राजधानीबारे मुख्यमन्त्रीको 'ब्रिफिङ'
विराटनगर : प्रदेश- १ का मुख्य मन्त्री शेरधन राईले स्थायी राजधानीका विषयमा प्रदेश प्रमुख प्राडा गोविन्दबहादुर तुम्बाहाङलाई 'बिफिङ' गरेका छन्। त्यस क्रममा मुख्य मन्त्री राईले विराटनगरमै प्रदेशको स्थायी राजधानी कामय रहने जानकारी गराएको प्रदेश प्रमुखका प्रेस सल्लाहकार शेखर रेग्मीले बताए। 'प्रदेशको स्थायी राजधानी विराटनगरमा नै तोकिने छ,' राईलाई उद्रित गर्दै रेग्मीले भने, 'सबै पक्षलाई सहमतिमा ल्याउने प्रयास भइरहेको छ।'
यसक्रममा सबै पक्षलाई समेटेर सहमतिमा राजधानी तोक्न प्रदेश प्रमुख तुम्बाहाडले मुख्यमन्त्री राईलाई सुझाव पनि दिए। राईले विराटनगरलाई केन्द्रमा राखेर इटहरी र सुन्दरहरैंचा आसपासका क्षेत्रमा केही संरचना मात्र निर्माण गरिने र संरचना निर्माण गर्दा पछि पनि सहमतिमै गरिने जानकारी प्रदेश प्रमुखलाई गराएका छन्।
नेकपा भित्रका बहुमत सदस्य इटहरीनै राजधानी तोकिनु पर्छ भन्ने मनासयमा रहे पनि आफू विराटनगरलाई नै राजधानी बनाएर लैजाने पक्षमा रहेको मुख्यमन्त्री राईको भनाइ थियो। 'अधिकतम लचकता अपनाउँदै सहमतिको प्रयास गरेरै अघि बढेको छु,' राईले भने, 'सबैलाई मान्य हुनेनै वृहत्तर विराट क्षेत्र रहेकोले यो अवधारणा ल्याइएकाले यसमा नेकपाका सबै सांसदले सहमति जनाइसकेका छन्।'
प्रदेशको तेस्रो अधिवेशन अन्त्य
प्रदेश १ को तेस्रो तथा हिउँदे अधिवेशन सोमबार राति १२ बजेबाट अन्त्य हुने जनाइएको छ। गत माघ २० गतेदेखि सुरु भएको अधिवेशन राति १२ बजेपछि अन्त्य भएको प्रदेश प्रमुख प्राडा तुम्बाहाङले सूचना जारी गरेर जानकारी दिएका छन्।
उनले प्रदेश सभाका सभामुख प्रदीपकुमार भण्डारीलाई सोमबार पत्र लेखेर तेस्रो अधिवेशन अन्त्य भएको जानकारी गराए। 'नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम चालु अधिवेशन अन्तय गरेको छु,' प्रदेश प्रमुखले लेखेको पत्रमा उल्लेख छ।तेस्रो अधिवेशनमा ५ वटा विधेयकको निर्माण र प्रदेश सभा नियमावली २०७४ को संशोधन गरिएको छ।