सम्बन्ध-विच्छेदका अन्तरकथा

सम्बन्ध-विच्छेदका अन्तरकथा

यही वैशाख १३ मा सामाजिक सञ्जालमा एउटा फोटो भाइरल भयो, जहाँ एक युवतीको शरीर पूरै जलेको थियो भने अनुहारमा अक्सिजन पाइप थियो। फोटो थियो– सिरहाकी २१ वर्षीया कञ्चन मण्डलको। बाँच्नका लागि संघर्ष गर्दागर्दै उनको प्रयास असफल भयो। उनी अकालमै जलाएर मारिइन्। उनकी सासू र पतिले उनलाई मट्टीतेल खन्याएर आगो लगाएका थिए। सँगै बाँच्ने प्रतिबद्धतामा बिहे भएको केही समय नबित्दै पत्नीलाई आगो लगाउने हिम्मत कसले दियो उनका पतिलाई ?       यस्ता पुरुष उत्पादन गर्ने समाज पनि हाम्रै हो।

वैवाहिक सम्बन्ध सामाजिक र कानुनसम्मत हुन्छ। धेरैजसोले यसलाई सम्झौताका रूपमा बुझ्ने गरेका छन्। समाजमा शदीयौंदेखि वैवाहिक प्रथा चलिआएको छ। प्रेम, सद्भाव, आपसी विश्वासमा अडिने यो सम्बन्धमा हरेकले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ। पतिले घरबाहिरको काम गर्ने र पत्नी घरभित्रकै काममा सीमित हुने परम्परा फेरिँदो क्रममा छ। शिक्षित महिलाको संख्या बढ्दै छ। राज्यको नीति निर्माण तहदेखि सरकारका उच्च पदको जिम्मेवारी पूरा गर्न पनि महिलाले कुशल क्षमता देखाइसकेका छन्। घरभित्रको कामबाट महिला आत्मनिर्भरको बाटोमा बढ्ने क्रममा छन्।

शताब्दीऔंदेखि समाज पितृसत्ताको जगमा उभिएको छ। पुरुषले बनाएको नियमबाट महिला शासित हुने पुरुष सत्ता हो। हाम्रो समाजमा अझै पनि पुरुषलाई सर्वेसेवा ठान्ने प्रवृत्ति बाँकी नै छ। यसले समाजमा महिलाको स्थान दोस्रो दर्जाको ठानिन्छ। वैवाहिक सम्बन्धमा महिलाले खुसी, आत्मीय र पूर्ण स्वतन्त्रता पाउन मुस्किल छ। अपवादबाहेक महिलालाई घरभित्रै सीमित बनाइन्छ। पछिल्लो दशकले बदलिएको धेरै संकेत दिएको छ। सम्बन्धका नयाँनयाँ आयामसँगै आपसी खटपट र अविश्वास पनि झागिँदो छ। महिला हिंसा सहन छोडेर आत्मनिर्भरको बाटो अँगाल्न थालेको देखिन्छ। पतिले जे गरे पनि सहेर बस्नुपर्छ भन्ने मान्यता हट्दै छ। सम्बन्ध–विच्छेदका तथ्यांक हेर्दा पछिल्लो एक दशकमा मुद्दा दर्ताको संख्या तेब्बर बढेको छ।

गएको वर्ष सर्वाेच्च अदालतको वार्षिक प्रतिवेदनअनुसार देशभर सम्बन्ध–विच्छेदका १७ हजार ६ सय ९५ वटा मुद्दा दर्ता भए। जबकि १० वर्षअघि ५ हजार १ सय ९ वटा मुद्दा मात्रै दर्ता भएको थियो। १० वर्षको अन्तरालमा तेब्बर संख्यामा यस्ता मुद्दा दर्ता हुनुले विवाह संस्थाको परम्परागत मान्यताप्रति प्रश्न उठाएको छ। विवाहभित्र रहेको साँघुरो घेरा, पतिको हैकमवादी चरित्र र समाजको मान्यताले परिवर्तन हुन जरुरी छ भन्ने अपेक्षा गरेको देखिन्छ।

