ओलीको बोलीले हंगामा

ओलीको बोलीले हंगामा

काठमाडौं : ‘आक्रोश, कुण्ठा र निम्छरा अभिव्यक्तिको वास्ता नगरी म वास्तविक प्रश्नको मात्र जबाफ दिन्छु,’ संसद् बैठकमा प्रधानमन्त्री केपी ओलीको यो भनाइ नसकिँदै विपक्षी कांग्रेस सांसदले आपत्ति जनाए । प्रधानमन्त्री ओलीले व्यक्त गरेको ‘निम्छरा’ शब्द असंसदीय भन्दै संसद्को रेकर्डबाट हटाउनुपर्ने माग कांग्रेसले राख्यो । संसद्को मंगलबारको बैठकमा यही ‘निम्छरा’ शब्द दलीय प्रतिष्ठाको विषय बन्यो । एकैछिनमा संसद्को माहोल तात्यो । होहल्लाबीच प्रतिनिधिसभाबाट सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित भयो । त्यस क्रममा न विपक्षी कांग्रेसले ढंग पुर्‍यायो, न त विगतमा नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको नजिर कायम गर्न सत्तापक्ष सफल भयो ।

कांग्रेसले ‘निम्छरा’ शब्द रेकर्डबाट हटाउनुपर्ने माग गरेपछि सांसदका प्रश्नको स्पष्टीकरण दिन रोस्ट्रममा उभिएका प्रधानमन्त्री ओलीले ‘प्रश्न सोध्दा मर्यादा ख्याल’ गर्नुपर्ने जबाफ फर्काएका थिए । प्रधानमन्त्री ओलीको जबाफले कांग्रेसका सांसद थप आक्रोशित बने । आआफ्नो स्थानबाट जर्‍याक्जुरुक उठे । टेबुल ठटाएर होहोहल्ला गरे । सभामुख कृष्णबहादुर महराले कांग्रेसको मागप्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै सांसदहरुलाई बस्न अनुरोध गरे ।

तर कांग्रेसका मिनेन्द्र रिजाल, गगन थापालगायतका सांसदहरुले प्रधानमन्त्रीको बोली सच्चिनुपर्ने माग राखे । उनीहरूले प्रधानमन्त्री ओलीले जनप्रतिनिधिको अपमान गरेको भन्दै सभामुखबाट रुलिङको माग गरे । तर सभामुख महराले प्रधानमन्त्रीलाई बोल्न आफूले समय दिइसकेको भन्दै ‘रुलिङ’ बारे पछि निर्णय गर्ने बताए । कांग्रेस अवरोधबीच सभामुख महराले प्रधानमन्त्री ओलीलाई बोल्न समय दिए । कांग्रेसका सांसद थप आक्रोशित बने ।

होहल्ला नरोकिएपछि प्रधानमन्त्री ओलीले कांग्रेसलाई भने, ‘तपाईंहरूलाई जबाफ चाहिएको छ कि? ’ कांग्रेसका सांसदहरुले संसद् र जनप्रतिनिधिको मर्यादाको उल्लंघनको विषय उठाए । प्रधानमन्त्री ओली फेरि जबाफमा उत्रिए , ‘प्रश्न गर्न पाइन्छ, तर मर्यादित प्रश्न गर्नुपर्छ ।’ कांग्रेसका रिजालले संसद् नियमावली उल्लंघन भएको तर्क गरे । प्रधानमन्त्रीले भने, ‘मैले पनि नियमकानुन पढेको छु ।’ त्यहीबीच सत्तासीन नेकपाका सांसद कृष्णभक्त पोखरेलले कांग्रेस अवरोधप्रति नियमापत्ति जनाए । ‘संसद्को कामकारबाहीमा कसैले पनि अवरोध गर्न नपाइने’ नियमतर्फ पोखरेलले ध्यानाकर्षण गरेपछि सत्तापक्षका सांसदहरुले जोडले टेबुल ठोके ।

