अस्पताल निर्माणमा विवाद

अस्पताल निर्माणमा विवाद

परासी : अस्पताल निर्माणबारे पश्चिम नवलपरासीको सुनवल नगरपालिका र स्थानीयबीच विवाद उत्पन्न भएको छ। ७ र ८ वडाका स्थानीयले ८ मा अस्पताल निर्माण हुनुपर्ने अडान लिएका छन् भने नगरपालिकाले कार्यपालिकाले निर्णय गरेर तय गरेको स्थानमा अस्पताल निर्माण हुने जनाएको छ। जसकारण स्थानीय र नगरपालिकाबीच विवाद उत्पन्न भएको हो। ८ वडामा रहेको स्वास्थ्य चौकीलाई स्तरोन्नति नगरी ५ मा निर्माण गर्न लागेको भन्दै आन्दोलित दुई वटा वडाका स्थानीले बिहीबार नगरपालिकासमेत घेराउ गरेका छन्।

नगरपालिकाले भने सबै नगरवासीलाई पायक पर्ने स्थानमा अस्पताल निर्माण गर्न लागेको दाबी गरेको छ। नेपाल सरकारले देशका सबै स्थानीय तहमा १५ शड्ढयाको अस्पताल निर्माण गर्ने निर्णय गरेअनुसार नगरपालिकाले सबैलाई पायक पर्ने स्थान ३ र ५ को बीचमा अस्पताल निर्माण प्रक्रिया अघि बढाएको नगर प्रमुख भीमबहादुर थापाले बताए।

नगर कार्यपालिकाको ०७५ असोज १ गतेको बैठकले ३ र ५ वडामा रहेका २ बिघा क्षेत्रफलमा अस्पताल निर्माण गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पत्राचार गरेको र अस्पताल निर्माणका लागि सम्भाव्यता अध्ययनसमेत भइसकेको थापाले बताए। सुनवल नगर क्षेत्रमा तीन वटा स्वास्थ्य चौकी छन्। ती चौकीलाई सुविधा सम्पन्न प्रसूतिगृहका रूपमा अघि बढाउन नगरपालिकाले प्रक्रिया अघि बढाएको नगरप्रमुख थापाले बताए।

स्थानीयले नगरपालिका घेराउ गरेपछि नगरपालिकाका प्रवक्ता कृष्णप्रसाद देवकोटाले बिहीबार विज्ञप्ति जारी गर्दै पटक–पटक बसेको बैठकले ३ र ५ वडामै अस्पताल निर्माण गर्ने निर्णय गरेकाले अनावश्यक विवाद ननिकाल्न आग्रह गरेका छन्। विज्ञप्तिमा सबै प्रक्रिया अघि बढेकाले नगरपालिकाले निर्णय गरेकै स्थानमा अस्पताल निर्माण हुने जनाइएको छ।

उता, ८ नम्बर वडाका अध्यक्ष नीलकण्ठ गैरेले भने सहरी विकास तथा भवन निर्माण आयोजना चितवनले सुनवल क्षेत्रमा रहेको स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी अस्पताल निर्माणका लागि पत्राचार गरेर पठाए पनि नगरपालिकाले अन्यत्र सार्न लागेकाले विरोध गरेको जनाए। ३ र ५ वडामा अस्पताल निर्माण गर्ने बारेको कार्यपालिकाको बैठकमा गैरेको समेत हस्ताक्षर रहेको नगरपालिकाले जनाएको छ। आफैंले हस्ताक्षर गरेर सहमति गरेको निर्णयलाई जनप्रतिनिधिले नै बखेडा झिकेर विवाद निकाल्नु उचित नभएको देवकोटाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.