आत्मनिर्भरको पाटोमा महिला सक्षम भए भने यातना र विभेद सहेर बस्ने अवस्था अन्त्य हुनेछ।

सम्बन्ध–विच्छेद हुनुमा महिलाको मात्रै गल्ती ठान्ने परम्परा पुरानै हो। महिलाले संस्कार नमानेको आरोप लगाइन्छ। यसलाई ठूलो समस्याका रूपमा व्याख्या गरिन्छ। तर सम्बन्ध–विच्छेद कुनै समस्या नभएर समाज विकासको एक प्रक्रिया हो भन्छन् मानवशास्त्री सुरेश ढकाल। उनी ‘विविध घटना र परिवर्तनको हिस्सेदार समाज भएकाले केही घटनाका आधारमा यसको व्याख्या गर्न नहुने तर्क गर्छन्। ढकालका अनुसार, ‘पहिले–पहिले विवाह पारिवारिक छनोटमा हुने गथ्र्यो। पारिवारिक संस्कार र नियम पनि कडा थियो। युवायुवती परिवारको निर्णयको विरोधमा जना सक्दैनथे। तर विवाह व्यक्तिगत निर्णयका आधारमा हुने चलन चल्यो। मान्छेमा निजत्व र वैयक्तिकता बढ्दै गयो। उनीहरू आफ्ना लागि बाँच्न सक्ने भए।’

शिक्षित र आत्मनिर्भर भएसँगै महिलाले आत्मसम्मान पनि खोजी गर्न थाले। समान काम र आपसी विश्वासको खोजी हुन थाल्यो। पारिवारिक दायित्वको जिम्मेवारीमा पति–पत्नी दुवैले बहन गर्नुपर्ने बाध्यता आयो। घरको काममा पुरुष पनि सहभागी हुनुपर्ने र बाहिरी काममा महिला पनि सक्रिय हुन थाले। जसका कारण पारिवारिक कलहको वीजारोपण भयो। महिलाको क्षमता नगन्ने प्रवृत्ति जताततै हावी देखिन्छ। शदीयौंदेखि महिलाको क्षमता र आत्मसम्मानलाई ख्याल नगर्ने पुरुषहरूको सम्बन्ध अब नचल्ने भयो। महिला आफूमाथि हुने हिंसा र यातनाको प्रतिकार गर्न थाले।

सम्बन्ध–विच्छेदको दर हेरेर समाज बिग्रियो भन्नेहरूलाई अर्को मानवशास्त्री डम्बर चेम्जोङले यस्तो जवाफ दिएका छन्, ‘यसले वैवाहिक जीवनको रूपान्तरण भइरहेको यथार्थ बुझ्न सकिन्छ। व्यक्ति चेतना, स्वतन्त्रता र आत्मनिर्भरताले महिलामा ऊर्जा थपेको छ। पुरुष हैकमवादी संस्कारका विरुद्धमा एउटा पहलका रूपमा यसलाई लिनुपर्छ। हिजो पेट पाल्नकै लागि महिला घरेलु हिंसा सहन बाध्य थिए। आजका महिलामा आर्थिक निर्भरता देखिन्छ। अधिकार र स्वतन्त्रताका मामलामा उनीहरू सकारात्मक देखिन थाले। बराबर कमाउन सक्ने भए।’

