गाउँमा खुल्दै उद्योग
ताप्लेजुङ : मैवाखोला गाउँपालिकाका पहलमान चोङ्वाङले घरमै हाते कागज उद्योग सञ्चालन गर्दै आएका छन्। गाउँकै जंगलमा पाइने अर्गेली र लोक्ताको प्रयोग गरेर वार्षिक एक हजार तीन सय कोरी (एक कोरीमा २०० ताउ हुन्छ) कागज उत्पादन गर्छन्। उनको कागज बिक्री गर्ने बजार भने काठमाडौं हो।
‘यहाँ उत्पादन भएका सबै कागज सिधै काठमाडौं लगेर बिक्री गर्छु’, स्थानीय नारायणी माविका प्रधानाध्यापक समेत रहेका चोङ्वाङ भन्छन्, ‘वार्षिक ४० लाखको कारोबार हुन्छ, त्यसमा २५ लाखभन्दा बढी खर्च कटाएर आम्दानी हुन्छ।’ उनले २० ग्राम, ३० ग्राम र ४० ग्राम साइजको कागज उत्पादन गर्ने गरेका छन्। प्रतिकोरी ३ हजार देखि ३ हजार २ सय रुपैयाँसम्ममा बिक्री हुन गरेको चोङ्वाङले सुनाए। कच्चा पदार्थको रूपमा प्रयोग हुने लोक्ता प्रतिकिलो सय र अर्गेली एक सय २० रुपैयाँले खरिद गरेर प्रशोधन गर्ने गरिएको छ। लोक्ता र अर्गेली गाउँकै जंगलमा प्रशस्त पाइन्छ।
चोङ्वाङको स्थापना गरेको गोरुजुरे नेपाल कागज उद्योगमा ६ परिवारका १८ जनाले प्रत्यक्ष रोजगारी पाएका छन्। उनीहरू उद्योगस्थलमै बसेर काम गर्छन्। उनीहरूले काम गरेको आधारमा पारि श्रमिक पाउँछन्। यस वर्षदेखि जापनिज प्रविधिको नेपाली हाते कागजको पनि उत्पादन सुरु गरेको उनले बताए। दिउँसो विद्यालय र बिहान बेलुका उद्योगमा खट्छन् उनी। सदरमुकाम फुङलिङमा व्यवसाय गर्दै आएका आठराई त्रिवेणी गाउँपालिकाका बालचन्द्र आङ्बुहाङले गाउँपालिकाको केन्द्र हाङपाङमा इँटा उद्योग स्थापना गरेका छन्।
संघीयता कार्यान्वयनसँगै गाउँमा सम्भावना देखेपछि ३५ लाखको लगानीमा सिमेन्टको इँटा बनाउने उद्योग खोलेको उनी बताउँछन् । भूकम्प प्रतिरोधी मानिने यो इँटामा सिमेन्ट, बालुवा, माटोजस्ता कच्चा पदार्थ प्रयोग हुन्छ। प्रत्यक्ष रोजगारी पाएका ११ जनाले काम र सीपअनुसार मासिक १८ हजार रुपैयाँसम्म तलब पाउँछन्। गाउँपालिकामा बजार विस्तार हुने भएपछि सदरमुकाममा भन्दा गाउँमा लगानी बढाएको उनको भनाइ छ। ‘संरचनाहरू गाउँमै धेरै बन्न थालेका छन्’, आङ्बुहाङले भने, ‘जिल्ला सदरमुकाममा भन्दा धेरै सम्भावना देखेर लगानी गरेको हुँ।’ हिमाली जिल्ला ताप्लेजुङमा लामो दूरी पार गरेर तराईका जिल्लाबाट इँटा ल्याउने गरिएको छ ।
बाहिरबाट ल्याउँदा महँगो पर्ने र अधिकांश फुट्ने हुँदा उद्योगको आवश्यकता महसुस गरेको उनले बताए। ‘उद्योग खुलेपछि स्थानीयले रोजगार पाएका छन्, कच्चा पदार्थ पनि स्थानीय प्रयोग गरेको छु’, उनले भने, ‘बाहिरको भन्दा सस्तो पनि छ ।’ गाउँमै सिमेन्टबाट इँटा बनाउने उद्योग खुल्नु सकारात्मक रहेको स्थानीय मणी सेम्बु बताउँछन्। ‘जनप्रतिनिधि निर्वाचित भएपछि गाउँमा धेरै चहलपहल बढेको छ’, उनले भने, ‘यो ठूलै लगानीको कम्पनी हो, अन्य १० लाखसम्मका उद्योग पनि खुल्ने क्रममा छन्।’ सिलाई कटाई, ढाका बुनाईजस्ता घरेलु उद्यमी पनि बढेको उनको भनाइ छ।
सोही स्थानका निर्माण व्यवसायी उदय आङ्बुहाङले ढुंगा काट्ने मेसिन ल्याएका छन्। गाउँमा ढुंगाको काम बढी हुने देखेर साढे ४ लाखको लागतमा मेसिन खरिद गरेको आङ्बुहाङ कन्स्ट्रक्सनका प्रोपाइटर समेत रहेका उनले बताए। ‘ढुंगा काट्ने मेसिन जिल्लामै पहिलोपटक ल्याएको हुँ’, उनले भने, ‘निर्माणका काममा ढुंगाको प्रयोग बढी हुने भएकाले मेसिनको प्रयोग गर्दा छिटो र सजिलो पनि हुन्छ।’
दुई वर्षयता स्थानीय सरकार क्रियाशील छन्। स्थानीय आवश्यकताका आधारमा आफैं बजेट बनाउने र कार्यान्वयनको अधिकार उनीहरूलाई छ। यसले गाउँका नागरिकलाई थोरै भए पनि आशा जगाएको नागरिक अगुवा खड्गविक्रम सुवेदीको भनाइ छ। ‘सदरमुकामसम्म पुग्नुपर्ने काम गाउँपालिका र वडाबाटै हुन थाले’, सुवेदी भन्छन्, ‘बैंकको शाखा, प्रहरी चौकी, माध्यामिक विद्यालय भएपछि धेरै नै सम्भावना हुँदोरहेछ।’
चिया पसल र साना होटल खुल्ने, गाईभैंसी पाल्ने, सब्जी खेती गर्ने क्रम पनि बढेको उनले बताए। गाउँमै केही गर्न चाहनेका लागि स्थानीय तहले सहयोग गर्ने नीति लिएको आठराई त्रिवेणी गाउँपालिकाका प्रमुख विश्वनाथ सिटौलाको भनाइ छ।