होहोल्लाबीच सभामुख महराले पुनः प्रधानमन्त्री ओलीलाई जबाफ दिन समय दिए । प्रधानमन्त्रीले प्रक्रिया पूरा गर्न केही प्रश्नको जबाफ दिए र आफ्नो स्थानमा बसे । कांग्रेसका सांसदले गरेको प्रश्नको वर्षाको जबाफ नै दिएनन् प्रधानमन्त्रीले । सभामुख महराले होहल्लाबीच नीति तथा कार्यक्रम निर्णय प्रक्रियामा लगे । नीति तथा कार्यक्रममाथि राखिएका ६ वटा संशोधन प्रस्ताव बहुमतले अस्वीकृत गर्दै होहल्लाबीच बहुमतले पारित भएको थियो ।

गत वर्ष विपक्षी कांग्रेसको मौन समर्थनमा नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको थियो । प्रधानमन्त्री ओलीले विगतको नजिर कायम गर्न कांग्रेसको ध्यानाकर्षण गराएका थिए । तर प्रधानमन्त्रीलाई प्रतिप्रश्न सोध्ने क्रममा दलहरूबीच बढेको तिक्तताले संसद्मा तनाव भयो । प्रधानमन्त्री ओली कांग्रेसका मीन विश्वकर्मा र गगन थापाको प्रश्नबाट बढी आक्रोशित बनेका थिए । विश्वकर्माले २५ अर्ब बढीका ठेक्का प्रधानमन्त्री आफैंले लगाउने नियम बनाइएको र अब प्रधानमन्त्री आफैंले भ्रष्टाचार गर्न खोजेको हो कि भनी प्रश्न गरेका थिए ।

कांग्रेसका थापाले ‘राष्ट्रपतिज्यूको सरकारको प्रधानमन्त्री’ भन्दै व्यंग्य गरेर प्रश्नको सुरुवात गरेका थिए । वाइडबडीमा मन्त्री निर्दोष रहेको र पार्टी महासचिव विष्णु पौडेल बालुवाटार जग्गा खरिदमा ठगिएको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै थापाले यस्तो कुरा कसरी थाहा भयो भनी प्रधानमन्त्री ओलीसँग प्रश्न गरेका थिए ।

ढंग पुगेन कांग्रेसको

प्रधानमन्त्रीको अभिव्यक्तिबाट विरोधमा उत्रेको कांग्रेसले ढंग नपुर्‍याउँदा उसको विरोध पनि ‘फिक्का’ बन्यो । कांग्रेसका सांसद आसनबाट उठेर विरोधमा उत्रिरहेका बेला निर्णय प्रक्रियामा भने सहभागी बने । सभामुख महराले नीति तथा कार्यक्रममाथिको संशोधन फिर्ता लिने कि नलिने भनेर कांग्रेसका डा. मिनेन्द्र रिजाललाई समय दिए । उनले फिर्ता नलिने जानकारी दिए । सभामुखले कांग्रेसको प्रस्तावलाई निर्णयमा लगे । कांग्रेसले आफ्नो प्रस्तावको पक्षमा मतदान गर्‍यो । त्यतिमात्र होइन, नीति तथा कार्यक्रममाथिको मतदानमा समेत विपक्षमा मत दियो र प्रक्रियामा सहभागितामा जनायो ।

संसदीय प्रणालीमा कुनै पनि सांसद आसनमा नबसी उभिनु भनेको संसद् अवरोधको अवस्था मानिन्छ । आपंmै अवरोधमा उत्रेको कांग्रेसले सबै प्रक्रियामा भाग लियो र अवरोधको गाँठो फुकाएर सभामुखलाई प्रक्रिया अघि बढाउन सहज बनाएको संसद्का जानकार बताउँछन् । रिजालले प्रक्रियामा जाने जनाउ दिएर सहज वातावरण बनाइदिएको भन्दै कांग्रेसकै गगन थापा, प्रकाश स्नेहीलगायतले आक्रोश पोखेका थिए ।

