एकताले मधेसको ‘अपमान’

एकताले मधेसको ‘अपमान’

विराटनगर : नयाँ शक्तिसँगको एकताप्रति संघीय फोरमका कार्यकर्ता असन्तुष्ट बनेका छन्। मधेस आन्दोलनको मर्म र भावनालाई लत्याएर पार्टी एकीकरण गरिएको उनीहरूको गुनासो छ। मधेस र फोरम शब्द हटाएको भन्दै उनीहरूले असन्तुष्टि जनाएका छन्।

पार्टी अध्यक्ष उपेन्द्र यादव आन्दोलनको मर्मविपरीत गएको हीरा यादवको गुनासो छ। ‘मधेस र फोरम शब्द हटाएर पार्टीका अध्यक्ष मधेसका एजेन्डा छाड्न उद्यत भएको देखियो’, उनले भने, ‘मधेस आन्दोलनले मधेसी जनअधिकार फोरम जन्माएको थियो। आन्दोलनपछि मधेसी जनता फोरमले परिचित भए पनि एकीकरणका क्रममा फोरम हटाउँदा सबै असन्तुष्ट बनेका छन्।’ फोरम हटाएकाले मधेसका मुद्दा ओझेलमा पर्ने सम्भावना बढेको उनको बुझाइ छ। मधेस र फोरम शब्द छाड्नु सहिदको अपमान भएको उनले बताए।

आन्दोलनको माग पूरा नभएको अवस्थामा पार्टीबाटै मधेस र फोरम शब्द हटाइँदा नेतृत्वले मुद्दा छोडेको भान भएको किशोर मण्डलको भनाइ छ। यो निर्णयले कार्यकर्तामा निराशा छाएको उनले सुनाए। उनका अनुसार स्थानीय नेता÷कार्यकर्ताले अब मधेसी पार्टी नरहेको भन्न थालेका छन्। मधेसका लागि आन्दोलन गरे पनि माग पूरा नभई पार्टीले नाम परिवर्तन गरेर कार्यकर्तालाई धोका दिएको उनको गुनासो छ।

पहिलो मधेस आन्दोलनको केन्द्रबिन्दु विराटनगर थियो। उपेन्द्र पहिलो संविधानसभा निर्वाचनमा निर्वाचित मोरङको निर्वाचन नम्बर ५ का मतदाता बढी आक्रोशित छन्। सीमांकनको आन्दोलन चलिरहेका बेला फोरम प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गएको भन्दै कार्यकर्ताले असन्तुष्टि पोखेका थिए। प्रदेश १ मा प्रतिनिधिसभातर्फ कुनै सिटमा विजय हात पार्न नसक्दा प्रदेशसभातर्फ मोरङ ५ ‘ख’बाट जयराम यादव मात्र निर्वाचित भए।

नयाँ शक्ति र फोरम मिलेर समाजवादी पार्टी नेपाल गठन भएको छ। पार्टीमा २५ सदस्यीय पदाधिकारी चयन गरिएकोमा पनि कार्यकर्ताको आपत्ति छ। एकताप्रति सहिदका परिवार पनि असन्तुष्ट देखिएका छन्। मधेस आन्दोलन गर्ने पार्टी समाप्त भएको उनीहरूको बुझाइ छ। सहिद शिवु माझीकी पत्नी शिखाले पार्टीको नामबाट मधेस र फोरम शब्द हटाइनु दुखद् भएको बताइन्। मधेस आन्दोलनको विरोध गर्ने नेताहरू एकीकरणका नाममा नेतृत्वमा आएको उनको गुनासो छ। ‘परिवारका सदस्य गुमाउँदा हामीलाई कति पीडा भयो ? त्यो कसैले बुझेनन्’, उनले भनिन्, ‘मधेस आन्दोलनमा होमिँदा ऊर्जा प्राप्त भएको थियो। तर, अहिले सबै मुद्दालाई ओझेलमा पार्दै मधेसको विरोध गर्नेलाई नेतृत्व सुम्पिएर हामीजस्ता सहिद परिवारमाथि अन्याय गर्ने काम भयो।’

सहिद निर्मल राजवंशीका पिता राजकुमारले पार्टी एकीकरण गरेर मधेसी जनताको अपमान गर्ने काम भएको गुनासो गरे। नाम परिवर्तन गरेपछि मधेसी समुदायप्रति ठूलो धोका भएको उनको भनाइ छ।

युवा नेता मोहम्मद फैयाजले मधेसको राजनीतिक मागसँगै अन्य उत्पीडनमा परेका समुदायको माग सम्बोधन गराउन पार्टी एकीकरण भएको बताए। मधेसमा उठाइएका मुद्दा भने यथावत रहेको उनको भनाइ छ। फोरमका मोरङका जिल्ला अध्यक्ष राजकुमार यादवले पार्टीको नाममा मधेस र फोरम हटाए पनि एजेन्डा यथावत रहेको बुझाउन अभियान सञ्चालन गरिने बताए। भने, ‘कार्यकर्ता आक्रोशित भएका छन्। यथार्थ बुझेपछि झन् सक्रिय भएर लाग्नेछन्।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.