नीति तथा कार्यक्रमप्रति निजी क्षेत्र उत्साहित
काठमाडौं : सरकारले ल्याएको नीति तथा कार्यक्रमप्रति निजी क्षेत्र उत्साहित देखिएको छ। नीति तथा कार्यक्रमले देश विकासको मार्ग प्रशस्त हुने निजी क्षेत्रको विश्वास छ। समग्रमा नीति तथा कार्यक्रम राम्रो भए पनि कार्यान्वयनमा निजी क्षेत्रले आशंका गरेका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन्। उक्त नीति तथा कार्यक्रमप्रति निजी क्षेत्रले सकारात्मक प्रतिक्रिया दिएको हो। पूर्वाधार निर्माण क्षेत्रमा जोड दिएकाले कुन स्रोतबाट कार्यान्वयन हुन्छ भन्ने विषयमा निजी क्षेत्र आशंकाले हेरेको छ। नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरार्काले समग्रमा धेरै कुरा सकारात्मक भएको बताए। विकाससम्बन्धी विकासका कुरामा ध्यान दिइएको उनको भनाइ छ। सिमेन्टलाई निकासीजन्य वस्तुमा पहिचान गर्नु सकारात्मक भए पनि निकासी कसरी गर्न सकिन्छ भन्ने कुरामा अन्योल रहेको उनको भनाइ छ। ‘सिमेन्ट निकासी गर्न सरकारले माहोल सिर्जना गर्नुपर्छ, घोषणा गरेर मात्र हुँदैन’, उनले भने। दर्ता गर्ने कुरामा पनि सहज बनाइएकोमा उनले खुसी व्यक्त गरे। सहकारी पनि निजी क्षेत्रको पाटो भएको भन्दै उनले नीति तथा कार्यक्रममा सहकारी बढी उल्लेख भएको बताए।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले नीति तथा कार्यक्रम राम्रो भएको बताए। ‘सुन्दा सरकारको नीति तथा कार्यक्रम राम्रै छ’, उनले भने, ‘कार्यान्वयन हुन्छ कि हुन्न भन्ने महत्वपूर्ण कुरा हो।’ ‘सुखी नेपाली, सम्मृद्ध नेपाल’ अभियान सार्थक बनाउन नीति तथा कार्यक्रम कार्यान्वयनमा जोड दिनुपर्ने उनको भनाइ छ। नेपाल उद्योग परिसंघका अध्यक्ष सतिस मोरले नीति तथा कार्यक्रमले पूर्वाधार क्षेत्रमा जोड दिएको बताए। नीति कार्यक्रम राम्रो भए पनि कुन संयन्त्रले काम गर्छ भन्ने कुरामा आशंका रहेको उनको भनाइ छ। ‘इच्छाशक्ति भए कार्यान्वयनमा समस्या छैन’, उनले भने, ‘तर कुन स्रोतबाट कार्य सम्पादन हुन्छ भन्ने कुरा निजी क्षेत्र अलमलमा छ’, उनले भने।
दुई तिहाईको सरकार भएकाले उपलब्धी हुनेमा उनी विश्वस्त छन्। ‘सरकारले राम्रो काम गर्दै आएको छ, अब देश विकास अघि बढेको छ’, उनले भने। लगानी सम्मेलन, राष्ट्रपतिको चीन भ्रमणलगायतले सरकारको सफलता देखिएको उनको दाबी थियो। नेपाल घरेलु तथा साना उद्योग महासंघका महासचिव डम्बर रेग्मीले नीति तथा कार्यक्रम ठिक रहेको प्रतिक्रिया दिए। उद्योग, व्यवसायमा फोकस नभइ केही पनि नहुने भन्दै उनले सारकारले उद्योग क्षेत्रमा प्राथमिकता दिएको बताए। ‘जे बोलिन्छ, त्यो पूरा गर्नुपर्छ’, उनले भने, ‘नीति कार्यक्रम हावादारी नबनोस्।’
होटल संघ नेपालका महासचिव विनायक शाहले सरकारले ल्याएको नीति तथा कार्यक्रम समग्रमा राम्रो रहेको बताए। ‘सरकारी कार्यक्रम कुन वर्ष पो नराम्रो आउँछ र ? ’, उनले भने, ‘सरकारले हरेक वर्ष आकर्षक योजना समेटेर नीति तथा कार्यक्रम ल्याए पनि कार्यान्वयन फितलो हुन्छ।’ कार्यक्रम मात्रै राम्रो आएर नहुने भन्दै कार्यान्वयन गर्ने पक्ष बलियो हुनुपर्ने उनको भनाइ छ। सरकारी अघिल्ला वर्षमा ल्याएका र राष्ट्रिय महत्वका कार्यक्रमको कार्यान्वयन तथा बजेट खर्च निराशाजनक छ। १५/२० प्रतिशत बजेट खर्चेका आयोजना गौरवमा परेका छन्। यसमा भएका कमजोरी सुधार हुनुपर्ने उनको भनाइ छ।
सरकारले आगामी वर्षका लागि पर्यटनलाई प्राथमिकता दिएको छ। आर्थिक विकासको सबैभन्दा महत्वपूर्ण पक्ष पूर्वाधार निर्माण हो। ठूला पूर्वाधारसँगै पर्यटन पूर्वाधार पनि बन्नुपर्ने उनको भनाइ छ। ‘पर्यटक ल्याउन विमानस्थल सहितका पूर्वाधार चाहिन्छन्’, उनले भने। सरकारले काम गर्ने कर्मचारीलाई पुरस्कृत र नगर्नेलाई दण्डित गरेर भए पनि कार्यक्रम कार्यान्वयन गर्नुपर्नेमा उनले जोड दिए।