खाने हैन त दाल भात तरकारी
काठमाडौं : रामहरि (हरिवंश आचार्य) र उर्मिला (निरुता सिंह)को एउटै सपना छ, बिदेसिनु। उनीहरूका छोरा राओ (पुष्प खड्का) र उनकी प्रेमिका पिंकी (आँचल शर्मा)को मोह पनि बिदेसिने नै छ।
अनेक प्रयास गर्दा पनि विदेश जाने मौका नजुरेपछि परिवार नै बाबा (शिशिर बाङ्देल)को शरणमा पुग्छन्। यी बाबाले अहिलेसम्म धेरैलाई विदेश उडाएका छन्।
यही कुरा सुनेर रामहरि र उर्मिला परिवारको राहदानी तयार पार्छन् र बाबाको आश्रममा पुग्छन्। घर धितो राखेर प्रतिव्यक्ति २० लाख रुपैयाँका दरले पैसा पनि बुझाउँछन्। यति गरेपछि उनीहरू बिदेसिन पाउँछन् त ? गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘दाल भात तरकारी’ यही प्रश्नको सेरोफेरोमा घुमेको छ।
फिल्मको कथा हरिवंशले लेखेका हुन्। फिल्मको सुरुआत रामहरि र उर्मिलाको झगडाबाट हुन्छ, जुन दुई घण्टा १० मिनेट लामो फिल्मभरि नै चलिरहन्छ। फिल्मको नाम दाल भात तरकारी भए पनि कथाको मुख्य ‘मोटिभ’ विदेश पलायन हुनु हो। रामहरि महिनाको ४० हजार र उर्मिला ७० हजार रुपैयाँसम्म कमाउँछन्। दाल भातको जोहो गर्न उनीहरूलाई विदेश नै जानुपर्ने कुनै कारण देखिँदैन।
निरुता स्क्रिनमा निकै ‘लाउड’ सुनिन्छिन्। रामहरि भने झगडाको बीउ बनिरहन्छन्। झगडाका कारण पनि सामान्य छन्। पुष्प र आँचल युवा पुस्ताको प्रतिनिधित्व गर्दै फिल्ममा देखिएका छन्। राजाराम पौडेलको अभिनयले दर्शकलाई निकै हसाउँछ। ज्वाइँ र छोरीको झगडामा उनी रेफ्री भएको दृश्य निकै लोभलाग्दो छ। तर उनका लागि फिल्ममा प्रशस्त स्थान छैन।
दोस्रो हाफमा प्रवेश गरेकी ज्यू सन्चै (वर्षा राउत)बाट अन्य कलाकार प्रभावित भएको देखिन्छ। यसले फिल्मको कथा मोड्छ। बाबा बनेका शिशिरको अभिनयमा दम छ। उनले सहज रूपमै दर्शकको ध्यान आफूतिर केन्द्रित गरेका छन्। हरिवंशका छोरा मोहितवंश आचार्य फिल्ममा पुलिसको भूमिकामा जमेका छन्।
सुदन केसीको निर्देशनमा बनेको फिल्मबाट दर्शकले ठूलो सन्देशभन्दा पनि सतही मनोरञ्जन प्राप्त गर्छन्। फिल्मको गीतसंगीत र पार्श्व ध्वनिको संयोजन राम्रो छ। फिल्मको छायांकन पक्षमा पनि खोट लगाउने ठाउँ छैन। प्राविधिक र दृश्य प्रस्तुतिमा फिल्म अब्बल छ।
फिल्ममा घटनाहरू विकसित हुन नसक्दा केही मोनोटोनस भए पनि दर्शकले स्वस्थ मनोरञ्जन लिन्छन्। प्रायः दृश्य एउटै कोठाभित्र सुट गरिएको छ। कथामा ‘सेन्ट्रिक एप्रोच’ हावी हुँदा फिल्मले कताकता नाटक वा स्टेज कार्यक्रमको झल्को दिन्छ।
फिल्मका निर्माता किरण केसीले आफ्नो फिल्मको व्यापारलाई आक्रामक भन्दै दर्शकलाई धन्यवाद दिएका छन्। ‘दर्शक नै हाम्रा भगवान् हुन् जो हामीलाई आशीर्वाद दिन हलमा आउनुभएको छ’, किरणले भने, ‘फिल्मले पाएको प्रतिक्रिया र दर्शकको उपस्थितिले हौसला थपेको छ।’
फिल्मले सिंगल थिएटर र मल्टिप्लेक्समा हाउसफुलका साथ व्यापार गरिरहेको छ। समीक्षागत रूपमा भने फिल्मले मिश्रित प्रतिक्रिया पाइरहेको छ। अमेरिका जाने सपना बुनेको एक परिवारको कथालाई यो फिल्मले हास्य शैलीमा प्रस्तुत गरेको छ।