मनोविद् करुणा कुवरका अनुसार ‘सम्बन्ध–विच्छेदको दर बढ्नुले समाज परिवर्तन हुँदै छ र महिलाको मामिलामा समाज उदार बन्दैछ भन्न सकिन्छ। सामूहिकताबाट व्यक्तिकेन्द्रित हुँदै गएको हाम्रो समाजका चरित्र यसले देखाउँछ। सम्बन्ध–विच्छेद व्यक्तिगत कुरा भएकाले यसले समाज विखण्डन भयो भन्नु गलत हो। सानो निहुँ पाउनासाथ सम्बन्ध–विच्छेद दर्ता गर्छन् भन्नु आफैंमा विभेद हो। पतिपत्नीबीच माया, आपसी सद्भाव र विश्वास भएन भने सम्बन्धमा दरार आउन थाल्छ। एउटाको व्यवहारले अर्कालाई असर पुर्‍याउने अवस्था आएमा त्यस्तो सम्बन्ध भविष्यका लागि पनि अनुकूल हुँदैन।’

सम्बन्ध–विच्छेदको दर बढ्नुमा महिलाको मात्रै भूमिका नभएर पुरुषको पनि समान जिम्मेवारी छ। गत भदौदेखि पुरुषले पनि सम्बन्ध–विच्छेदका मुद्दा दिन पाउने कानुनी व्यवस्था आएपछि पनि यसको दर बढेको हो। सम्बन्ध–विच्छेदले दुवै परिवारमा केही असहज परिस्थिति निम्त्याउँछ। छोरा–छोरीको पालनपोषणको उचित व्यवस्था गरेर मात्रै सम्बन्ध–विच्छेद गर्नु ठीक हुने मनोविद्हरू बताउँछन्। महिला होस् कि पुरुष, आफ्नो इज्जत, सम्मान सबैलाई प्यारो हुन्छ। आत्मसम्मान गुम्ने अवस्थामा सम्बन्ध टिकाउनु गलत हुने करुणाको धारणा छ। उनका अनुसार सम्बन्ध–विच्छेदलाई करियर बनाउने अवसरका रूपमा लिने हो भने यसले दुवैको भविष्य राम्रो बनाउनेछ। आत्मनिर्भरको पाटोमा महिला सक्षम भए भने यातना र विभेद सहेर बस्ने अवस्था अन्त्य हुने उनको दाबी छ।

सम्बन्ध–विच्छेद महिलाको सशक्तीकरण र घरेलु हिंसासँग जोडिएकाले यसकै आधारमा महिलाले समाज बिगारे भन्ने आरोप लगाउन मिल्दैन। पहिले बिहे पारिवारिक छनोट थियो भने अब व्यक्तिगत भएको छ। मान्छेको वैयक्तिकता र निजत्व बढ्दै गएको छ। बिहे भनेको आर्थिक स्रोतको उपार्जन र पहुँचसँग जोडिन्छ। महिला सहअस्तित्वको जिन्दगी बाँच्न र हिंसा र यातनाविरुद्ध आवाज उठाउन सक्ने भए। पहिले अन्यायविरुद्ध बोल्ने अवस्था थिएन।

हिंसाविरुद्धमा न्याय पाइन्छ भन्ने चेतना महिलामा थिएन। शिक्षामा भएको सहभागितादेखि आत्मनिर्भरताजस्ता सवालले सम्बन्ध–विच्छेद गर्नेहरूको संख्या बढेको हो। धेरैजसो अवस्थामा सम्बन्ध–विच्छेद बाध्यकारी हुन्छ। आफ्नो जीउज्यानको सुरक्षा नहुने र बारम्बार यातना दिइरहने व्यक्तिसँग छुट्टिएकै राम्रो हुन्छ। सन्तान र आफ्नो भविष्य राम्रो बनाउने बाटोमा लाग्ने हो भने सम्बन्ध–विच्छेदलाई अवसरका रूपमा पनि लिन सकिन्छ। कतिपय अवस्थामा यो व्यक्तिगत चाहना नहुँदानहँुदै पनि जरुरी पनि हुन्छ। हुन त सम्बन्ध तोडिसकेपछिको जीवन पनि कम चुनोैतीपूर्ण हँुदैन। तर आफ्ना लागि बाँच्न पाउने र आफूले मन लागेको पेसा अपनाउन पाउने अवसर पनि मिल्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.