कोइला विस्थापित गर्दै ब्रिकेट
भद्रपुर : खेर गएका कच्चा पदार्थबाट झापामा नयाँ प्रविधिको प्रयोग गर्दै ऊर्जा उत्पादन थालिएको छ। आदित्य पराजुलीले नेपालमा नयाँ प्रविधि प्रयोग गरेर हालै वार्षिक डेढ करोेड किलो ब्रिकेट उत्पादन गर्ने उद्योग सुरु गरेका हुन्।
१३ करोड रुपैयाँको लागतमा ३ महिनाअघि उनले मेचीनगर नगरपालिका–१५ ज्यामिरगढीस्थित हडिया खोला उत्तरमा ब्रिकेट कारखाना खोलेका हुन्। उखुको खोया, कारखानामा खेर गएका प्लाइका धुलो, चिनी कारखानामा प्रयोग भएर बाँकी रहेका वस्तुलगायत प्रयोग गरी नयाँ प्रविधि प्रयोगमार्पmत उनले ब्रिकेट उत्पादन सुरु गरेका हुन्। भारतको असम र मेघालयबाट कोइला आयात बढ्दो छ। कोइलाको बढ्दो मूल्य र त्यसले वातावरणलाई समेत पार्ने नकारात्मक असर न्यूनीकरण गर्ने उद्देश्यका साथ उद्योग स्थापना गरिएको पराजुली बताउँछन्।
अढाई बिघा क्षेत्रफलमा सञ्चालित उक्त उद्योगबाट उत्पादित ब्रिकेटमा सल्फर नहुनाले प्रदूषण नहुने र चिया उद्योगलाई चाहिने ऊर्जा आपूर्ति गरेका छन्। प्रतिकिलो १५ रुपैयाँमा ब्रिकेट बिक्री हुन्छ। उद्योगले प्रतिघण्टा ५ देखि ६ टनसम्म ब्रिकेट उत्पादन गर्छ। ब्रिकेट उद्योग सञ्चालनमा आएसँगै उक्त कारखानामा प्रत्यक्षरूपमा ३० जनाले रोजगारी पनि पाएको सञ्चालक पराजुलीको भनाइ छ।
ब्रिकेट उद्योगका लागि चाहिने कच्चा पदार्थ हाल नेपालकै वीरगन्ज, महोत्तरी, सिराहा, धनुषालगायत ठाउँका चिनी उद्योगबाट उखुका खोस्टा संकलन गर्ने गरिएको छ। अर्कोतिर काठ मिलमा खेर जाने मसिना काठका टुक्रा पनि प्रयोग गर्न सकिन्छ, जुन जताततै पाउन सकिन्छ।
झापामा हाल २६ चिया उद्योग र दुई दर्जनभन्दा बढी इँटा उद्योग सञ्चालित छन्। चिया र इँटा उत्पादनका लागि कोइला आवश्यक पर्छ। ‘अब उद्योग व्यावसायीले चाहेको खण्डमा कोइलाको विकल्पमा ब्रिकेट उपयोग गर्न सक्छन्’, पराजुलीले भने, ‘उत्पादित ब्रिकेट झापामा मात्र नभई नेपालभरका उद्योगमा पनि आपूर्ति गरिनेछ।’
हाल मुलुकमा ५ लाख किलो चिया उत्पादन गर्ने उद्योगले भारतबाट ४ लाख किलो कोइला किनेर मौज्दात राख्नुपर्छ। एक किलो कोइलाको २५ रुपैयाँ पर्छ। कोइला प्रयोग गर्ने उद्योगले कम्तिमा एकदेखि सवा करोड रुपैयाँ बराबरको मौज्दात राख्नुपर्ने झन्झट थियो। ‘अब यो ब्रिकेट व्यवसाय अघि बढाउन सकियो भने कोइलाभन्दा निकै सस्तोमा ऊर्जा उपलब्ध हुन्छ’, उनी भन्छन्, ‘उद्योगीलाई कोइला स्टोर गर्ने रकमले थप चिया उत्पादनमा लगानी गर्न सक्छन्।’
यहाँका उद्योगीले कोइला खरिद गर्र्न नेपाली रुपैयाँ भारतमा पठाउनु पर्ने र भनेका बेलामा भारतले कोइला नपठाउने र नआउने दीर्घकालीन समस्या छ। उनका अनुसार कोइलामा सल्फरसँगै २० प्रतिशत खरानी निस्कन्छ। ब्रिकेटमा सल्फर हुँदैन भने खरानी २ प्रतिशत मात्र निस्किन्छ। यसले पनि फाइदा गर्छ। ब्रिकेटको खरानीलाई खेतीबारीमा मलको रूपमा पनि प्रयोग गर्न सकिने उनी बताउँछन्। उत्पादित ब्रिकेट कोइलाजस्तै गुणस्तर र भरपर्दो भएको अन्य देशको प्रयोगबाट पनि प्रमाणित भइसकेको पराजुलीले बताए।