धनकुटालाई प्रादेशिक राजधानी नबनाएको भन्दै एक घण्टा चक्का जाम
धनकुटा : प्रदेश- १को स्थायी राजधानी विराटनगर तोकिएको विरोधमा धनकुटेली जनताले एक घण्टा चक्का जाम गरेका छन्। धनकुटा प्रादेशिक राजधानी निर्माण अभियान समितिको नेतृत्वमा मंगलबार दिउँसो १२ देखि १ बजेसम्म धनकुटावासीले जिरोप्वाइन्टमा चक्का जाम गरेका हुन्।
धनकुटालाई प्रादेशिक राजधानी नबनाई धनकुटाको अस्तित्व, पहिचान र इतिहास समाप्त गरिएको कारण चक्का जाम गरिएको धनकुटा प्रादेशिक राजधानी निर्माण अभियान समितिका संयोजक सुन्दरबावु श्रेष्ठले बताए। चक्का जामले कोशी राजमार्गको धरान-धनकुटा आवात-जावत गर्ने सयौं सवारी साधन रोकिएको थियो।
आन्दोलनमा उत्रिएका धनकुटावासीले जिरोप्वाइन्ट नाराजुलुस लगाउँदै कोणसभा समेत गरेका थिए। मंगलबार बेलुका ७ बजेदेखि ८ बजेसम्म ब्लाक आउट (बत्ती निभाउने कार्यक्रम) गर्ने समेत जनाइएको छ। त्यस्तै समितिको बैठकले चक्का जाम गर्ने कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेको छ।
बुधबार दिउँसो ३ देखि ४ बजेम्म जिरोप्वाइन्टमा चक्का जाम गर्ने निर्णय गरिएको अभियान्त विजयसन्तोषी राईले बताए। प्रदेशको मध्य भाग तथा भौतिक भौगोलिक कारणले धनकुटा उपयुक्त देखिए पनि अयन्त्र स्थायी राजधानी घोषणा गरिएपछि धनकुटेली जनता रुष्ट बनेका हुन्।