प्रक्रियामा सहभागी बनेपछि कांग्रेस उठिरहेकै बेला नीति तथा कार्यक्रम पारित भयो र कांग्रेस चुपचाप बाहिर निस्क्यो । कांग्रेसभन्दा राजपाले संसदीय प्रक्रियाको कुरा उठाएको थियो । नीति तथा कार्यक्रममाथि संशोधन राखेका राजपाका लक्ष्मणलाल कर्णलाई संशोधन प्रस्ताव फिर्ता लिने कि नलिने भनेर सभामुखले समय दिए । उनले प्रमुख विपक्षी अवरोधमा उत्रिरहेकाले संसद् अवरोधको अवस्थामा आफूले फिर्ता लिने वा नलिने भन्ने विषयमा नबोल्ने र संसदीय प्रक्रियामा भाग नलिने जबाफ दिए । राजपाका अर्का सांसद चन्दा चौधरीले पनि संसद् बैठक अस्तव्यस्त बनेको भन्दै आफूले पनि प्रक्रियामा भाग नलिने बताइन् । तर सभामुख महराले संशोधन प्रस्ताव निर्णयमा लगे । ‘कांग्रेसले पनि प्रक्रियामा भाग नलिने भनेर राजपाको शैली अपनाएको भए संसद् चल्न गाह्रोे हुन्थ्यो,’ सत्तासीन नेकपाका एक सांसदले भने, ‘प्रक्रियामा सहभागी भएपछि कांग्रेसको अवरोधको कुनै अर्थ रहेन ।’

‘जागैमा सपना देखिएको हो’

प्रधानमन्त्री केपी ओलीले नीति तथा कार्यक्रममा देश बनाउने सपना रहेको दाबी गरे । एक वर्षको कार्यक्रममा २५ वर्षसम्मको सपना देखेको भन्दै प्रतिनिधिसभामा कांग्रेसका सांसदले प्रश्न उठाएका थिए । ‘यसमा राति निदाएको बेला देख्ने सपनाको कुरा होइन । जागै रहेर देश बनाउने सपनाको कुरा गरिएको हो,’ प्रधानमन्त्री ओलीले सांसदको प्रश्नको जबाफमा भने । तीन दिनसम्म भएको नीति तथा कार्यक्रममाथिको छलफलमा एक सय २३ जना सांसदले बोलेका थिए ।

नीति तथा कार्यक्रममा परेका ६ वटा संशोधनमा खासै दम नभएको ओलीले बताए । विपक्षी कांग्रेस सभापति शेरबहादुर देउवाले नीति तथा कार्यक्रम खोक्रो भनी अभिव्यक्ति दिएकोमा पनि ओलीले आपत्ति जनाए । ‘सबै कुरा आएको छ पनि भन्नुहुन्छ, अनि केही पनि छैन भन्नुहुन्छ ? ’ ओलीले भने, ‘भन्न खोज्नुभएको के हो ? ’ राष्ट्रपतिले मेरो सरकार भनी वाचन गरेको भन्दै कांग्रेसले गरेको विरोधप्रति पनि प्रधानमन्त्रीले व्यंग्य गरे । ‘खन्यो पहाड, निस्क्यो, मुसो, साथीहरूले के के न पाए जस्तो गरी उधुम मच्चाउनुभयो,’ ओलीले भने, ‘राष्ट्रपति भनेको राज्य व्यवथाको अभिभावक हो । जसको सरकार भए पनि मेरो सरकार भन्ने हो ।’ बेलायती महारानीको शैली भनी कांग्रेस सभापतिले दाँजेकोमा आपत्ति जनाउँदै ओलीले भने, ‘बेलायत हाम्रो मित्रराष्ट्र हो । यसरी दाँज्दा कूटनीतिक मर्यादाको ख्याल गरांै ।’ वाइडबडी, बालुवाटारको जमिन खरिद प्रकरण, सुन काण्ड, खुलामञ्च अतिक्रमण स्ता विषय अघिल्लै सरकारको पालामा भएको ओलीले बताए ।

प्रधानमन्त्री २६ गते भियतनाम

प्रधानमन्त्री ओलीले वैशाख २६ देखि जेठ १ गतेसम्म भियतनाम र कम्बोडिया भ्रमणमा जाँदैछन् । प्रधानमन्त्री ओलीले आफ्नो भ्रमणबारे मंगलबार प्रतिनिधिसभालाई जानकारी गराएका हुन् । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन विस्तारका दृष्टिकोणले आफ्नो भ्रमण महŒवपूर्ण हुने प्रधानमन्त्री ओलीले बताए ।

प्रिबजेट छलफल २७ देखि

सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभामा वैशाख २७ गतेदेखि प्रिबजेट छलफल हुने बताएका छन् । प्रिबजेट छलफलमा बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुन्छ । प्रिबजेट छलफलपछि सरकारले वार्षिक बजेट तयार गर्ने संसदीय मान्यता छ । जेठ १५ गते बजेट प्रस्तुत गर्ने संवैधानिक व्यवस्था छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.