१०१ को ‘पुण्यतिथि’ एकैदिन !

१०१ को ‘पुण्यतिथि’ एकैदिन !

गुल्मी : मदाने गाउँपालिका–२ बाझकेटरी भेडीखोरस्थित बाल विकास आधारभूत विद्यालयका बालबालिका स्मृति कोषको सहयोगमा पढिरहेका छन्। उक्त स्कुलले हरेक वर्ष वैशाख २० लाई विशेष दिनका रूपमा सम्झने गर्छ। काम विशेषले घरबाहिर भएका अभिभावक समय मिलाएर उक्त दिन अनिवार्य विद्यालय पुग्छन् पितृको स्मरण गर्न। जो उपस्थित हुन असमर्थ हुन्छन् उनीहरू वर्षभरि पछुताउँछन्।

परिवार गुमाएकाहरूको सम्झनामा सबैले विद्यालयमा ‘स्मृति कोष’ स्थापना गरेका छन्। कोषमा रकम जम्मा गर्नेलाई स्वैच्छिक बनाइएको छ। एक हजारदेखि ५० हजारसम्म आफन्तले कोषमा रकम राखेका छन्। विद्यालयले सबै मृतकको छुट्टै कोठामा फोटा सजाएर राखेको छ। यी फोटा वर्षको एक दिन प्रांगणमा निकाल्ने गरिन्छ। र, आफन्त आएर फोटामा माला, अबिर, अगरबत्ती बालेर मृतकको सम्झना गर्छन्।

यस दिनलाई अभिभावक ‘पुण्यतिथि’ का रूपमा लिने गर्छन्। उक्त दिन विद्यालयमा प्रसाद वितरण गरिन्छ। विद्यालयले स्मृति कोष खडा गरी विविध कार्यक्रम गर्दै आएको छ। उक्त कोषमा ६ लाख ९६ हजार २ सय ३१ रुपैयाँ जम्मा भएको छ। विद्यालयले मूलधन गाउँमा परिचालन गरेको छ। वार्षिक आउने ब्याजको ७५ प्रतिशत गरिब, जेहेन्दार विद्यार्थीलाई पोसाकसहित र सबै विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्छ। यस वर्ष ३५ जना गरिब र जेहेन्दार विद्यार्थीले शैक्षिक सामग्रीसहित पोसाक पाएका छन्। ब्याजको २५ प्रतिशत रकमले २० गतेको कार्यक्रम खर्च व्यवस्थापन हुने गर्छ।

कोषमा रकम जम्मा गर्नेहरू बर्सेनि बढ्दै जान थालेका छन्। थोरै रकम पनि कोषमा जम्मा गर्न सकिने र वर्षको एकदिन मृत बुवा, आमाको सम्झनामा हुने कार्यक्रममा सहभागी हुन पाइने भएपछि धेरैको चासो बढेको छ। ‘बुवाआमा धेरै पहिले बित्नुभयो’, स्थानीय खिमबहादुर घर्तीले भने, ‘बुवाको नाममा दुई हजार पाँच सय र आमाको नाममा दुई हजार रुपैयाँ कोषमा सहयोग गरेको छु।’ यस्तो कार्यक्रमले बुवा, आमाप्रति सम्मान हुने गरेको अनुभूति उनले सुनाए।

२० वर्षपहिले श्रीमान् गुमाएकी बाझकटेरी भेडीखोरकी स्थानीय वृद्धा पवित्रा भुसालले दुई हजार ५० रुपैयाँ कोषमा सहयोग गरेकी छन्। उनका श्रीमान् जेदुलाल भुसालको ०५६ सालमा मृत्यु भएको थियो। श्रीमान्को नाममा विद्यालयको कोषमा राखेको कोषका कारण उनीसहित सयौँलाई विद्यालयले बर्सेनि सम्मान गर्दै आएको छ। स्मृति कोषमा रकम जम्मा गर्नेहरू १ सय १ जना पुगेका छन्।

सामाजिक सद्भाव कायम गर्न यस्ता कार्यक्रमले मद्दत पुर्‍याएको प्रधानाध्यापक विष्णुप्रसाद भुसालले बताए। ‘जो जहाँ भए पनि वर्षमा एक दिन विद्यालयमा आउनुहुन्छ’, उनले भने, ‘मृतकका आफन्तलाई भेला गराएर सम्मान गर्छौं। जुटेको ब्याजको रकमले विद्यार्थीलाई शैक्षिक सामग्री र पोसाक वितरण गर्छौं।’ यस वर्ष १ लाख ३४ हजार ब्याज संकलन भएको उनले सुनाए। जिल्लामै नयाँ कार्यक्रम थालनी गरिएको उनको भनाइ छ। थोरै रकमबाट पनि अभिभावकले मृत आफन्तलाई सम्झने अवसरका रूपमा लिने गरेका छन्। विद्यालयले आफ्ना अभिभावकलाई मात्र रकम जम्मा गर्न पाउनुपर्ने बनाएको छैन।

मुलुकका जुनसुकै क्षेत्रका अभिभावकले आफन्तको सम्झनामा उक्त कोषमा रकम जम्मा गर्न सक्छन्। आफन्तहरूको तिथिमिति जुन दिन परे पनि यस दिनलाई वार्षिक पुण्यतिथिकै दिनजस्तो सम्झेर मनाउने गरेका छन्। कोष सञ्चालन र विद्यार्थीलाई आकर्षण गराउन यस्ता रचनात्मक कार्यक्रमले सघाउ पुर्‍याएको व्यवस्थापन समितिका अध्यक्ष निमलाल भुसालले सुनाए। ‘अभिभावकले स्वैच्छिक रूपमा रकम जम्मा गर्नुहुन्छ’, उनले भने, ‘सबैले नयाँ कार्यक्रम गर्नुभयो भन्छन्।’
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.