वृद्धाश्रममा आउने सबै ‘सन्तान’
देवघाटधाम : देवघाटस्थित वृद्धाश्रमका वृद्धालाई शनिबार भ्याइनभ्याई थियो। सबैका खाटमा फलफूलका झोला, कपडा र बिस्कुट देखिन्थ्यो। औंसीमा भेट्न आएका ‘सन्तान’ ले दिएको सामग्री थन्क्याउन व्यस्त थिए वृद्धा।
सन्तान नभएका र सन्तान भएर पनि बेसाहरा भएका आमाहरूले अरूकै सन्तानसँग खुसी साटेर मातातीर्थ औंसी मनाएका छन्। देवघाट क्षेत्र विकास कोषबाट सञ्चालित आश्रममा रहेका आमाका लागि वृद्धाश्रममा आउने सबैलाई आफ्नो सन्तानका रूपमा हेर्छन्।
१०३ वर्षीया उमादेवी खनाल आश्रमकी सबैभन्दा वृद्धा हुन्। उनको सात वर्षको उमेरमा बिह भएको थियो। बिहेको दोस्रो वर्ष श्रीमान्को निधन भयो। उमादेवीलाई सन्तानको मायाको अनुभव छैन। उमादेवी विगत ११ वर्षदेखि वृद्धाश्रममा छिन्।
देवघाट समाजकल्याण केन्द्रमा आउने दाता नै उनका सन्तान हुन्। आश्रममा खाना खुवाउने र फलफूल ल्याइदिनेलाई उनी आफ्नो सन्तान ठान्छिन्। आमाको मुख हेर्ने दिन उनलाई खासै नौलो लाग्दैन। सन्तान नभएपछि यसको महत्त्व नभएको उनले बताइन्। ‘आश्रममा आएर खुवाउँछन्, माया गर्छन्, तीनै मेरा सन्तान हुन्’, उमादेवीले भनिन्, ‘जुनीजुनीमा कमाएको सन्तान हुन् भन्ने लाग्छ।’ पाँच दाजुभाइ र ९ दिदीबहिनीमध्ये उनी मात्रै जीवित छिन्।
भरतपुर अस्पतालमा उपचार गराइरहेकी मायादेवी छत्कुलीको दिनचर्या पनि वृद्धाा श्रममै बित्छ। उनका चार छोरा र दुई छोरी सानैमा बितेका हुन्। आश्रममा भेट्न आउनेहरुलाई उनी सन्तान ठान्छिन्। ‘पूर्वजन्मका छोराछोरीझैं लाग्छ’, मायादेवीले भनिन्, ‘उनीहरूले हामीलाई खानेकुरा र कपडा ल्याइदिन्छन्। यही मायाले खुसी दिन्छ।’ आश्रमका वृद्धवृद्धा बिहान पूजापाठ र दिउँसो भजनमा रमाउँछन्।
‘सन्तान नभएर के भो त ? आश्रममा आउने सबै सन्तान हुन्’, ८५ वर्षीया नर्वदा ढकालले भनिन्, ‘आमा भनेर आउँदा रमाइलो लाग्छ अनि मेरै हुन् भन्ठान्छु।’
आश्रममा ३१ वृद्धवृद्धा छन्। तीमध्ये १९ जना आमा छन्। आश्रममा विभिन्न तिथि पारेर खाना खुवाउने दाता आउँछन्। उनीहरूको पालनपोषण दाताको सहयोगमा हुँदै आएको आश्रममका व्यवस्थापक ढकराज कोइरालाले बताए।