ कक्षासम्म पढिन्।

सानै उमेरमा उनको विवाह भएको थियो। उनी हाँस्दै भन्छिन, ‘पढ्दापढ्दै बिहे भयो।’ त्यसपछि बच्चा र परिवारको साथमा उनी काठमाडौं बस्न थालेकी थिइन्।

उनका ससुराबुवा बालकृष्ण अधिकारीको साथमा यमुना विभिन्न कार्यक्रममा जान्थिन्। बुवाले कवितावाचन गरिरहँदा उनलाई पनि केही भनँुभनुँ लाग्थ्यो।

उनमा कथाकविताप्रतिको रुचि देखेर ससुराबुवा दंग थिए। बुहारीमा आफ्नो स्थान लिन mसक्ने खुबी देखेपछि उनले यमुनालाई अगाडि बढाउने निर्णय गरेछन्। त्यसपछि यमुनाले निरन्तर गजल लेख्न थालिन्। बालबालिकाका लागि थुप्रै लेख प्रकाशन गर्न थालिन्।

विवाहपछि प्रायः महिला आफ्नो खाइपाइ आएको जागिर छोड्न बाध्य हुन्छन्। आफ्नो सपना र रुचिलाई तिलाञ्जलि दिनुपर्ने हुन्छ। तर यमुनाले भने त्यस्तो त्याग गर्नु परेन। परिवारका हरकोही सदस्यले उनलाई अगाडि बढ्न साथ दिए।

अचानक दुर्घटनामा पर्दा केही असहज अवश्य भएको थियो। तर यमुनाले आफूलाई कहिल्यै कमजोर ठानिन्। खाटमाथि थलिएर बसेको एक वर्ष हुन लाग्यो। खुट्टापट्टिको आधा शरीर ब्याल्ङ्केटले ढाँकेकी छन्। आधी शरीर सिरानीमा ढल्काएर उनी भन्छिन्, ‘हुनु भइसक्यो अब चिन्ता लिएर केही हुन्न।’

अस्पताल र घरमा भेट्न आउने उनका आफन्तहरू उनको हालत देखेर आँखा ओभाउँछन् तर यमुनाले कहिल्यै आँसु झारिनन्। उनले कहिल्यै रुनुको कारण देखिनन्। यति ठूलो दुर्घटनापछि लगातार उनको परिवारले उनलाई साथ र सहयोग दिँदै आएका छन्। उनलाई नुहाइदिने, खुवाइदिने, शौचालय लगिदिने सबै काम गरेका छन्।

प्रत्येक पल्ट ‘केही हुँदैन तिमीलाई, हामी छौं’ भन्दै हौसला दिएका छन्। आफन्तको यति धेरै मायाले उनलाई सायद कहिल्यै रुनै दिएन।

‘पातको श्रीपेज’, ‘तिल्के सुगा’, ‘फूलको गहना’ र ‘सबलको सपना’गरी यमुनाको अहिलेसम्म चारओटा बालकथा संग्रह प्रकाशित भइसकेको छ। उनले ‘जलसा’ नामक गजल संग्रह २०६४ सालमा प्रकाशित गरेकी थिइन्।

दुई छोराकी आमा भइसकेकी यमुनाले २०७० मा काठमाडौं आएर २०७४ भदौमा पुस्तक प्रकाशनको काम सुरु गरेकी छन्। आमा सावित्रा र सासूआमा लक्ष्मीको मुख हेर्दै उनी अहिले दिनहरू बिताइरहेकी छन्। छोरी छिट्टै हिँडडुल गर्न सकोस् भन्दै यी आमाहरू प्रार्थना गर्छन्। आँखाभरि आँसु राख्दै छोरीलाई नियाली रहन्छन्। आमाको मन न हो। सन्तानको पीडामा कहाँ खप्न सक्थे र। तर पनि यमुनाको स्याहारमा यी दुई आमा जुटेका छन्।

परिस्थितिसँग कहिल्यै हार नमानेकी यमुनाले बिरामी अवस्थामा पनि लेखपढ गर्न झर्को मानेकी छैनन्। आफूले सक्दो गर्नु पर्छ र आफूलाई हरदम सक्रिय बनाई राख्नुपर्छ भन्ने उनको मान्यता छ। त्यसैले त खाटबाट उठ्न नसके पनि थुप्रै गजल र बालकथाहरू लेखेर यमुना निरन्तर आफ्नो काममा सक्रिय छिन्। उनी भन्छिन्, ‘मैले हाल बाल उपन्यास लेख्न सुरु गरेको छु।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.